अध्यक्षको घरबाट सीईओ पदमुक्त, प्राधिकरण पुगे विजय
काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थासँगै बीमा कम्पनी पनि असारे चटारोमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ सकिन करिब दुई साता बाँकी रहँदा वित्तीय संस्थाका कर्मचारी तथा व्यवस्थापन तहका कर्मचारीहरूलाई भ्याइनभ्याई छ । कम्पनीको व्यवस्थापकीय प्रमुखलाई एकातर्फ वार्षिक हिसाब किताब मिलाउन दबाब छ भने अर्कोतर्फ आगामी आर्थिक वर्षको वार्षिक योजना निर्माण गर्न तनाब छ । यो रस्साकस्सी र प्रतिस्पर्धा विभिन्न कम्पनीका व्यवस्थापकीय नेतृत्वमा छ । तर, यो असारे चटारोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाहलाई पदमुक्त गरेर आफ्नो साहसीपन देखाएको छ । सीईओ शाहको कार्यकाल बाँकी रहँदै कम्पनीको सञ्चालक समितिले उनलाई पदमुक्त गरेको हो । असारे चटारो र कार्यकाल बाँकी रहँदै सीईओ शाहलाई पदमुक्त गरेपछि बीमा बजार, सञ्चार माध्यम र सरोकारवालाहरुले पनि यो विषयलाई गम्भीरताका साथ चासो दिएका छन् । बीमासँग सम्बन्धित एउटा कार्यक्रममा सहभागी हुन सीईओ शाह केही दिनअघि अमेरिका पुगेका थिए । सञ्चालक समितिले निर्णय गरेर बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले समेत उनलाई अमेरिका जान अनुमति दिएको थियो । यो अवधिसम्म सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ र अन्य सञ्चालकसँग सीईओ शाहको सम्बन्ध राम्रै थियो । तर, सीईओ शाह अमेरिका पुगेपछि माहोल परिवर्तन भयो । कम्पनी स्रोतका अनुसार अध्यक्ष श्रेष्ठसामू केही कर्मचारी र सञ्चालक समितिकै सदस्यले सीईओ शाहमाथि गम्भीर आरोप लगाएका छन् । सो कुरा सुनेपछि अध्यक्ष श्रेष्ठले तत्काल आफ्नै घरमा सञ्चालक समितिको बैठक बोलाएर उनलाई सीईओबाट पदमुक्त गर्ने निर्णय गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यक्ष श्रेष्ठ र सीईओ शाह साथीजस्तै थिए । उनीहरू उमेरले पनि एउटै समूहका हुन् । बीमासँग सम्बन्धित कुनै ठूलो निर्णय वा डिल गर्नु पर्यो भने सीईओ शाह अध्यक्षको घरमै पुग्ने गरेका थिए । तर, एकाएक फेरिएको माहोलले हिमालयन एभरेष्ट बीमा कम्पनीका कर्मचारीमा पनि तरङ्ग मच्चिएको छ । अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ । ‘अध्यक्ष र सीईओबीच राम्रो सम्बन्ध थियो, धेरै विषयमा सरसल्लाह गर्न घरमै बोलाउनुहुन्थ्यो, ठूल्ठूला डिल गर्न सीईओ शाह कहिले घरमा जानुहुन्थ्यो भने कहिले अध्यक्षज्यू नै कार्यालयमा आउनु हुन्थ्यो,’ कम्पनी स्रोतले भन्यो, ‘तर, सीईओ अमेरिका हुँदा उहाँका बारेमा नकारात्मक कुराहरू अध्यक्षलाई सुनाएपछि अचानक अध्यक्षज्यूले सञ्चालक समिति बैठक आफ्नै घरमा बोलाएर पदमुक्त गर्ने निर्णय गर्नुभएछ ।’ नेपाल बीमा प्राधिकरणमा परेको उजुरीका आधारमा सीईओ शाहलाई हटाइएको जवाफ सञ्चालक समितिले दिने गरेको कम्पनी स्रोतको भनाइ छ । ‘यो समय धेरै काम हुने हो, किन यस्तो भयो भन्ने प्रश्नमा प्राधिकरणमा उजुरी धेरै परेपछि सीईओलाई हटाइएको भन्ने घुमाउरो उत्तर दिइएको छ । तर, ठूलो स्क्याण्डल उजुरी प्राधिकरणमा परेको छैन,’ स्रोतले भन्यो, ‘दैनिक काम गर्दा चित्त नबुझेपछि कम्पनीका विरूद्द उजुरी परेका छन्, प्राधिकरणले सामान्य रूपमा मौखिक निर्देशन दिएर गल्ति नदोहोर्याउनु भनिरहेको हुन्छ, जबकी अन्य कम्पनीका सीईओलाई प्राधिकरणले पत्र नै काट्ने गरेको छ ।’ प्राधिकरण पुगे शाह सीईओ शाह पदमुक्त भएपछि नियामक नेपाल बीमा प्राधिकणमा पुगेका छन् । प्राधिकरण स्रोतका अनुसार सीईओ शाहले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलावल र कर्मचारीहरूलाई भेटेर आफूलाई सञ्चालक समितिले गैरकानुनी रूपमा पदमुक्त गरेको भन्दै मौखिक जानकारी गराएका छन् । बीमा ऐन २०७९ को दफा ५७ को उपदफा ३ मा सञ्चालक समितिले सीईओको कार्यसम्पदान सन्तोषजनक नभएमा जुनसुकै बखत पदबाट हटाउन सक्ने व्यवस्था छ । तर, पदबाट हटाउनुअघि सफाइ पेस गर्ने मौका दिनुपर्ने प्रावधान छ । कम्पनी सञ्चालक समितिले सीईओ शाहको कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटाइएको बताएको छ । तर, सञ्चालक समितिले सफाइको मौका नदिई आफूलाई पदबाट अचानक हटाइएको गुनासो सीईओ शाहले प्राधिकरण समक्ष गरेका छन् । सीईओ विजय बहादुर शाह । ‘कुनै पनि सफाइको मौका दिइएको छैन, एकाएक हातमा चिठ्ठी थमाएर पदमुक्त गरियो, लिखित रूपमा निवेदन नदिएपनि मौखिक जानकारी गराउनु भएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘सञ्चालक समितिले सीईओलाई गरेको नियुक्तिलाई प्राधिकरणले अनुमोदन गर्छ, सीईओलाई बीमा ऐनले चिन्छ, हटाउनुअघि सफाइको मौका दिनुपर्ने भएपनि उहाँले आफूलाई मौका नदिएको गुनासो गर्नु भएको छ ।’ सीईओ शाहले कानुनी लडाईं लड्ने र प्राधिकरणमा पनि लिखित निवेदन दिने विषय अध्यक्ष सिलवाल समक्ष राखेका छन् । स्रोतका अनुसार हालसम्म सीईओ शाह विरुद्ध प्राधिकरणमा उजुरी परेको छैन । दैनिक काम गर्दा त्रुटी भएपछि कम्पनीका विरुद्ध उजुरी पर्नु स्वाभाविक रहेको प्राधिकरण स्रोतको भनाइ छ । ‘सीईओ शाहले निवेदन दिनुभयो भने प्राधिकरणले सञ्चालक समितिलाई के कति कारणले पदमुक्त गरेको हो भनेर जवाफ माग्छ, जवाफका आधारमा हामीले निर्णय लिन्छौं,’ प्राधिकरण स्रोतले भन्यो, ‘कार्यसम्पादनप्रति असन्तुष्टि रहेको खण्डमा निकाल्न पाइने भनिए पनि सो व्यक्तिलाई सफाइको अवसर दिनुपर्छ, जे मनमा लाग्यो त्यही गरेर निकाल्न पाइँदैन भनेर ऐनले नै भनेको छ ।’
खस्कियो एसईईको नतिजा, पासभन्दा फेल बढी
