हिमालयन डिष्टिलरीमा बाबुछोराको सेयर ७५ प्रतिशत, सञ्चालक समिति कठपूतली, कम्पनी नोक्सानमा, ३६ सय सेयरधनीको हितमा कसले बोलिदिने ?

काठमाडौं, ६ फागुन । २०४२ साल साउन ९ गते स्थापना भएको हिमालयन डिस्टिलरी २०५७ सालमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भयो । नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत २४० कम्पनी मध्ये मदिरा (रक्सी) उत्पादन गर्ने एक मात्र कम्पनी हो हिमालयन डिष्टिलरी । यो कम्पनीमा हाल ३ हजार ९ सय ६२ व्यक्ति तथा कम्पनी सेयरधनी छन् । भनिन्छ नेपालमा प्रतिपोका २० रुपैयाँ पर्ने रक्सी उत्पादन गरे पनि, प्रतिबोटल २ लाख पर्ने रक्सी उत्पादन गरेपनि बिक्री हुन्छ । जस्तो रक्सी उत्पादन गरेपनि उत्पादक कम्पनीहरुले नाफा कमाउँछन । तर हिमालयन डिष्टिलरीको कथा भने वेग्लै छ । सर्वसाधारणले लगानी गर्नुपूर्व यो कम्पनी संधै नाफामा थियो । सर्वसाधारणले सेयर किनेपछि लगातार १४ वर्ष नोक्सानमा गयो । १५ औ र १६ औं वर्ष सेयरधनीलाई केही नाफा वितरण गर्यो । चालु आर्थिक वर्ष फेरी कम्पनी नोक्सानमा देखाईएको छ । ६ महिनमा कम्पनी ५ करोड २८ लाख नोक्सानमा गएको वित्तीय विवरण सार्वजनिक भएको छ । कसरी गयो कम्पनी घाटामा ? कसरी चलेको छ यो कम्पनी ? को हुन् यसका वास्तविक मालिक ? कम्पनीमा संस्थागत सुशासन कस्तो छ ? विकासन्यूजले खोज गर्दा अनौठा तथ्यहरु भेटिएका छन् । यस रिपोर्टमा सेयरधनी र सञ्चालक समितिको बारेमा केही तथ्यहरु सार्वजनिक गर्दैछौं । धितोपत्र सम्बन्धि कानुन र नियम अनुसार नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत हुने कम्पनीहरुले आफ्नो वार्षिक प्रतिवेदनमा शून्य दशमलव ५ प्रतिशत भन्दा बढी स्वामित्व धारण गर्नेहरुको नाम सार्वजनिक गुर्नपर्छ । सूचिकृत प्रया सबैं कम्पनीहरुले यसको पालना गरेका छन् । तर हिमालयन डिष्टिलरीले उक्त कानुनी व्यवस्था लत्याउदै आएको भेटियो । विकास मिडियाले हिमालयन डिष्टिलरीका मुख्य सेयरधनीको सूचि माग गर्दा कम्पनीले यस्तो जवाफ दियो । जवाफ नदिनुको रहस्य त्यतिबेला पत्तालग्यो जतिबेला विकासन्यूजले सम्बन्धित स्रोतबाट कम्पनी कुल सेयर ३८ लाख ५६ हजार ४५५ कित्ता धारण गर्ने ३ हजार ९६२ व्यक्ति तथा कम्पनीको सूचि प्राप्त गर्यो । पब्लिक कम्पनी भएपनि यो कम्पनी पुरै पारिवारिक भएको, एउटा व्यक्तिले चलाएको र सबै काम एउटा व्यक्तिको स्वार्थमा हुने गरेको तथ्यहरु सेयरधनीको सूचि, सञ्चालक समितिको संरचना र सञ्चालकहरुको हैसियतले प्रष्ट पारेको छ । यो कम्पनीमा ७५ प्रतिशत सेयर विजय बहादुर शाह (उनले व्यापार थाल्दा देखि अहिलेसम्म तीन पटक नाम फेरेको भेटिएको छ । कही विजय कुमार शाह लेखिएको छ, कही विजय बहादुर शाह लेखिएको छ, कही विजय कुमार गुप्ता लेखिएको भेटिएको छ ।) र उनको छोरा राजबहादुर शाहको नाममा रहेको छ । शाह परिवारको नाममा मात्र २८ लाख ९९ हजार ३६५ कित्ता सेयर छ । यो कुल सेयरको करिव ७५ दशमलव १८ प्रतिशत हो । त्यसमा राजवहादुर शाहको नाममा २२ लाख ७० हजार ४ सय कित्ता सेयर रहेको छ भने विजय बहादुरको निजी कम्पनी डिष्टिलरीज् रिसर्ज सेन्टर प्रा लिको नाममा ६ लाख २८ हजार ९६५ कित्ता सेयर छ । कम्पनीको अध्यक्षमा श्रीमती मारग्रेट टि.