आन्तरिक हवाई उडानको उच्चतम भाडा दर सार्वजनिक, कुन ठाउँ जान कति लाग्छ ?
काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर ताेककाे छ । दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर ताेकेकाे हाे । नेपालीहरूको महान चाड पर्व (दशैं, तिहार तथा छठ) को समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगो भाडा दरमा समेत टिकट बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न प्राधिकरणले उच्चतम भाडा सार्वजनिक गरेको हो । स्वीकृत उच्चतम भाडा दर भन्दा कम भाडा दरमै टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणका अनुसार काठमाडौं-विराटनगर उच्चतम भाडा दर ९ हजार ७८५ रुपैयाँ, काठमाडौं-भरतपुर ४ हजार ६४३ रुपैयाँ, काठमाडौं-भद्रपुर १२ हजार ११२ रुपैयाँ, काठमाडौं-जनकपुर ५ हजार ४७० रुपैयाँ, काठमाडौं-पोखरा ६ हजार ६३५ रुपैयाँ, काठमाडौं-नेपालगञ्ज १३ हजार १०३ रुपैयाँ तोकिएको छ । यस्तै, काठमाडौं-धनगढी १७ हजार ५७९ रुपैयाँ, काठमाडौं-सिमरा ३ हजार ९७८ रुपैयाँ, काठमाडौं-भैरहवा ८ हजार ४६१ रुपैयाँ, काठमाडौं-राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौं-सुर्खेत ९ हजार ३० रुपैयाँ, काठमाडौं-तुम्लिङ्गटार ७ हजार ६३० रुपैयाँ उच्चतम भाडा दर तोकिएको छ । उच्चतम हवाई भाडा दर भन्दा कुनै पनि वायुसेवा कम्पनी, आधिकारिक टिकट बिक्रेता तथा ट्राभल एजेन्सीले यात्रुसँग बढि रकम लिई टिकट बिक्री वितरण गरेको पाइएमा कारवाही गरिने प्राधिकरणले जनाएको छ ।
‘मेरो उमङ्गविहीन दशैं’
काठमाडौं । यति बेला नेपालीहरूको महान चाड दशैंको रौनक जताततै छ । मुलुकलाई दशैंको रमझमले छोपिरहेको छ । दशैं, तिहार जस्ता चाडपर्वहरूले हरेक वर्ष नेपाली समाजमा उत्साह र उमङ्ग लिएर आउँछन् । तर, यसवर्ष त्यो खालको उत्साह र उमङ्ग पटक्कै छैन । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घर जलेर ध्वस्त भयो । परिवार बिचल्लीमा परेको छ । अटो व्यवसायी तथा नाडा पूर्वअध्यक्ष ध्रुव थापाका लागि यो दशैं दशा बन्यो । जेनजी आन्दोलनका क्रममा घर नै जलेपछि थापा घरबारविहीन बन्न पुगेका छन् । यस वर्षको दशैं थापाका लागि हर्षभन्दा पनि पीडा र सङ्घर्षको स्मरण बनेर आएको छ । हाल उनी शरणार्थी शरह आफन्तको आश्रयमा बसिरहेका छन् । उमङ्गविहीन दशैं यसवर्ष दशैंले उनका लागि उत्साह र उमङ्ग ल्याएको छैन् । ‘अहिले न त घर छ । न त सम्पत्ति छ । घरविहीन बनेर बाहिर आफन्तको शरण लिनुपरेको अवस्था छ । मानसिक रूपमा सुरूका दिनहरूमा साह्रै नै विक्षिप्त बनाएको थियो,’ थापाले भक्कानिदै भने । उनका अनुसार जेनजी आन्दोलनको क्रममा भएको विध्वंसले सबैको मानसपटलमा ताजा चोट छोडेको छ । र, यो पीडा व्यक्तिगत मात्र नभएर सम्पूर्ण नेपालीमा पनि देखिएको उनको अनुभव छ । कार्यालयमा एक जना काम गर्ने बहिनी गुमाउनु परेको पीडाले परिवारलाई