काठमाडौं । यस पटक राष्ट्रिय परीक्षा बाेर्डले एसईईका विद्यार्थी पास फेल भएको प्रष्ट पारेको छ । लेटर ग्रेडिङ लागु भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पास फेल उल्लेख भएको सावर्जिनक गरेको हो । बाेर्डले २०८० सालको एसईई परिक्षा सार्वजनिक गर्दै विद्यार्थी फेल र पास भएको प्रष्ट जानकारी गराएको हो । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । याे भनेकाे २ लाख २२ हजार ४७२ जना हो । नियमिततर्फ २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । उत्तीर्ण भएकामध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२. १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनु पर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ । विगतको तुलनामा एसईईको नतिजा यस पटक नतिजा खस्किएको छ । २०७२ सालयता विद्यार्थी ग्रेडअनुसारको विषय पढ्न पाउने व्यवस्था थियो । कति ल्याए जीपीए ? राष्ट्रिय परीक्षा बोर्डका अनुसार ६ जनाले २ जीपीएसम्म ल्याएका छन् । २ हजार ९५० विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् । यस्तै, ४१ हजार १७७ जना विद्यार्थीले २.४० देखि ३.८० जीपीए ल्याएका छन् । यस्तै, ७८ हजार ८७४ जना विद्यार्थीले २.८० देखि ३.२० जीपीए ल्याएका छन् भने ६८ हजार २५६ जना विद्यार्थीले ३.२० देखि ३.६० प्रतिशत जीपीए ल्याएका छन् । बोर्डका अनुसार ३१ हजार २०९ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन् । १ लाख १५ हजारले परीक्षा दिन पाउने ननग्रेड ल्याउने मध्ये दुई विषयमा अनुतिर्ण भएर अबको एक महिनाभित्र सञ्चालन हुने परिक्षा सहभागी हुन पाउने छन् । त्यसमा १ लाख १५ हजार ८ सय ३४ छ ६७ हजार ७ सय ९३ विद्यार्थी एक विषयमा अनुतिर्ण भएका छन् भने ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुर्तीण भएका छन् । उनीहरूले एक महिनापछि अथवा साउन १८ र १९ गते हुने मौका परिक्षा दिन पाउने छन् । अन्य समूहका ४ जना पास एसईईमा महिला र पुरुषबाहेक अन्य समूहका १२ जना सहभागी भएकोमा ४ जना मात्र उत्तीर्ण भएका छन् भने ८ जना फेल भएका छन् । बोर्डका अनुसार जीपीए २.४० देखि २.८०, जीपीए २.८० देखि ३.२०, जीपीए ३.२० देखि ३.६० र जीपीए ३.६० देखि ४.०० ल्याएर १–१ जना गरी ४ जना उत्तीर्ण भएका हुन् । २ सय २० जनाको परिक्षा रद्द २०८० सालमा एसईई दिएका २ सय २० जनाको परिक्षा रद्द भएको छ । बाेर्डका अनुसार भोजपुर १, सप्तरी १सय ५४, सर्लाही ६, धनुषा ४, खोटाङ ३, महोत्तरी ३९,रौतहट, दैलेख १, १, बारा, बझाङ, इलाम, काभ्रे २,२ र जाजरकोटमा ३ जनाको गरी विभिन्न १३ जिल्लाका २ सय २० जनाको परिक्षा रद्द भएको छ । कुन विषयमा कति एनजी ? बाेर्डका अनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा नन ग्रेड अर्थात् एनजी आएको छ । बाेर्डका अनुसार गणितमा एक लाख ७७ हजार नौ सय ८५ जना, विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ जना, अंग्रेजीमा