जे. शाह छिन् । उनी विजय शाहकी श्रीमती हुन् । विजयका छोरा राजबहादुर सञ्चलक समितिमा सदस्यको साथै प्रबन्ध निर्देशकको हैसियतमा कार्यकारी प्रमुख छन् । यसरी कम्पनीको अध्यक्ष आफ्नो श्रीमतीलाई र कम्पनीको कार्यकारी प्रमुख छोरालाई राखेर विजय शाह सञ्चालक समिति बाहिर बसेको छन् । यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्दै आएका पंकजराज श्रेष्ठलाई शाह परिवारले हालै मात्र स्याक गरिसकेको छ । मासिक करिब ४ लाख रुपैयाँ तलव खादै कम्पनीको कार्यकारी प्रमुखको हैसियतमा राजबहादुर अगाडि आएका छन् । हिमालयन डिष्टिलरीलाई लाईसेन्स दिने बेलामा उद्योग मन्त्रालयमा सहसचिव रहेको नरेन्द्र कुमार बस्न्यात लामो समयदेखि उक्त कम्पनीमा सञ्चालक छन् । उनीसँग २५ सय कित्ता सेयर छ । नेपाल उद्योग परिसंघको अध्यक्ष समेत रहेका बस्न्यातले हिमालयन डिष्टिलरीमा शाह परिवारको ‘एसम्यान’का रुपमा काम गर्दै आएका छन् । खासगरी सरकारी निकायमा काम लिने समयमा शाह परिवारले बस्न्यातलाई प्रयोग गर्दै आएको छ । अर्का सञ्चालक अखिलेशप्रसाद सिंहसँग १६ हजार कित्ता सेयर छ । उनी यो कम्पनीका प्रवद्र्धक हुन् । उनी शाह परिवारका नातेदार हुन् । सञ्चालक समितिमा एक जना विनोद श्रेष्ठ छन् । विनोद श्रेष्ठ नाम गरेका दुई जना सेयरधनी देखिन्छन् । नाम एउटै भए पनि उनीहरु फरक व्यक्ति हुन् । सेयरधनीको बुबाको नाम र ठेगाना मिल्दैन । एउटा विनोदसँग २ हजार कित्ता र अर्को विनोदसँग १० हजार कित्ता सेयर छ । सर्वसाधारण समूहबाट निर्वाचित तीन जना सञ्चालन छन् । उनीहरु पनि शाह परिवारले बनाएको कठपूतली सञ्चालक भएको तथ्य उनीहरुले धारण गरेको सेयर संख्याबाट प्रष्ट देखिन्छ । तिनै जनासँग प्रतिव्यक्ति ११० कित्ता सेयर छ् । सञ्चालक सान्टु श्रेष्ठको नाममा ११० कित्ता सेयर छ । उनी काठमाडौं निवासी हुन् । सञ्चालक परिमल झाको नाममा पनि ११० कित्ता मात्र सेयर छ । उनी सप्तरीबासी हुन् । अर्का सञ्चालक शंकरराज पाण्डेको स्वामित्वमा पनि ११० कित्ता सेयर छ । उनी मध्यबानेश्वर निवासी हुन् । एक पटक ११ हजार रुपैयाँ लगानी गरेर कम्पनीको सञ्चालक बन्ने र प्रति बैठक १० हजार रुपैयाँ भत्ता पाउने, उपसमितिहरुमा रहेर भत्ता खान पाउने भएकोले उनीहरुका लागि यो भन्दा राम्रो अर्को कुनै कम्पनी नपाईएला । पारसमणी घिमिरे कम्पनीका स्वतन्त्र सञ्चालक छन् । बैठकमा उपस्थिति हुनु, शाह परिवारको प्रस्तावलाई अनुमोदन गर्न माइन्यूटमा सहि गर्नु, लञ्च खानु र भत्ता बुझ्नु बाहेक उनको पनि अरु कुनै भूमिका नभएको स्रोतले बतायो । सर्वसाधारणसँग ५ कित्ता र १० कित्ता सेयर यो कम्पनीको सेयरलगानी गर्ने ३ हजार भन्दा बढी सेयरधनीसँग ५ कित्ता र १० कित्ता मात्र सेयर छ । १०० कित्ता भन्दा कम सेयर धारण गर्ने ३ हजार ५ सय ६८ सेयरधनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस । एकसय कित्ता भन्दा बढी सेयर हुने व्यक्ति तथा सस्था करिव २७५ छन् । एकहजार कित्ता भन्दा बढी सेयर धारण गर्ने व्यक्ति करिव २५ जना मात्र छन् । १०० कित्ता भन्दा बढी सेयर धारण गर्ने ३ सय ९२ सेयरधनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस । विजयबहादुर शाह आफूलाई मदिरा बजारको वादशाहको रुपमा प्रचार गर्ने विजयबहादुर शाह हिमालयन डिष्टिलरी पब्लिक कम्पनी भएको, ४ हजार सेयरधनी भएको, प्रोफेशनलहरुले चलाएको, पारदर्शि भएको दावी गर्छन । तर साना र छरिएर रहेका सेयरधनीलाई कम्पनीले पुरै वेवास्ता गरेको र कम्पनी शाह परिवारले मनोमानी ढंगले चलाएको साना सेयरधनीको गुनासो छ ।

इन्भेष्टमेन्ट कम्पनीको लगानी र लगानीकर्ता खोजी गर्दै धितोपत्र वोर्ड, पूजी बजारमा शंकास्पद लगानी गरेको अनुमान

काठमाडौं, ६ फागुन । इन्भेष्ट कम्पनी मार्फत पूजी बजारमा हुने लगानी शंकास्पद देखिएपछि धितोपत्र बोर्डले अनुसन्धान थालेको छ । यस्ता कम्पनीमा भएको लगानी तथा त्यस्ता कम्पनी मार्फत हुने लगानीको विषयमा कुनै पनि नियामक निकायले खोजी नगरेपछि कारोवारप्रति शंका गर्दै बोर्डले अनुसन्धान थालेको हो । बोर्डले पहिलो चरणमा विवरण संकलन गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज र ब्रोकर कम्पनी मार्फत विवरण संकलन गरेर अध्ययन थालिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए । ‘हामीले नेपाल स्टक एक्सचेन्जसँग सन् २००७ देखि इन्भेष्टमेन्ट कम्पनीले गरेको कारोवारको विवरण र ब्रोकरहरुसँग यस्ता कम्पनीको लगानी र लगानीकर्ताको विवरण मागेका छौं, यस्तो विवरण प्राप्त भएपछि उनीहरुको लगानीका विषयमा आवश्यक देखिए थप अनुसन्धान हुन्छ,’ बोर्डका अध्यक्ष डा. कार्कीले भने । ब्रोकरले सेयर कारोवार गर्दा ‘नो योर कष्टुमर’ (केवाइसी¬) फर्म अनिवार्य रुपमा भर्नुपर्ने भएकोले उनीहरुसँग विवरण हुने आधारमा बोर्डले ब्रेकरसँग लगानी र लगानीकर्ताको विवरण मागेको हो । इन्भेष्टमेन्ट कम्पनीमा हुने लगानी र त्यस्ता कम्पनीबाट पूजी बजारमा हुने लगानीका विषयमा अहिलेसम्म नियमन र सुपरिवेक्षण हुने गरेको छैन । कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेर पछि पूजी बजारमा जतिपनि लगानी गर्न पाउने अवस्था छ । यस्ता कम्पनीमा अदृश्य रुपमा सरकारी अधिकारीहरुको लगानी भएको हुन सक्ने शंका बोर्डको छ । त्यस्ता अधिकारीले सुचनाको दुरुपयोग गरी कारोवार गरिरहेको पनि हुन सक्ने भन्दै बोर्डले अनुसन्धान थालेको हो । इन्भेष्टमेन्ट कम्पनीमा लगानीकर्ताले आफ्नो आम्दानीको स्रोत देखाउनु पर्दैन । यही सुविधा प्रयोग गर्दै केही शंकास्पद लगानी पनि भएको हुन सक्ने शंका बोर्डले गरेको छ । इन्भेष्टमेन्ट कम्पनीको नाममा पूजी बजारमा बर्सेनि अर्बाै रुपैयाँ बराबरको कारोवार हुने गरेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । अहिले अदृश्य रुपमा बैंक तथा