अप्ठ्यारोमा पारेको छ । यद्यपि, पीडा र शोकमा सधैं बसिरहनु उचित नहुने महसुस गर्दै परिवार अगाडि बढ्ने तयारीमा रहेको उनी बताउँछन् । ‘यो घर र सम्पत्ति गुमाउनुको पीडा हामीलाई मात्र थाहा छ । हामी घरविहीन भयौं, त्यो आफ्नो ठाउँमा छ । यति बेला सम्पूर्ण नेपालीमा पनि त्यो खालको उत्साह देखिएको छैन,’ उनले भने । उत्साह नभए पनि संस्कृतिलाई जीवन्त राख्नका लागि सानो–ठूलो गरेर भए पनि चाडपर्व मनाउने तयारी गरिरहेको थापा बताउँछन् । दशैंलाई शक्ति र सद्भावको पर्वका रूपमा लिँदै उनले भने, ‘यो समयमा शक्ति प्रदान गर्ने दुर्गा माताको पूजा आराधना गर्छौं । जसले थप शक्ति पनि प्रदान गर्नेछ भन्ने अपेक्षा हामीले लिएका छौं । ’ उनले यो दशैंले नेपालीहरूमा आपसी मेलमिलाप र सद्भाव वृद्धि गरोस् भन्ने कामना पनि व्यक्त गरे । थापाको जेनजी आन्दोलनका सुरुका दिनहरूमा सहपरिवार मानसिक रूपमा विक्षिप्त बनेको थियो । ‘किन हामीलाई यो टार्गेट गरियो भनेर अहिले पनि प्रश्न कायमै छ,’ उनी भन्छन् । उनी आन्दोलन आयोजकहरूलाई पनि जिम्मेवार ठान्छन्, यद्यपि तत्कालीन सरकारको नियन्त्रण गर्न नसक्नु ठूलो चुक भएको उनको आरोप छ । देशको खराब अवस्था चरम भ्रष्टाचार कुशासनका कारण आन्दोलनको नैतिक समर्थन भए पनि विध्वंसको भने विपक्षमा रहेको सुनाउँछन् । ‘आन्दोलनलाई हाम्रो पनि नैतिक समर्थन थियो । तर, जुन खालको विध्वंस भयो । यसलाई त सरकारले कन्ट्रोल गर्न सक्थ्यो ।’ उनका अनुसार यो आन्दोलनले सानो परिर्वतन मात्रै गरेको छ । जबकि ठूलो विध्वंस भयो । जनताले चाहेजस्तो परिवर्तन नआएको र भविष्यमा पनि यस्तै अस्थिरता दोहोरिन सक्ने चिन्ता उनलाई छ । पहिलेका आन्दोलनले ८/१० वर्षको स्थिरता दिए पनि यो आन्दोलनले छ महिनाका लागि सरकार परिवर्तन मात्रै जस्तो देखिएको उनको बुझाइ छ । निजी क्षेत्रमाथि बारम्बारको प्रहार हरेक आन्दोलनमा निजी क्षेत्र नै पहिलो निशाना बन्ने गरेकोमा उनको गम्भीर आपत्ति छ । ‘निजी क्षेत्रप्रति कसैले पनि यस्तो गर्नु हुँदैन । व्यवसायी भनेका नाफाखोर लुटेरा र तस्कर हुन् भन्ने मानसिकता कसैले पनि राख्नुहँुदैन् । तर हाम्रो समाजमा आम नागरिकमा यस्तो मानसिकता बनाइएको छ की सबै व्यवसायीहरुले विगारेका हुन्,’ उनले दुखेसो पोखे । थापा परिवारले जेनजी आन्दोलका कारण ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । ३५ वर्षदेखिको सम्पतित्त छिनभरमै गुमाउनुको पिडा उनको मानसपटलमा घुमिरहेको छ । उनले आफ्नो व्यक्तिगत सम्पतित्त १६ करोड रुपैयाँ गुमाएका छन् भने उनका दाजु विन्दुकुमार थापाले ५० करोड बराबरको क्षति बेहोरेका छन् । पोखराको गण्डकी क्षेत्रमा मात्रै दाजुभाइको कुल ६६ करोडको क्षति भएको छ । जसमध्ये होटल, कर्पोरेट बिल्डिङ र निजी निवासहरू ध्वस्त भएका छन् । यो निजी क्षेत्रमा भएको ठूलो क्षतिले उनीहरूलाई थप चिन्तित बनाएको छ । ‘हामी नै किन