एक लाख एक हजार तीन सय ८३ जना र सामाजिकमा ७३ हजार आठ सय ७७ जना विद्यार्थीकाे नन ग्रेड अर्थात एनजी देखिएकाे छ । यस्तै, नेपालीमा ६९ हजार पाँच सय ३२ जना, अर्थशास्त्रमा ६९ हजार चार सय १६, ऐच्छिक गणितमा २० हजार तीन सय ५२काे एनजी देखिएकाे छ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिना पछि हुने पूरक परीक्षामा सामेल हुन पाउने छन् । पुरक परीक्षा साउन १८ र १९ गतेलाई तोकिएको छ । प्रदेशगत नतिजा बाेर्डका अनुसार कर्णाली प्रदेशमा कुल ३५ हजार ३४ विद्यार्थी सहभागी भएकाेमहा २० हजार ३ सय ८० जना विद्यार्थी अनुतीर्ण भएका छन् ।सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ६ सय ४ सय ४६ जना विद्यार्थी सहभागी भएकाेमा ३६ हजार ४ सय १० जना अनुतीर्ण र गण्डकी प्रदेशबाट ४० हजार ५२६ जना सहभागी भएकाेमा २० हजार २७५ जना अनुतीर्ण भएका छन् । यस्तै, लुम्बिनीबाट ८० हजार ३२७ सहभागी भएकाेमा ४९ हजार २२४ जना फेल भएका छन् भने मधेश ७९ हजार ५९२ जना सहभागी भएकाेमा ४२ हजार २८६ जन विद्यार्थी फेल भएका छन् । बागमतीबाट ९९ हजार ८७२ सहभागी भएकाेमा ३३ हजार ८४२ फेल र कोशीबाट ७५ हजार ९८८ जना सहभागी भएकाेमा ३९ हजार ८९५ जना फेल भएका छन् । चित्त नबुझे निवेदन दिन मिल्ने बिहीबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा चित्त नबुझे निवेदन दिन सकिनेछ । यसका लागि नतिजा प्रकाशन भएको दिनदेखि १५ दिन भित्र निवदेन दिइसक्नुपर्ने छ । नतिजा नखुलेमा,नम्बर नदेखाएमा , अनुपस्थित देखिएमा पनि निवेदन दिन सकिने बोर्डले जनाएको छ । यसका लागि विद्यार्थीले अनलाईनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था रहेको जनाइएको छ ।
१ लाख लगानीबाट सुरु भएको वेदिकाको एडुकेश, विदेशमा पनि पुर्याउने योजना
काठमाडौं । केही गर्न त मन थियो । तर, पैसा छैन, कसरी गर्नु ? हामी कुनै व्यापार व्यवसाय गर्ने सोच बनाउँदा पहिले पैसाको खोजी गर्छौं। तर, व्यवसाय गरिरहेकाहरू भने थौरै लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिने बताउँछन् । व्यवसायका लागि सबैभन्दा पहिले इच्छा र उपाय चाहिन्छ । इच्छा शक्ति र उपाय भएपछि सानै लगानीले पनि काम गर्न सकिने उनीहरूको अनुभवले बताउँछ । उनलाई सानैदेखि फरक व्यवसाय गर्न मन थियो । आमाबुवा पनि व्यावसायी नै । उनलाई परिवारमा बाआमाले गरेको भन्दा र अन्यको भन्दा फरक व्यवसाय गर्न मन थियो । उनलाई सबैभन्दा मन पर्ने क्षेत्र शिक्षा थियो । शिक्षा क्षेत्रमै केही गर्ने हुटहुटी थियो उनीमा । उनी अर्थात ‘इडुकेश’ की संस्थापक वेदिका मुरारका । उनले नेपालको ग्रामिण क्षेत्रमा रहेका विद्यार्थीलाई लक्षित गरी ‘इडुकेश झोला’ बनाउने काम सुरु गरेको करिब तीन वर्ष भयो । विदेशमा पढेर नेपालमा शिक्षा क्षेत्रमा फरक व्यवसाय गरिरहेकी उनी