वित्तीय संस्थाले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने र त्यसै मार्फत पूजी बजारमा लगानी गर्ने गरेको शंका बोर्डको छ । यस्तै अधिकांश सहकारी संस्थाहरुले पनि इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर त्यसै मार्फत सेयर कारोवार गर्ने गरेका छन् । जलविद्युत आयोजना निर्माताले पनि इन्भेष्टमेन्ट कम्पनी मार्फत सेयर बजारमा कारोवार गर्ने गरेका नेप्सेको भनाइ छ ।

इन्भेष्टमेन्ट बैंकले स्टान्डर्ड चार्टर्ड बैंक एक्वायर गर्ने ?

काठमाडौं, ५ फागुन । मंसिर २१ गते बसेको स्टान्डर्ड चार्टर्ड बैंक नेपालको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २७ दशमलव ११ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । सो निर्णय नेपाल स्टक एक्सचेन्ज मार्फत सार्वजनिक भयो । बैंकले सो निर्णयबारे पत्रिकामा सूचना प्रकाशित गरेर सेयरधनीलाई जानकारी पनि गरायो । सो निर्णय कार्यान्वयन हुन सकेन । नेपाल राष्ट्र बैंकले स्टान्डर्ड चार्टर्डको प्रस्ताव अस्वीकार गरिदियो । राष्ट्र बैंकको असहमति पछि बैंकको साधारणसभा पनि हुन सकेको छैन । सेयरधनीले लाभांश पाउन पनि सकेका छैनन् । अब बैंकको साधारणसभा कहिले हुन्छ ? ‘बैंकको एकाउन्ट (वित्तीय रिर्पोट) राष्ट्र बैंकबाट स्वीकृतिको प्रक्रियामा छ, राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाको मिति तोकिने छ,’ स्टान्डर्ड चार्टर्ड बैंक नेपालका प्रवक्ता दिवाकर पौडेल भन्छन् । राष्ट्र बैंकले २०७४ को असार मसान्तसम्ममा बाणिज्य बैंकहरुको चुक्ता पूँजी कम्तिमा पनि ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । आफूले निर्धारण गरे अनुसारको पूजी नपुग्दासम्म राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेको छ । यसैकारण स्टान्डर्ड चार्टर्डको नगद लाभांश वितरण रोकिएको राष्ट्र बैंक स्रोतले बतायो । बैंक संचलक समितिको प्रस्ताब अनुसार राष्ट्र बैंकले स्वीकृति नदिए पछि स्टान्डर्ड चार्टर्ड बैंक नेपालले असजिलो महसुश गरिरहेको छ । स्टान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतले नेपालमा व्यवसाय गर्न कठिन हुन लागेको आफ्ना व्यबसायिक मित्रहरुसँग बताउन थालेका छन् । नेपाल राष्ट्र बैंकका अधिकारी पनि स्टान्डर्ड चार्टर्ड बैंक नेपालको सम्बन्धमा केही समस्या आएको बताउन थालेका छन् । ‘विगतमा स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल राष्ट्र बैंकबीच असाध्यै राम्रो सम्बन्ध थियो, पर्याप्त समन्वयको अभावमा अहिले केही समस्या देखिएको छ,’ राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको भनाइ छ । तर राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंगेनीले केन्द्रीय बैंक र स्ट्याण्डर्ड चार्टर्डबीच सम्बन्ध राम्रो भएको बताए । नेपाल छोड्ने चर्चा यसैबीच स्टान्डर्ड चार्टर्ड बैंकले नेपाल छोड्न लागेको हो कि भन्ने शंका र अनुमान धेरैले गर्न लागेका छन् । तर आधिकारिक रुपमा बैंक वा