पुर्नबीमा कम्पनीको कार्यकारी प्रमुखको तलब ४ गुणा बढाइदै, अर्थमन्त्रीको नाममा १२ लाख रुपैयाँ घुस मागेको आरोप
नेपाल पुर्नबीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत पदपूर्ति प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले इच्छुक व्यक्तिलाई जेठ ३० गतेसम्म आवेदन गर्न आह्वान गरेको छ । कम्पनीमा कर्मचारी नियामावली नै नबनाई पदाधिकारीहरुको मिलोमत्तोमा आफन्तहरु नियुक्तीको सिलसिला जारी रहेको बेलामा प्रमुख कार्यकारी अधिकृत नियुक्ती प्रक्रिया थालिएको छ । bikashnews.com खुला प्रतिस्प्रर्धाबाट चार वर्षको लागि कार्यकारी प्रमुख नियुक्त गर्ने भनिए पनि भित्रभित्रै मिलोमत्तो र मोलमोलाई शुरु भएको स्रोतले बतायो । कम्पनीको सञ्चालक समितिले छनौट सम्वन्धि निर्णय गर्ने भनिए पनि अर्थमन्त्रीको हवाला दिदै नेपाल पुर्नबीमा कम्पनीको अध्यक्षले उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न चाहाने आकांक्षीसँग एजेन्टमार्फत मोलमोलाई गरिरहेको स्रोतले बतायो । कम्पनीका अध्यक्ष शोभाकान्त पौडेलले कार्यकारी प्रमुखका आकांक्षीसँग मोलमोलाई गर्न खत्री थरका एक व्यक्तिलाई एजेन्ट बनाए परिचालन स्रोतको दावी छ । ‘मासिक २ लाख तलबसहित आकार्षक सुविधाको प्रबन्ध गरिने छ, कम्तिमा ६ महिनाको तवल अहिले नै खर्च गर्नुपर्छ’ अध्यक्षका एजेण्टले गरेको प्रस्ताव सुनाउँदै नाम उल्लेख नगर्ने सर्तका एक आकांक्षीले बताए । ‘पैसाविना निर्णय हुँदैन, राजनीतिक नियुक्ती पाएका अध्यक्षले पनि ठाउँमा पैसा बुझाउनुपर्छ’–एजेण्टको भनाई उदृत गर्दै कार्यकारी प्रमुख बन्न लविङ गर्दै हिडेका ती आकांक्षीले बताए । कम्तिमा ६ महिनाको तलव भनेर १२ लाख रुपैयाँ मागेको उनको दावी छ । चार बर्षसम्म हटाउन नसक्ने गरि नियुक्ती पत्र दिने, कसैले हटाए पनि अदालतमा पुर्नवहानी हुने गरि बेहोरा उल्लेख गरेर नियुक्ती दिलाउने एजेन्टको प्रस्ताव छ । नयाँ प्रमुख कार्यकारी अधिकृतलाई कति तलव दिने भन्ने विषयमा अहिलेसम्म नेपाल पुर्नबीमा कम्पनीले अहिलेसम्म निर्णय नगरेको कम्पनीका एक सञ्चालकले बताए । ‘पाँच अर्बको कम्पनी चलाउनु छ, ढेडदेखि दुई लाख रुपैयाँ तलव दिनुपर्छ भन्ने प्रस्ताव अध्यक्षले ल्याउनु भएको छ । तर निर्णय भएको छैन’ उनले भने । यस विषयमा कुरा गर्दा अध्यक्ष पौडेलले आफू कम्पनीको प्रबक्ता पनि नभएको र कार्यकारी अध्यक्ष पनि नभएकोले केही बनाउन नसक्ने बताए । यसअघिको प्रमुख कार्यकारी अधिकृतले नेपाल सरकारको सचिव सरह करिव ४५ हजार रुपैयाँ तलव खाने गरेको कम्पनी स्रोतले बतायो । उनी कम्पनी, उनी पदका लागि एकै पटक चार गुणा भन्दा बढी तलव वृद्धि गर्ने अध्यक्षको प्रस्तावले बीमा कम्पनीहरुबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु समेत शसंकित भएका छन् । साभारःदेशविकास साप्ताहिक
भूकम्पबाट बच्यो मुख्य विकास प्रणाली, देश छिट्टै उठ्ने अपेक्षा