अहिले काठमाडौंमा बसेर विद्यार्थीलाई किताब बोक्न पनि मिल्ने र टेबल पनि बनाउन मिल्ने झोलाको व्यवसाय गरिरहेकी छन् । करिब ३ वर्षको अवधिमा डोल्पा र हुम्लासहित तराईका विभिन्न स्कुलका विद्यार्थी अहिले त्यही झोला प्रयोगमा ल्याइरहेका छन् । अहिलेसम्म करिब ४ हजार ८ सय झोला विद्यार्थीले प्रयोग गरिसकेका छन् । किताब बोक्न पनि मिल्ने, फोल्ड गरेर डेस्क÷टेबल पनि बनाउन मिल्ने ‘एडुकेश’ बनाइरहेकी वेदिकालाई भेट्दा हामीले झोला र व्यवासायबारे जिज्ञासा राख्यौँ ‘एडुकेश’ केहो ? उनले भनिन् ‘एउटा नर्मल झोला (ब्याग) हो । तर, यसमा केही नवीकरण (इनोभेसन) छ ।’ उनी सरकारी विद्यालयमा पढ्ने ग्रामिण क्षेत्रका विद्यार्थीलाई केद्रीत गरि यो व्यवसाय सुरु गरेको बताउँछिन् । घरमा पनि टेबुल जस्तै बनाएर पढ्न मिल्ने र स्कुलमा पनि डेस्क बेन्चको काम गर्न सकिने यो झोला विद्यार्थीका लागि सजिलो र टिकाउ हुने उनको भनाइ छ । ‘धेरै जसो गाउँको स्कुल र तराईका स्कुलमा अझै राम्रो डेस्क बेन्चको सुविधा छैन । भएका ठाउँमा पनि विद्यार्थीको साइज अनुसार हुँदैन,’ उनी भन्छिन्, ‘विद्यार्थीलाई कसरी बच्चामैत्री बनाउने भन्दा झोलाबाट गर्दा उत्तम हुन्छ भन्ने लागेर मैले यो व्यवसाय सुरु गरेँकी हुँ ।’ अहिले धेरै नेपाली युवाहरू देश छोडेर परदेश गइरहेका छन् । नेपालमै भएकाहरू पनि सरकारी जागिरको पछाडि लागेका छन् । नेपाली युवा विदेश गइरहेको बेला विदेशबाट नेपाल फर्केर व्यवसाय गरिरहेकी तपार्इंलाई व्यवसायमा लाग्न केले अभिपे्रत ग¥यो भन्ने प्रश्नमा उनी जवाफ दिन्छिन्, ‘म आफ्नो व्यक्तिगत अनुभवबाट यो क्षेत्रमा लागेकी हुँ । आफ्नै कम्पनी दर्ता गरेर काम गर्दा सेल्फ फ्रिडम हुन्छ । केही नयाँ काम गर्न मन लाग्यो भने गर्न मिल्छ । तर, कर्मचारी भएर जागिर गर्दा मन लागेको कुरा पनि मनमै राखेर बस्नुपर्छ त्यसैले पनि मैले व्यवसाय रोजेँ ।’ कसरी सुरु भयो ‘एडुकेश’ ? एडुकेश वेदिका र उनकी साथी नेहा अहमदले ल्याएको आइडिया हो । उनीहरू दुवै जना क्लासमेट हुन् । नेहा पाकिस्तानकी हुन् । उनीहरू दुवैजना लन्डन स्कुल अफ इकोनोमिक्स कलेजमा सोसिअल इनोभेसन एन्ड आन्ट्रपेनरसिपमा स्नातकोत्तर गर्दै थिए । कक्षामा प्रोजेक्टको काम गर्नुपर्यो जसमा बिजनेस आइडिया दिनुपथ्र्यो । त्यहीबेला उनीहरूले यो आइडिया प्रस्तुत गरे । उनीहरूको यो आइडिया शिक्षक र अन्य विद्यार्थीलाई पनि मन प¥यो । राम्रो आइडिया ल्याएको भन्दै उनीहरूले १ हजार पाउण्ड पुरष्कार पनि पाए । त्यसपछि उनलाई लाग्यो अब यही कामलाई व्यवसायमा परिणत गर्नुपर्छ । उनकी साथीले पनि यसमा सहमति जनाइन् । त्यसपछि वेदिका नेपाल आइन् । उनले नेपालको बजार र यहाँको व्यवसायका विषयमा बुझ्न थालिन् । करिब २÷३ वर्षको तयारी पछि २०२१ मा अन्ततः आयो ‘एडुकेश झोला’ । नेपालको बजार र