पर्यौं ? न राजनीतिमा लागेको मान्छे । आफ्नो व्यवसायसँगै समाजसेवा मेहिनत गरेर कमाइ गर्ने मान्छे । हामीलाई नै किन टार्गेट गरियो भन्ने प्रश्न अझै कायमै छ,’ उनले भने । यो मानसिकता कर्मचारी र सरकार पक्षले नै विकास गरेको उनको आरोप छ । उनले यो धारणा बदल्न जरुरी भएको बताउँछन् । व्यवसायीहरू राष्ट्रका गहना हुन्, उनीहरूले कर तिरेर देश चलाएका छन् र रोजगारी सिर्जना गरेका छन् । उनीहरूलाई संरक्षण गर्नुपर्छ भन्ने भावना जनतामा नआएसम्म यस्ता घटना दोहोरिने निश्चित रहेको उनको भनाइ छ । यसपटक त ज्यानै जोखिममा पर्ने अवस्थासमेत आएको भन्दै उनले चिन्ता व्यक्त गरे । परिवारको अवस्था थापाका परिवारका सदस्यहरू सामान्यीकरणतर्फ अगाडि बढेका छन् । बच्चाहरू कलेज र काममा फर्किएका छन् । उनकी श्रीमती सामाजिक सेवामा सक्रिय छिन् । भूकम्प र कोभिड महामारीमा जस्तै अहिले पनि लाइन्स इन्टरनेशनलमार्फत सामुदायिक क्षेत्रमा भएको विध्वंसको पुनर्निर्माणका लागि पहल गरिरहेकी छन् । ‘हामी दुवैजना दम्पत्ति सामाजिक सेवामा लागिरहेका छौं । समाजमा अप्ठ्यारो परेका क्षेत्रहरू छन् । त्यतातिर पनि हेरौं भनेर अहिले दशैंमा अप्ठ्यारो अवस्था सिर्जना भएको छ । यो समयमा सेवा गरौं भन्ने उद्देश्यले हामी त्यतातिर पनि लागिकेका छौं । ’ सरकार र व्यवसायी संघसंस्थाहरूबाट सहयोगको वातावरण बनेकोमा उनले खुसी व्यक्त गर्छन् । आर्थिक सहयोग नभए पनि बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य र व्यवसायीका लागि राहतको पहल भइरहेको उनी बताउँछन् । घरको बीमा नभएकाले तत्काल पुनर्निर्माणको ठोस योजना नभएको थापा बताउँछन् । अहिले सरसफाइ र इन्जिनियरिङ टोलीबाट संरचनाको क्षमता जाँच गर्ने तयारी भइरहेको उनी बताउँछन् । काठमाडौंबाट विशेषज्ञहरू लगेर घरको संरचनाको अवस्था जाँच गरेपछि मात्रै पुनर्निर्माणको योजना बनाउने तयारी उनको छ । उनका अनुसार त्यसपछि मात्र रेट्रोफिट गर्ने वा भत्काएर नयाँ बनाउने निर्णय लिइनेछ । जीवनमा जस्तोसुकै अप्ठ्यारो आए पनि सामना गर्नुपर्छ भन्ने मान्यताले उनलाई अगाडि बढ्न प्रेरणा दिइरहेको छ । यस्तो कठिन परिस्थितिमा पनि थापाले धैर्य र सकारात्मकता गुमाएका छैनन् । ‘जे जस्तो परे पनि पर्ने त परिसक्यो । अब परिसकेपछि त्यसलाई पछुताएर मात्रै बसेर भएन । लाइफ त फेरि अगाडि बढाउनुछ,’ उनी भन्छन् । भौतिक क्षतिलाई फेरि पुनर्निर्माण गर्न सकिनेमा उनी आशावादी छन् । उनले जेनजी उमेरका तीनै जना छोराहरूले पनि हौसला दिइरहेकाले उनी थप उत्साहित भएको थापाको भनाइ छ । यस्तो कठिन परिस्थितिमा पनि थापाले धैर्य र सकारात्मकता गुमाएका छैनन् । ‘जे जस्तो परे पनि पर्ने त परिसक्यो । अब परिसकेपछि त्यसलाई पछुताएर मात्रै बसेर भएन, लाइफ त फेरि अगाडि बढाउनु छ,’ उनी भन्छन् । यसपालिको दशैंमा उनले आफ्ना दाइ विन्दुकुमार थापा र भाउजूबाट टीका ग्रहण गरेका छन् । थापाका दाजु विन्दुकुमार गण्डकी प्रदेशका सामाजिक विकास तथा कानुनमन्त्री हुन् । उनका दाइ पनि सामान्य अवस्थामा फर्किएर कार्यालय जान थालेका छन् र धैर्यका साथ अगाडि बढ्ने पक्षमा छन् ।
