यती ग्रुपभित्र सम्पत्ति विवाद उत्कर्षमा, धोकाधडी र निधनपछि मुद्दा अदालतमा
काठमाडौं । पर्यटकको भारी बोके । लामो समय भान्से बने । हिमाली क्षेत्रलाई व्यवसायको खम्बाका रूपमा उभ्याए । विदेशी पर्यटक ल्याएर विश्वका अग्ला हिमाल चढ्न सिकाए । एयरलाइन्स, ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी र होटल तथा रिसोर्टहरू सञ्चालनमा ल्याए । दर्जनौं कम्पनी खडा गरे । अर्बाैंको साम्राज्य बनाए । नेपाली पर्यटनका पर्याय बने । यो सम्झिँदा धेरैको मानसपटलमा एउटै नाम आउँछ स्वर्गीय आङछिरिङ शेर्पा। वि.सं २०७५ साल फागुन १५ गते हेलिकोप्टर दुर्घटनमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा सदाका लागि अस्ताए । कुनै विदेशी व्यक्ति घुम्नका लागि नेपाली भूमिमा पाइला टेकेदेखि फिर्ता हुँदासम्म कुनै पनि कम्पनीमा आँखा लगाउनु नपर्ने गरी पर्यटन क्षेत्रमा आङछिरिङले ‘इकोसिस्टम’ बनाएका थिए । पर्यटन क्षेत्रसँग सम्बन्धित साना-ठूला सबै सेवा उपलब्ध हुने गरी आङछिरिङले एकल प्रणाली लागु गरेर पूर्वाधार खडा गरेका थिए । आङछिरिङको निधनपछि उनले खडा गरेको अर्बाैंको साम्राज्य ल्हाक्पा सोनाम शेर्पाले सम्हाल्दै आएका छन् । तर, दर्जनौं कम्पनीको अर्बौको पोर्टफोलियो सम्हाल्दै आएका ल्हाक्पा सोनामले आफ्नो परिवारभित्रको विवाद भने सम्हाल्न सकेनन् । परिवारमा विवाद स्वर्गीय आङछिरिङ शेर्पाका ४ दाजुभाई र ७ जना दिदीबहिनी हुन् । जेठो फूर्वा ग्याल्जेन शेर्पा, माइलो ल्हाक्पा सोनाम शेर्पा, साइलो आङ छिरिङ शेर्पा र कान्छो आङ तेण्डी शेर्पा भन्ने आङ टेन्डी शेर्पा हुन् । उनीहरूका बुवा पासाङ नुरु शेर्पा र आमा पेम्वा दिक्की शेर्पा हुन् । बुवा पासाङ नुरुको वि.सं.२०३४ र आमा पेम्वा दिक्कीको वि.सं.२०७० सालमा निधन भयो । साथै, जेठो दाजु फूर्वा ग्याल्जेनको वि.सं. २०३० र कान्छो भाई आङ टेण्डीको वि.सं. २०५५ कार्तिक ७ गते निधन भयो । फूर्वा ग्याल्जेनको अंशहक खाने पत्नी र छोराहरूमध्ये पेलु शेर्पा, पासङ रिङजी शेर्पा, आङछिरिङको अंशहक खाने पत्नी, छोराहरू चन्दा शेर्पा, नावाङ पासाङ शेर्पा र नोर्बु छिरिङ शेर्पा र आङ टेण्डीको अंशहक खाने पत्नी, छोराहरू फुरदिकी शेर्पा, लाक्पा गेलु शेर्पा र दावा जाङवु शेर्पा हुन् । बुवाआमा, जेठोदाई फूर्वा ग्याल्जेन र कान्छोभाई आङ टेण्डीको निधनपछि परिवारको जिम्मेवारी आङछिरिङ शेर्पाले सम्हाल्दै आएका थिए । तर, उनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ल्हाक्पा सोनामले जिम्मेवारी सम्हाले । अर्बौको साम्राज्य खडा गरेको शेर्पा परिवारमा अंशबण्डा भएको छैन । बुवा पासाङ नुरुको निधनपछि घर व्यवहार, खेतीपाती, व्यापार, व्यवसाय चारै दाजुभाईले आपसी सरसल्लाहमा गर्दै आएका थिए । तर, चार दाजुभाईमध्ये तीनजनाको निधनपछि घर मूली माइलो भाई ल्हाक्पा सोनामले सम्हाल्दै आएका हुन् । ‘लाक्पा सोनाम शेर्पाले तीन दाजुभाईको मृत्युपछि परिवारका सबै सदस्यहरूलाई समान रूपमा आर्थिक गर्जो टार्दै राम्रै व्यवहार गरिरहनु भएका थियो । तर, सासुआमा पेम्वा दिक्कीको निधनपछि विस्तारै व्यवहारमा परिवर्तन हुन थाल्यो,’ बुहारी फुरदिकी शेर्पाले भनिन्, ‘अंशभाग माग गर्दा एक/दुई वर्ष पर्ख, परिवार धेरै ठूलो भइसक्यो, चारै भाईको अंशबण्डा गरिदिन्छु भनेर आश्वासन दिनुभयो । तर, ४/५ वर्ष बित्दासमेत अंशबण्डा गर्न ईन्कार गर्नुभयो ।’ फुरदिकी शेर्पा आङ टेन्डी शेर्पाकी श्रीमती हुन् । उनै फुरदिकी शेर्पा, छोरा दावा जाङवु शेर्पाले काठमाण्डौ जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका छन् । उनीहरूले ल्हाक्पा सोनाम शेर्पा, पेलु शेर्पा, पासाङ रिङजी शेर्पा, चन्दा शेर्पा, नावाङ पासाङ शेर्पा, नोर्बु छिरिङ शेर्पा विरुद्ध मुद्दा दायर गरेका हुन् । आफ्नो सम्पत्ति थाहा छैन मुद्दा दायर गर्ने वादी फुरदिकी शेर्पाले आफ्नो सम्पत्ति कहाँ, कति, कस्को नाममा रहेको छ भनेर जानकारी नभएको बताएकी छन् । तर, चारै जना दाजुभाईले पैतृक सम्पत्ति तथा सो सम्पत्तिबाट विभिन्न जिल्लामा कम्पनी खडा गरेको र ती कम्पनीको नाममा घरजग्गाहरू समेत रहेको उनको दाबी छ । उनका अनुसार सोलुखुम्बु र काठमाण्डौं लगायत विभिन्न जिल्लामा चल-अचल सम्पत्ति छ । फिराद पत्रमा यती एयरलाइन्स प्रालिको काठमाडौंको सिनामंगल, बानेश्वर-१०, नेपलगञ्ज र ललितपुर, माउण्टेन रिसोर्ट अफ नेपालको लुक्ला, नाम्चेबजार, फकडिङ, थामे, मुस्ताङ, माझगाँउ, विरेथानी, मनजो, घन्द्रुक, धामपुस आदी स्थानमा आफ्नै घरजग्गामा कार्यालय सञ्चालनमा रहेको उल्लेख छ । काठमाडौंको बसुन्धारामा थामसेर्कु ट्रेकिङ प्रालि र लैनचौर उत्तरढोका तथा दरवार महलमा थमसर्कु डेभलपर्स कम्पनी सञ्चालनमा रहेको छ । वादी फुरदुकीका अनुसार यति एडभान्चर प्रालिको वालुवाटर र तारा एयर प्रालिको सिनामंगलमा आफ्नै घरजग्गामा कार्यालय सञ्चालनमा छन् । तर, कस्को नाममा कति सेयर छ भन्ने बारे आफूहरूलाई जानकारी नभएको उनले बताएकी छन् । ‘पिताको देहान्तपछि तिमीहरुको नाममा पनि सेयर खरिद गर्ने र नामसारी गरी दिने भनी बेलाबेलामा कागजमा सही छाप गराउनुभयो । तर, हाम्रो नाममा सेयर भए पनि के कति छ केही जानकारी छैन,’ वादी फुरदुकी शेर्पाले भनेकी छिन्, ‘मूल अंशियार तथा मुल अंशियारका पत्नी, छोराछोरीको नाममा उल्लेखित कम्पनीहरू बाहेक अरू पनि धेरै कम्पनीमा सेयर छ, पछि फेला पारेको बखत पेश गर्ने नै छौं ।’ साथै कम्पनीहरूको दर्ता प्रमाणपत्र, सेयर लगत लगायतको प्रमाण कागज विपक्षीहरुसँग भएको र आफूहरूसँग नभएकाले कम्पनी रजिष्ट्रारको कार्यालयबाट उपलब्ध गराइपाउँ भनेर माग गरेकी छन् । बादीहरूले मुलुकी देवानी संहिता, २०७४ को दफा २०५, २०६, २०९, २११ बमोजिम आफ्नो अंशहक छुट्याईं पाउँ भन्दै अदालतमा फिरादपत्र दर्ता गरेका हुन् ।
कर छल्न कम्पनीको कारोबार व्यक्तिगत खाताबाट हुन थालेपछि सरकारले फेर्यो नीति, अब यस्तो नियम
काठमाडौं । कर छल्नका लागि व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्ने अभ्यास बढेपछि सरकारले नीतिगत हेरफेर गरेको छ । सरकारले अब कर छलि रोक्नका लागि व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियम बनाएको हो । अर्थमन्त्री वर्षमान पुनले आयकर ऐन २०५८ मा दफा ८१ पछि ८१ ‘क’ थप्दै कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेकमा थिए । सोही व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आन्तरिक राजस्व विभागले पनि सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्यतुीय माध्यमबाट प्राप्त हनुे कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन,’ विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘यो नीतिको उल्लंघन गरेमा प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैया वा कुल रकमको दुई प्रतिशत मध्ये जुन बढी हुन्छ सोही रकम शुल्क लाग्नेछ ।’ विभिन्न व्यक्तिले कम्पनी तथा अन्य व्यवसायिक कारोबार व्यक्तिगत खातामार्फत् गर्ने अभ्यास बढेपछि सरकारले यस्तो नियम बनाएको बुझिको छ । यसअघि नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले व्यावसायिक कारोबार व्यक्तिको खातामार्फत् हने अभ्यास बढेको देखाएको थियो । गत माघमा राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले गरेको एक अध्ययनले व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् भएको प्रतिवेदन सार्वजनिक गरेको गरेको थियो । सन् २०२० देखि सन् २०२२ सम्म राष्ट्र बैंकले गरेको अध्ययनले राष्ट्र बैंकसमक्ष प्राप्त भएका कारोबारमध्ये ३७ प्रतिशत व्यवसायले कर छल्ने नियतका साथ व्यक्तिगत बैंक खाता प्रयोग गर्ने पाइएको थियो भने ६५ वटा मुद्दामा बैंक खातामा शंकास्पद लेनदेन भएको देखिएको थियो । व्यापार व्यवसायका लागि व्यक्तिगत खाता प्रयोग गर्ने अभ्यास बढेकोले त्यसलाई रोक्नु पर्ने राय फाइनान्सियल इन्टेलिजेन्स युनिटको थियो । यस्तो प्रवृति घरजग्गा कारोबारमा बढी देखिने गरेको छ । व्यवसायीले कर छल्नका लागि आफन्त र साथीभाईको नाममा पनि कारोबार गर्ने गरेको अध्ययनबाट खुलेको थियो ।
सेबोन अध्यक्ष प्रकरण : महान्यायाधिवक्ता कार्यालयले दियो दुई सुझाव, पहिलो सुझाव कार्यान्वयन गर्ने तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा माग गरेको रायमा महान्यायाधिवक्ता कार्यालयले जवाफ दिएको छ । कार्यालयले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउनका लागि अध्यक्ष छनोट समितिलाई सम्पूर्ण अधिकार दिएको छ । तर, कानुनी प्रक्रिया भने अवलम्बन गर्न आग्रह गरेको छ । महान्यायाधिवक्ता कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भएकाेले कम्तिमा ३ जनाको नाम सिफारिस गर्न सक्ने सुझाव दिएको अर्थमन्त्रालय स्रोतले बताएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न सकिने सुझाव दिएको हाे । ‘महान्यायाधिवक्ता कार्यालयबाट तीन जनाको नाम सिफारिस गर्नु पर्ने राय आएको छ, तीन जनाको नाम सिफारिस गर्नु परेमा दुई जना अन्तर्वार्ता दिएका र अन्य एक जनालाई योग्यताको आधारमा सिफारिस गर्न सकिन्छ, यो प्रक्रिया रद्द गरेर नयाँ प्रक्रियामा पनि जान सकिने राय महान्यायधिवक्ता कार्यालयले दिएको छ,’ मन्त्रालय स्रोतले भन्यो । बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाका क्रममा सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाले अन्तर्वार्ता तथा कार्यप्रस्तुति नै दिएनन् । २ जनाले मात्रै अन्तर्वार्ता तथा कार्यप्रस्तुति गरेपछि नियुक्ति प्रक्रिया अवरुद्ध भएको थियो । गत बिहीबार अर्थ मन्त्रालयमार्फत महान्याधिवक्ताको कार्यालयलाई पत्र पठाइएकोमा उक्त पत्रको जवाफ कार्यालयले मन्त्रालयमा पठाएको हो । अध्यक्षका लागि सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले मात्रै अन्तर्वार्ता दिएका थिए । बाँकी ३ जना डा नवराज अधिकारी, चिरन्जीवी चापागाई र कृष्ण कार्कीले अन्तर्वार्ता तथा प्रस्तुति नदिएपछि प्रक्रिया लम्बिएको हो । स्रोतका अनुसार अध्यक्ष नियुक्ति प्रक्रियालाई नलम्ब्याउनका लागि अहिले अन्तर्वार्ता दिएका दुई जना र अन्तर्वार्ता नदिएका तीन जना मध्येबाट एक जनालाई उत्कृष्टतताको आधारमा छनोट गरेर तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने तयारी भइरहेको छ ।