व्यवसायका विषयमा बुझेपछि वेदिकाले शिक्षा क्षेत्रमा काम गर्न ईच्छा भएका र गरिरहेका एनजिओ, आइएनजिओलाई भेटिन् । आफ्नो आइडिया ‘सेयर’ गरिन् । यति गर्दैगर्दा बिचमा कोरोना महामारी फैलियो । कोरोनाका कारण भएको लकडानले उनलाई पनि असर ग¥यो । उनलाई व्यवसाय गर्न कम्पनी दर्ता गर्न, झोला बनाउने फ्याक्ट्री खोज्नु थियो । यतिमात्र होइन् उनकासामु बजार विश्वासको पनि चुनौती थियो । शिक्षा क्षेत्रमा फरक त्यो पनि दुर्गम क्षेत्रका विद्यार्थीका लागि झोला बनाउन डिजाइन त पहिले नै तय थियो । तर, त्यसमा थप नयाँ कसरी गर्न सकिन्छ भन्ने चिन्ता थियो । सुरुमा डिजाइन गरेको झोला फेरी उनीहरूलाई नै मन परेन ११ औँ पटक बनाएको डिजाइनन राम्रो भयो । त्यहीबेला धेरै झोला बजारमा गयो । अहिले फेरि १२ औँ पटक झोलाको डिजाइनमा नयाँ के थप्न सकिन्छ भन्नेमा उनको ध्यान छ । एक लाख लगानीबाट सुरुवात कुनै पनि व्यवसाय सुरु गर्न पैसा चाहिँन्छ । घरभित्रैबाट व्यावसायिक यात्रा गर्दा पनि पैसा चाहिन्छ । वेदिका र नेहासँग धेरै पैसा थिएन । उनीहरूले कलेजमा राम्रो आइडिया सेयर गरेवापत पाएको एक लाख ३० हजार रुपैयाँ थियो । त्यही पैसाले व्यवसाय सुरु गरे । ‘हातमा धेरै पैसा थिएन, हामी केही नयाँ गर्छौं भनेर कलेजमा भनेको थिएँ, घरमा पनि यही पैसाबाट काम थाल्छु भनेको थिएँ’ उनी भन्छिन्, ‘यही पैसाले गर्न सक्छु भनेर विश्वास दिलाउनु थियो, त्यसैले पनि हार मानिन ।’ उनलाई सुरुवातमै ५/६ हजार झोला बनाएर बजारमा लग्नु थियो । नाफा भन्दा पहिले कसरी आफुले गरेको कामको विश्वास दिलाउन सक्छु भन्ने चुनौती थियो । बजारमा नआएको, कसैले प्रयोगमा नल्याएको बिलकुल नयाँ झोला बनाउनु थियो । झोला बनाउने फ्याक्ट्री र बजारमा ग्राहकको मन जित्नु थियो । वेदिकाले सबैभन्दा पहिले काभ्रेका दुइटा स्कुल छनोट गरिन् । त्यहाँ परीक्षण गरिसकेपछि उनी शिक्षा क्षेत्रमा काम गरिरहेका संस्थासँग कुरा गरिन् । उनले आफ्नो कामको बारेमा बताइन् । केही सामान उत्पादन गर्नुछ भने सबैभन्दा पहिले फ्याक्ट्री खोज्नुपर्छ । यसका लागि मेसिन, र मेट्रियल सामान, मान्छे धेरै लगानी चाहिन्छ । तरल त्यति लगानी थिएन । वेदिकाले फ्याक्ट्रीलाई पार्टनरसिपमा काम गर्न अनुरोध गरिन् । उनले आफ्नो डिजाइन दिइन् । फ्याक्ट्री पनि तयार भयो । फ्याक्ट्री खोज्न नै धेरै समय लागेको अनुभव उनले सुनाइन् । कच्चा पदार्थ आयात यो झोला नेपालमा बन्छ । तर, ययका लागि चाहिने आवश्यक सामाग्री (कच्चा पदार्थ) नेपालमा छैन । झोला बनाउन प्रयोग हुने फ्याब्रिक बाहिरबाट ल्याउनुपर्छ । केही बकल नेपालमै पाइए पनि आफुलाई चाहिने बलियो खालको मेट्रियल फ्याब्रिक र बकल चीन र भारतबाट ल्याउनु परेको उनको भनाइ छ । झोला भित्र कागजको कुट राखिन्छ । भित्रको हार्ड मेट्रियल कार्डबोर्ड हो । यो नेपालमा