नेपाल राष्ट्र बैंकका अधिकारीले यसबारेमा कुनै जानकारी दिएका छैनन् । गत सोमवार एउटा औपचारिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पछिल्लो समयमा लगानीको बातावरण बिग्रिएको र स्टान्डर्ड चार्टर्ड बैंकले नेपाल छोड्न लागेको बताएका थिए । यूनियन हाउसमा आयोजित एक समारोहमा उनले उक्त भनाई राखेका हुन् । आयोगको उपाध्यक्षसमेत भइसकेको व्यक्तिले विना सूचना हचुवाको भरमा सार्वजनिक कार्यक्रममा पक्कै यस्तो अभिब्यक्ति दिएनन् । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा र सरकारको नियामक निकायमा बसेका अधिकारीहरु पनि अनौपचारिक कुराकानीमा स्टान्डर्ड चार्टर्डले नेपाल छोड्न लागेका बताउन थालेका छन् । औपचारिक रुपमा यो कुरा भन्न कोही पनि तयार छैनन् । के स्टान्डर्ड चार्टर्ड बैंकले नेपाल छोड्नै लागेको हो ? शंका गर्नेहरुले निम्न विषयहरुलाई आधार बनाएका छन् । पुँजी वृद्धिमा असहमति २०७१ साल असारमा बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृतले तत्कालिन गभर्नर डा. युवराज खतिवडालाई भेटेर बैंक तथा वित्तीय संस्थाको पूजी बृद्धि योजना नल्याउन सुझाव दिए । सो समयमा राष्ट्र बैंकले बाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पूजी कम्तिमा ५ अर्ब रुपैयाँ बनाउने गरी छलफल चलाएको थियो । सोही आर्थिक वर्षको मौद्रिक नीति मार्फत पूँजी बृद्धिको योजना ल्याउने तयारी राष्ट्र बैंकको थियो । तत्कालिन प्रमुख कार्यकारी अधिकृतले गभर्नर डा. खतिवडालाई भेटेर पूजी बृद्धिको योजना ल्याउने हो भने आफ्नो बैंक नेपाल छाड्न सक्ने जनाउ दिएका थिए । स्टान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृतको यस्तो भनाईपछि राष्ट्र बैंकले अर्थविद्हरुसँग समेत यस विषयमा अनौपचारिक छलफल गरेको थियो । सो छलफलमा अर्थविद्हरुले नेपालमा विदेशी लगानी भित्र्याउनु पर्ने आवश्यकता रहेको र विदेशी लगानीकर्ताले लगानी गर्ने देशमा मल्टिनेसनल बैंक छ कि छैन भनेर हेर्ने हुनाले स्टान्डर्ड चार्टर्डलाई फर्कन दिदा नराम्रो सन्देश प्रवाह हुने धारणा राखेका थिए । अर्थविद्हरुको यस्तो सुझावका कारण सो आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूजी बृद्धिको योजना रोकिएको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीति आउनुपूर्व पुँजीवृद्धिको वहस भएन । गभर्नर पनि परिवर्तन भएका थिए । अचानक न्यूनतम पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने नीति आयो । पुँजीवृद्धि योजना पेश गर्न र सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दियो । तर स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुँजी वृद्धि कार्यतालिका पेश गरेन र सार्वजनिक भएको पनि छैन । यद्यपि तोकिएको समयमा पुँजी वृद्धि गर्ने लिखित प्रतिवद्धता पत्र राष्ट्र बैंकमा पेश गरिएको छ । ‘प्रतिष्ठित र अन्तराष्ट्रिय बैंकले सन् २०१७ सम्ममा राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउछौं भनेर प्रतिवद्धता बुझाईसकेको अवस्थामा शंका गर्नु जरुरी छैन, पुँजी वृद्धि जस्तो महत्वपूर्ण विषयमा घरेलु बैंकले झै छिट्टै निणर्य गर्न यो बैंकलाई सजिलो छैन’ प्रबक्ता पौडेले भने । व्यापार विस्तार नगर्नु करिव ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको सो बैंकले करिव २६ अर्ब रुपैयाँ मात्र कर्जा सापटी प्रवाह गरेको छ । र, १७ अर्ब रुपैयाँ लगानी गरेको छ । कर्जा निक्षेप रेसियो ८० प्रतिशतसम्म गर्न हुने राष्ट्र बैंकको मापदण्ड छ । तर सो बैंक ६० प्रतिशतमा सीमित छ । क्यपिटल एडेक्वसी ११÷१२ प्रतिशतलाई राम्रो मानिन्छ । यो बैंकसँग १५ प्रतिशत छ । यसको अर्थ हो बैंकसँग लगानी गर्ने सामथ्र्य भएर पनि लगानी गरिरहेको छैन । लगानीको वातावरण नभएको, पुँजी वृद्धिले लगानीको प्रतिफल घट्ने र पुँजी वृद्धि लगानीको वातावरणसँग सापेक्षित रुपमा हेर्नु पर्ने बैंकको दावी छ । साथै, विगत केही वर्षयता स्टान्डर्ड चार्टर्ड बैंकले व्यवसाय विस्तारलाई त्यति ध्यान दिएको छैन । शाखा विस्तार रोकिएको छ । केही शाखा नजिकको शाखामा विलय गराइदै शाखा संजाल कम गरिदै आएको छ । पोखरा र मकवानपूरका शाखा नजिकको शाखामा विलय गराइएको छ । पछिल्लो समयमा बैंकले अचल सम्पत्ति बिक्रीलाई जोड दिएको छ । बैंकले केही समय अगाडि पोखरा, झापा, हेटौडालगायतका ठाउमा रहेको जग्गा बिक्री गरिसकेको छ । इन्भेष्टमेन्ट बैंकले एक्वायर गर्ने चर्चा स्टान्डर्ड चार्टर्ड बैंकले नेपाल छोड्ने अवस्था आए सो बैंकलाई नेपाल इन्भेन्टमेन्ट बैंकले एक्वाएर गर्ने अनुमान धेरैले गरेका छन् । ‘स्टान्डर्ड चार्टर्ड बैंक खरिद गर्ने पृथ्वीबहादुर पाण्डेको पुरानो सपना हो, यसअघि नै इन्भेष्टमेन्ट बैंकले स्टान्डर्ड चार्टर्ड बैंक खरिद गर्ने प्रयत्न गरेको थियो, तर नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. खतिवडा र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेबीच राम्रो सम्बन्ध नभएको कारण सम्भब भएन, अब राष्ट्र बैंकको नेतृत्व पनि परिवर्तन भएको र स्टान्डर्ड चार्टर्डले पनि बाहिरिन चाहेका कारण सम्भब हुन सक्छ,’ एक जना पुराना बैंकर्स भन्छन् । इन्भेष्टमेन्ट बैंकले केही दिन अगाडि मात्रै एफपिओको आव्हान पत्र सार्वजनिक गरेको छ । सो आव्हान पत्रमा बैंकको रिजर्भ (संचित कोष) बढाएर २२ अर्ब रुपैयाँ पुर्याउने घोषणा गरिएको छ । आफ्नो रिजर्भ बढाएर त्यही रिजर्भले स्टान्डर्ड चार्टर्ड बैंक नेपाल खरिद गर्ने तयारी इन्भेष्टमेन्ट बैंकको रहेको अनुमान गरिएको छ । तर पाँच वर्षपछि मात्र २२ अर्ब संचित कोष पुर्याउने योजना सार्वजनिक भएको र २२ अर्बले पनि स्ट्याण्डड चार्टर्ड बैंकको ७५ प्रतिशत सेयर खरिद गर्न नपुग्ने अनुमान गरिएको छ । स्ट्याण्डड चार्टर्ड बैंकमा विदेशी लगानी ७५ प्रतिशत छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २६ सयको हाराहारीमा छ । प्रमोटर सेयर प्रतिकित्ता १८ सयमा कारोबार भएको अवस्थमा कम्तिमा ३० अर्ब रुपैयाँ आवश्यक पर्नेछ ।