२२ जेठ । महाभूकम्पले १० खर्बको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भैरहेपनि विकासको आधारभुत प्रणालीमा भने क्षति न्युन देखिएको छ । बहुराष्ट्रिय निकाय तथा नेपालमा विकासे परियोजनाको रोडम्याप बनाउने राष्ट्रिय योजना आयोगको प्रारम्भिक तथ्यांकले पनि १० खर्बको क्षति भएको देखाएको छ । तर पनि विकासका आधारभुत प्रणालीहरुमा भने खासै ठुलो क्षति पुगेको छैन । स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सञ्चार, विमानस्थल र उर्जालाई विकासका न्युनतम पुर्वाधार मानिन्छ । महाभूकम्पले यीमध्ये शिक्षा क्षेत्रमा केहि प्रभाव पारेको भएपनि अन्य क्षेत्रमा क्षति न्युन छ । पुर्व अर्थमन्त्री शंकर प्रसाद कोइराला भन्छन–‘भूकम्पले विकास प्रणालीमा ठुलो क्षति गरेको छैन ।’ उनका अनुसार नेपालका अधिकांश ठुला राजमार्ग, सबै एयरपोर्ट, उर्जाका परियोजना र प्रसारण लाईन, एयरपोर्ट, खानेपानी, सञ्चार र अस्पतालहरु सुरक्षित छन । विकासका आधारभुत यीनै संरचनाहरु सुरक्षित रहेकाले पनि मुलुक छिट्टै नयाँ बाटोमा अघि बढ्ने उनी बताउँछन । ‘धेरै जसो निजी भवनमा क्षति पुगेको छ, त्यस बाहेक पुरातात्विक क्षेत्रमा क्षति पुगेको छ, विकासका खास संरचना अझै सुरक्षित छन ।’–कोइरालाले भने । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले पनि विसकाको मुख्य प्रणालीमा ठुलो क्षति नपुगेको बताए । ‘हाम्रा मुल सडक, बत्ति पानी, सञ्चार, उर्जा, एयरपोर्टहरु सुरक्षित छन त्यसैले मुलुकले चाँडै काँचुली फेर्न सक्छ ।’– डा पोखरेलले भने । त्यसो त १० खर्बको क्षतिलाई कम आँक्न नहुने उनको तर्क छ । ‘१० खर्बको क्षतिलाई कम भन्न मिल्दैन, यसले अर्थतन्त्रमा प्रभाव त पार्छ नै ।’–डा पोखरेलले भने । क्षतिको अन्तिम तथ्यांक आउन बाँकी नै रहेकाले यसै भन्न नसिकने बताउँदै उनले भूकम्पले डरलाग्दो आर्थिक क्षति भने नगरेको दावी गरे । ‘इकोनोमी क्र्याक डाउन हुन्छ भन्ने आंकलन गरिएको थियो, धन्न त्यसो भएन तर पनि अर्थतन्त्र जोखिममुक्त भने छैन ।’ पोखरेलले भने । पुर्व अर्थमन्त्री कोइरालाले भूकम्पको क्षतिबाट विकासको बाटोमा अघि बढ्न मुख्य प्राथमिकता निर्धारण आवश्यक रहेको बताए । पहिलो चरणमा घरबार बिहिनको पुनर्वास, दोश्रोमा स्कुलहरुको पुनःनिर्माण, सडक सञ्चालको मर्मत, अस्पताल, कृषि क्षेत्र, पर्यटन र जलविद्युत क्षेत्रमा बिशेष योजना काम गर्नु पर्ने उनको भनाई छ । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. तिलक रावलले पनि अर्थतन्त्रमा ब्रेक नलाग्ने बताए । उनी भन्छन–‘अर्थतन्त्रमा ब्रेक लागेको छैन, आन्तरिक श्रोत परिचालन र दाताहरुको सहयोगको उचित सदुपयोग गर्न सके चाँडै उठ्न सकिन्छ ।’ अन्न भण्डारका रुपमा रहेका क्षेत्रमा खास ठुलो क्षति नभएको बताउँदै उनले विउविजन र मल भने समयमै उपलब्ध गराउनु पर्ने बताए । सरकारले घर बनाउन मात्रै पुर्नकर्जा दिन लागेको भन्दै उनले कृषि, उर्जा, पर्यटन र अन्य व्यवसायमा पनि त्यस्तो कर्जा प्रवाह हुनु पर्ने धारणा राखे । महाभूकम्पपछि जनताले विश्वास गुमाउँदै गएको बताउँदै पुर्व अर्थमन्त्री कोइरालाले त्यो विश्वास जगाउनु आवश्यक रहेको बताए । ‘देशले चाँडै गति लिन सक्छ तर सर्वसाधारण, उद्यमी, व्यवसायी, शिक्षक, कलाकार सबैमा विश्वासको वातावरण श्रृजना गर्नु पर्छ ।’–कोइरालाले भने । धरहरा, उपत्यकाका दरबार स्क्वायरहरु र मठमन्दिरहरुमा ठुलो क्षति पुगेकाले जनताको मनोविज्ञानमा त्रास फैलिएको उनीहरुको तर्क छ ।
भूकम्पपछि बिमक र बिमा दाबी बढ्यो