नै म्यानुफ्याक्चर हुन्छ । यो झोला बनाउन चाहिने सबैभन्दा महत्वपूर्ण भनेको फ्याब्रिक हो । कार्डबोर्ड पनि चाहिन्छ । अरु सबै वस्तु नेपालमै पाइन्छ । यो झोलामा प्लाष्टिक प्रयोग गरिँदैन । कुट प्रयोग गरिन्छ । दुई हजार मुल्य प्रायः झोला किन्ने मान्छे झोला पसलमा जान्छन् । टेबल किन्ने मान्छे फर्निचर पसलमा जान्छन् । टेबल र झोला दुवैको काम गर्ने यो झोला खोज्दै बजारमा कोही पनि आउने नगरेको उनी सुनाउँछिन् । उनले बजारभन्दा विभिन्न एनजीओ आइएनजीओलाई केन्द्रिंत गरिन् । आफुले बनाएको झोला देखाइन् । धेरैजस्तो संघ संस्थाले स्कुलमा कापी कलमसँगै झोलाहरू वितरण पनि गर्छन् । वेदिकाले त्यस्ता संस्थालाई आफुले बनाएका झोलाहरू लिन आग्रह गरिन् । धेरैजस्तो संस्थाले सहकार्य पनि गरे । अहिले कतिपय संस्था आफै झोला खोज्दै आउँछन् । कतिपयले सामाजिक सञ्जालमै पनि अर्डर गर्छन् । वेदिका अहिले पनि बजार सहज रुपमा बनिनसकेको बताउँछिन् । उनी अहिले पनि दिनमा १० भन्दा बढी संस्थासँग आफुले बनाएको झोलाका बारेमा जानकारी गराउँछिन् भने कतिपयसँग भेट्छिन् । उनले बनाएको झोला विशेषगरी दुर्गम र तराइ क्षेत्रका बालबालिका जो विद्यालय गइरहेका छने उनिहरूलाई लक्षित हो । तर, आजभोलि प्रायः अफिसमा काम गर्ने घरमै बसेर काम गर्नेहरूले पनि यो झोला किनिरहेका छन् । डोल्पा र हुम्ला लगायतका विभिन्न ठाउँमा यो झोला पुगेको छ । यो झोलाको मुल्य दुई हजार रुपैयाँसम्म पर्छ । तर, धेरै झोला एकै पटक लिँदा केही सस्तो पर्ने उनको भनाइ छ । उनी यो झोला अरुभन्दा टिकाउ पनि रहेको बताउँछिन् । झोलाको बाहिरको फ्याब्रिक बजारमा पाइने झोला भन्दा बलियो छ । वाटरप्रुफ पनि भएकाले भित्रको कार्डबोर्डपनि बिग्रदैन । यदि बिग्रिहो पनि डिजाइन यति सजिलैछ त्यसलाई रिप्लेस बनाउन सजिलो छ । यो झोला सर्वसाधारणको भन्दा विद्यार्थीको लागि हो । उनले अहिले ४ हजार ७ सय झोला बिक्री भइसकेको बताइन् । परदेशमा पढाइ वेदिकाका तीन जना दिदी भाइ छन् । उनी माइली हुन् । उनको घर सिराहको लाहान हो । व्यापारको सिलसिलामा आमाबाुवा काठमाडौँ आए । उनी काठमाडौंमै जन्मिन् । पढ्दै गर्दा नेपालमा शान्तिपूर्ण वातावरण थिएन । जनयुद्ध चलिरहेको थियो । त्यो बेला उनी कक्षा ४ मा पढ्थिन् । कहिले बन्द, कहिले आन्दोलनले विद्यालय सातामा दुई दिन पनि खुल्न गाह्रो हुन्थ्यो । त्यहीबेला उनको परिवारले वेदिकालाई भारतमा लिएर पढाउने निधो गर्यो । उनलाई भारतको राजस्थानमा होस्टेलमै राखेर पढ्न राख्यो । नेपालमा कक्षा ४ सम्म पढिसकेपछि भारत गइन् । उनी पढ्ने स्कुलमा धेरै नेपाली विद्यार्थी थिए । ‘एक्लै बस्दा धेरै काम आफंै गर्न सक्ने आँट आउँदो रहेछ,’ उनी भन्छिन्, ‘सबै काम आफैं गर्नुपथ्र्यो, सानैदेखि आफ्नो काम आफैं गरियो अथवा यही कुराले पनि जे काम पनि आफैं गर्नुपर्छ भन्ने आँट आएको हो ।’ बच्चादेखि नै जोखिम लिरहेकोले पनि व्यवसायमा लाग्दा त्यति समस्या नभएको उनको भनाइ छ । भारतबाट १० कक्षाको पास गरिसकेपछि ११ र १२ मा व्यवस्थापन पढिन् । स्नातक भारतको बैंलोरमै पढिन् । त्यसपछि उनी स्नातकोत्तर पढ्न लण्डन गइन् । विदेशमा पढेर नेपालमा व्यवसाय नेपालमा केही गर्न सकिँदैन, बाहिर नै गएर काम गर्नुपर्छ भन्ने आम नेपाली युवाको मानसिकता छ । तर, वेदिका भने विदेशबाट आएर नेपालमै केही गर्नुपर्छ भनेर लागिरहेकी छन् । जहाँ समस्या त्यहाँ समाधानका उपाय पनि धेरै हुन्छन् भन्ने सोचले उनी नेपाल आइन् र व्यवसायमा लागिन् । ‘विद्यार्थी बाहिर पढ्न जानु नराम्रो होइन । तर, पढेर नेपालमै नफर्की उतै बस्नु नराम्रो हो,’ उनी भन्छिन्, ‘बाहिर पढेको फाइदा धेरै हुन्छ, विश्वमा हरेक क्षेत्रमा इनोभेसन धेरै अगाडि बढेको छ, बाहिरको हेरेर देखेर र सिकेर पनि नेपालमा केही नयाँ गर्न सकिन्छ ।’ वेदिका सानैदेखि नेपाल बाहिर हुँदा नेपाली बोल्न र पढ्न गाह्रो थियो । उनले सिक्दै गर्दै गइन् । उनी अर्काको देशमा देखेर महसुस गरे जस्तो सहज नहुने बताउँछिन् । पढ्न गएका विद्यार्थीलाई पनि एक्लो भएर बस्न गाह्रो हुने उनको अनुभव छ । अहिले अनलाइनमा धेरै काम हुन्छ । डिजिटल समयमा जो जहाँ बसे पनि काम गर्न सकिन्छ । नेपालमा बसेर मान्छे भेट्ने काम वेदिकाले गर्छिन् भने के गर्ने कसरी गर्ने भन्ने आइडिया साथीसँग पनि सोधखोज गर्छिन् । उनकी साथी नेहा पाकिस्तानबाटै यो व्यवसायमा सहयोग गरिरहेकी छन् । अहिले वेदिकाले इन्र्टनसीपमा काम गर्ने कर्मचारी पनि राखेकी छन् । उनीहरूले सामाजिक सञ्जालदेखि लिएर अन्य आवश्यक काममा सघाउने काम गरिरहेका छन् । भारत र पाकिस्तानमा पनि व्यवसाय गर्ने यो झोलाका लागि उनलाई विभिन्न देशबाट फोन आउने गर्छ । कसैले सँगै मिलेर काम गरौं भनिरहेका छन् भने कतिपयले फोन गरेर झोला पठाइदिन आग्रह गरिरहेका छन् । भारत र पाकस्तानमा पनि दुर्गम ठाउँ धेरै छ । नेपालको भन्दा धेरै समस्या ती देशको दुर्गम ठाउँमा पनि छ । अफ्रिकाबाट पनि हामीसँगै काम गर्नुस् भनेर फोन आउने गरेको उनले बताइन् । वेदिकाका योजना अब फेरि झोलामा नयाँ केही डिजाइन थप्ने तयारी छ । झोलालाई अब नेपाल बाहिर पनि लग्ने योजना छ । अहिले विद्यालय उमेरका बालबालिका लागि केन्द्रित यो झोला अब शिक्षकमैत्री कसरी बनाउने भन्ने पनि सोचिरहेको बताउँछिन् । वेदिका नेपाली युवालाई व्यवसायमा केन्द्रित गर्न शिक्षा क्षेत्रमा उद्यमशिलताको कुरा समावेश गरिनु पर्ने बताउँछिन् । ‘हाम्रो अभिभावकले तिमी डाक्टर इन्जिनियर बन्नुपर्छ भन्नुहुन्छ, कलेजमा पनि उद्यमशिलताको कुरालाई त्यति जोड दिएको पाइँदैन जसका कारण युवालाई व्यवसाय गर्न मन हुँदैन,’ उनी भन्छिन्, ‘जागिर भन्दा पनि व्यवसायमा जोड दिनुपर्छ ।’