विगतको जस्तो बनेन अटो व्यवसायीको दसैँ
काठमाडौं । यतिखेर नेपालीहरू दसैँ मनाउन व्यस्त छन् । तर, अटो व्यवसायीहरूमा दसैँको खासै रौनक छैन । अटो क्षेत्रका लागि दसैँ विशेष मान्निछ । तर, यसपटक यस क्षेत्रका व्यवसायीहरू उत्साहित देखिँदैनन् । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष करन चौधरी दसैँ र अन्य चाडपर्वहरू अटोमोबाइल क्षेत्रको मेरुदण्ड भए पनि यो वर्ष खासै उल्लास नभएको बताउँछन् । उनका अनुसार वार्षिक बिक्रीको ५५ प्रतिशतभन्दा बढी हिस्सा दसैँ तिहारमै हुन्छ । परम्परागत रूपमा यो नयाँ सवारीसाधन खरिदको लागि शुभ समय मानिने भएकोले पनि ग्राहकले दसैँ तिहारमा बढी सवारी साधन खरिद गर्ने गरेको उनको भनाइ छ । तर, यस वर्षको जेनजी आन्दोलनले उपभोक्ताको उत्साहमा कमी ल्याएको अध्यक्ष चौधरी बताउँछन् । ‘परम्परागत रूपमा दसैँ नयाँ खरिदको चरम समय हो । किनभने यसलाई शुभ मानिन्छ । तर यस वर्ष आर्थिक चुनौती र जेनजी आन्दोलनले उत्साहमा कमी ल्याएको छ,’ उनले भने । यद्यपि अध्यक्ष चौधरीले दसैँलाई अझै पनि उपभोक्ताको विश्वास पुनःस्थापित गर्ने र अटो व्यवसायलाई पुनर्जीवित गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरेका छन् । ‘दसैँ अझै पनि उपभोक्ता विश्वास पुनःस्थापित गर्ने र व्यवसाय पुनर्जीवित गर्ने महत्वपूर्ण अवसर हो,’ उनले थपे । व्यावसायिक चुनौतीहरूका बाबजुद व्यक्तिगत रूपमा भने व्यवसायीहरुले यस दसैँलाई आत्मीयता र आत्मचिन्तनको अवसरका रूपमा हेरेका छन् । अध्यक्ष चौधरी स्वयंले पनि दसैँ काठमाडौंमै परिवारसँगै रमाइलो गर्दै मनाउने बताए । ‘दसैँ मेरो लागि आत्मीयता, आशीर्वाद र खुशी बाँड्ने अवसर हो,’ उनले भने । तर, यो वर्ष विगतजस्तो सहज नभएको उनले स्वीकारे । व्यवसायीहरू यस वर्षको दसैँलाई केवल हर्षोल्लासको पर्वका रूपमा मात्र नभई चुनौतीहरूका बीचमा पनि आशा, एकता र आत्म चिन्तनका साथ अगाडि बढ्ने अवसरको रूपमा लिएका छन् । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता अनुसार यस वर्षको दसैँमा बजारमा माग २० प्रतिशतले कमी आएको छ । उनले भने, ‘जेनजी आन्दोलन र त्यसले सिर्जना गरेको अनिश्चितताका कारण मानिसको आत्मविश्वास घटेको छ । यसले गर्दा जुन तालले व्यापार अगाडि बढ्नुपर्ने थियो, त्यो स्लो भएको छ ।’ यसवर्षको दसैँले देशलाई नै पीडा दिएको उनी बताउँछन् । अर्का अटो व्यवसायी तथा नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले जेनजी आन्दोलनका कारण सबैको व्यावसायिक योजनामा असर परेको बताए । ‘दसैँको समयमा धेरै मान्छेहरू घुम्न तथा पैदल यात्रामा जान्थे । यस वर्ष सबै बाटो अवरुद्ध छ । केही गर्न मिलेको छैन । जसले पर्यटन क्षेत्रमा पनि असर परेको छ,’ उनले भने । यद्यपि व्यवसायमा अघिल्लो वर्षभन्दा यस माग केही बढ्ने हुने अपेक्षा उनको छ । उनले यस वर्षको दसैँ काठमाडौं घरमै मनाउने बताए । थपलियाका अनुसार हुन्डाईले यस वर्ष आफ्नो १० वर्षको अवसर पारेर १० वटा विशेष अफर ल्याएको छ । जसमा स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्ने मौका समेत रहेको उनको भनाइ छ । एक ग्राहकले सानो गाडी किन्दा १० लाख रुपैयाँ जितिसकेको समेत उदाहरण दिँदै थपलियाले यी अफरहरू छठसम्म जारी रहने जानकारी दिए । यसैगरी, अर्का व्यवसायी आकाश गोल्छाले भने यस वर्ष बिक्रीमा वृद्धि नहुने बरु घट्ने बताए । ‘बिक्रीमा वृद्धि हुँदैन, घट्छ नि । देश नै संकटमा छ । गाडीको बढ्दैन,’ उनले भने । आकाश गोल्छाले दसैँलाई धार्मिक दृष्टिकोणबाट भन्दा पनि सामाजिक सद्भाव र परिवारिक मिलनको रूपमा हेरेको बताएका छन् । ‘हाम्रोमा दसैँ हुँदैन । तर यो चाड हो । यो समयमा मुड फ्रेस गर्नुपर्छ । घरमै रमाइलो गरेर बस्नुपर्छ,’ उनले भने । यद्यपि सबै कम्पनीहरूले यसवर्ष विशेष अफर ल्याएका छैनन् । आईएमई ग्रुपका प्रबन्ध निर्देशक निसान ढकालले आफूले यसवर्ष कुनै पनि अफर नल्याएको बताए । उनका अनुसार अहिले ग्राहकहरुको रुचिमा पनि केही परिवर्तन देखिएको छ । पहिले विद्युतीय सवारीसाधन (ईभी) को माग बढी भए पनि अहिले सडकको अवस्था, स्पेयर पाट्र्सको उपलब्धता र मोबिलिटीको सहजताका कारण आईसीई (डिजेल÷पेट्रोलबाट चल्ने) गाडीप्रति आकर्षण बढेको देखिन्छ । हुन्डाईका थपलिया पनि आईसीईको माग कम भएको बताउँछन् । उनीहरूका अनुसार दसैँ अगाडि सर्भिसिङको माग २०/३० प्रतिशतसम्म बढ्ने गर्छ । हुन्डाईले बिक्री पछि युनिटलाई आफ्नो बलियो पक्ष मान्दै १७/१८ वटा नेटवर्क, हाइवेमा रिल्याक्स र रिपेयर सर्भिस सेन्टरहरु (जस्तै बुटवल, कुरिनटार) समेत सञ्चालन गरेको छ । त्यस्तै, अन्य कम्पनीहरूले पनि सर्भिसिङका लागि आवश्यक तयारी गरेका छन्, आवश्यकता परे ओभरटाइम समेत बसेर ग्राहकलाई सेवा दिने उनीहरूको प्रतिबद्धता छ । थपलियाले हाल जेजस्तो अवस्था भए पनि दसैँ भने आफन्तीसँग भेटघाट गरी परिवारसँग बसेर मनाउने बताउँछन् । यसैगरी टाटा मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठका अनुसार यसपटकको दसैँ अटोमोबाइल क्षेत्रका लागि परम्परागत उत्साहभन्दा बढी चिन्ता र अनिश्चितताले भरिएको देखिन्छ । ‘बजारमा माग कम हुनु, आन्दोलनले सिर्जना गरेको कन्फिडेन्सको कमी र समग्र आर्थिक मन्दीका कारण व्यवसायिक लक्ष्यमा धक्का पुगेको छ । तर, व्यवसायीहरू दसैँपछि अवस्था सामान्य बन्ने र वर्षको अन्त्यसम्ममा केही सकारात्मक परिणाम आउनेमा आशावादी छन्,’ उनले भने । जेनजी आन्दोलनकर्ताले थापाथलीमा रहेका अधिकांश गाडीका सोरुमहरु तोडफोड तथा आगजनी गर्दा पनि उनीहरु समस्यामा परेका हुन् ।