२२ जेठ । भूकम्पबाट ठूलो भौतिक तथा मानवीय क्षति भएपछि नयाँ बिमक र बिमा दाबीमा वृद्धि भएको छ । विगतको तुलनामा जोखिम हस्तान्तरण गर्ने अभियानस्वरुप त्यस्तो सङ्ख्यामा वृद्धि आएको हो । सर्वसाधारणमा बिमासम्बन्धी आएको सकारात्मक परिवर्तनले बिमा गर्न अभिप्रेरित भएका हुन् । बिमा समितिका अध्यक्ष प्रा डा फत्तबहादुर केसीका अनुसार भूकम्पपछि निर्जीवन बिमामा १३ हजार २४० भन्दा बढी बिमितबाट दाबी लिने आएका छन् । यसैगरी जीवन बिमा पनि २३० दाबी परेको छ । यी दुवै प्रकृतिका बिमाको दाबी दैनिक रुपमा बढेको छ । यस अवधिमा निर्जीवनमा ४१३ दाबीमात्र फछ्र्योट भएको छ । जसमा रु १२ करोड २४ लाख ४९ हजारको मूल्य रहेको छ । यसैगरी जीवन बिमामा १२१ वटा दाबी फछ्र्योट भएको छ । यो रु तीन करोड ५२ लाख ८८ हजार रकमबराबरको हो । सञ्चालित नौ वटा जीवन बिमा कम्पनीमा दबाब कम छ भने निर्जीवनमा बढी दाबी दबाब परेको छ । १७ वटा निर्जीवन कम्पनीमध्ये १६ वटाले अग्नि तथा भूकम्पीय जोखिम लिएका छन् । ती कम्पनीमा दाबी गर्नेको सङ्ख्या बढ्दै गएको छ । सङ्ख्या र दायित्व कति आउँछ भन्न्ने यकिन भइनसके पनि अध्यक्ष केसीले निर्जीवनमा रु २० अर्बसम्मको दाबी आउने अनुमान गरे । हालसम्म रु २५ करोड देखि रु ३१ करोडसम्मका चुक्तापुँजीका निर्जीवन कम्पनी छन् । यी कम्पनीमा मनग्य भार परे पनि पुर्नबिमा कम्पनीले थेग्ने उनको भनाइ छ । जीवनमा रु सात करोडसम्म दाबी आउने अनुमान समितिको छ । जीवन कम्पनी रु ५० देखि रु एक अर्ब नौ करोडसम्म चुक्तापुँजी भएका कम्पनी छन् । जीवन बिमामा भने त्यस्तो ठूलो भार पर्ने छैन । गोङ्गबुस्थित गण्डकी गलैँचा कार्पेटका प्रबन्ध निर्देशक रामबहादुर गुरुङले आफ्नो उद्योगमा भएको करिब रु सात करोडबराबरको विवरणसहित ओरियन्टर र सगरमाथा बिमा कम्पनीमा बिमा दाबीको प्रक्रियामा रहेको बताए । बिमा नगरिएको भएका आर्थिक अवस्थामा ठूलो असर पर्ने थियो तर बिमा गरेकाले केही हदसम्म जोखिम कम भएको छ । गुरुङको हिमालय डेको¥या, गण्डकी बी कन्सर्न, निजीघर र गलैँचा कार्पेट उद्योगमा भूकम्पबाट क्षति पुगेको छ । सर्भेयरको प्रतिवेदन, मूल्याङ्कन क्षमता र कामको निष्पक्षले दाबी रकम भर पर्ने भएकाले समितिले व्यावसायिक तवरले काम गर्न निर्देशन दिइएको छ । अध्यक्ष केसीले सर्भेयरले यस विपद्को घडीमा विश्वसनीयता नदेखिएमा कडा कारबाही गर्ने बताए । उता नयाँ बिमकको सङ्ख्यामा पनि उल्लेख वृद्धि भएको छ । जीवन तथा निर्जीवन बिमा गर्न सर्वसाधारण हतारिएका छन् । विपद्को अवस्थामा पहिलो प्राथमिकता दाबी भएकाले समिति तथा कम्पनीले त्यतातर्फ बढी ध्यान दिएका छन् । जसका कारण नयाँ बिमकको यकिन तथ्याङ्क भने आएको छैन । प्राइम लाइफ इन्स्योरेन्समा सात वटा दाबी आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जानकारी दिए । उनले वैदेशिक रोजगारमा जाने एक जनासहित उक्त दाबी आएको त्यसलाई फछ्र्योट गरिएको बताए । अधिकृत भट्टराईले जीवन तथा निर्जीवन बिमा गर्नेको सङ्ख्यामा वृद्धि भएको र यो क्रम जारी रहने उल्लेख गरे । त्यसैगरी एनआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पिआर मिश्रले भूकम्पपछि १२ वटा दाबी आएको र आफूले त्यसलाई फछ्र्योट गरिसकेको जानकारी दिए । नेसनल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक भरत बस्नेतले अन्तर्राष्ट्रिय अनुभवअनुसार पनि विपद्पछि बिमकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरे । उनले भने–“विपद्ले गरेको क्षतिबाट आम मानिसले केही शिक्षा लिएकै हुन्छन् त्यसले बिमा व्यवसायमा सकारात्मक परिवर्तन ल्याउँछ ।” रासस