शिखर इन्स्योरेन्सले ६० प्रतिशत बोनस सेयर दिने, एक वर्षमा लगानीकर्ताले पाए चार गुणा फाइदा

काठमाडौं, १७ असोज । शिखर ईन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । गत आर्थिक वर्षको नाफामा सेयर प्रिमियम कोषका रकम समेत थप गरि ६० प्रतिशत बोनस सेयर दिने निर्णय भएको कम्पनीका अध्यक्ष विकास राणाले जानकारी दिए । साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले नगद लाभांश समेत प्रस्ताव गरेको छ । निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्सले दिने लाभांश सबैभन्दा बढी हुने प्रष्ट देखिएको छ । सञ्चालक समितिको प्रस्ताव र वार्षिक प्रतिवेदन स्वीकृतका लागि बीमा समितिमा पठाउने र समितिबाट स्वीकृत भएपछि साधारणसभामा जाने अध्यक्ष राणाले बताए । ५० करोड ९८ लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको ६० प्रतिशत बोनस बितरण पश्चात चुक्ता पूँजी ८१ करोड ५८ लाख रुपैंया पुग्नेछ । सेयर पुँजी, नाफा, प्रिमियम रकम, कम्पनीको सेयर मूल्य लगायत धेरै परिसूचकमा शिखर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीमा सबैभन्दा अगाडि छ । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३१ करोड २ लाख ६८ हजार रुपैंया खुद नाफा कमाएको थियो । कम्पनीको सेयर सोमबार प्रतिकित्ता ३८८६ रुपैयाँमा कारोबार भएको छ । एक वर्षअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५१ रुपैयाँ थियो । एक वर्ष अघि यस कम्पनीको सेयरमा लगानी गर्नेले करिब चार गुणा फाइदा गरेका छन् ।

ज्योति विकास बैंकमा ५ सय भाडाका प्रमोटर, अपारदर्शी रुपमा सेयर कारोवार गर्ने तयारी

काठमाडौं, १७ असोज । ज्योति विकास बैंकको प्रमोटर सेयरको कारोवार अपारदर्शी ढंगले गर्ने प्रयास गरिएको छ । केही प्रमोटरले आफ्नो नाममा भएको प्रमोटर सेयर विक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सुचना प्रकाशित गरेपनि पहिला नै तय भएका प्रमोटर वाहेकका ब्यक्तिलाई सो सेयर विक्री गर्ने प्रयोजनको लागि सुचना प्रकाशित गरेको स्रोतले जानकारी दिएको छ । बैंकले सार्वजनिक सुचना प्रकाशित गरेर केही प्रमोटरले प्रमोटर सेयर विक्री गर्न लागेको जानकारी दिएको छ । यस्तो सेयर प्रमोटरलाई नै विक्री गर्ने र प्रमोटरले खरिद नगरेको अवस्थामा सर्वसाधारणलाई विक्री गर्ने गरी सुचना प्रकाशित गरिएको छ । यस्तो सुचना प्रकाशित गरिए पनि बैंक भित्र अर्कै तयारी भएको स्रोतले जानकारी दिएको छ । बैंक स्थापना गर्दा नेपाल विद्युत प्राधिकरणका ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ को प्रमाणपत्र बुझाउन नसकेपछि भाडाका प्रमोटर राखिएको र अहिले तिनै वास्तविक प्रमोटरलाई सेयर नामसारी गर्ने प्रयोजनले यस्तो सुचना प्रकाशित गरिएको स्रोतले जानकारी दियो । बैंकले प्रकाशित गरेको सार्वजनिक सुचना । ‘बैंक स्थापना हुदा प्राधिकरणका करिब ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ प्रमाणपत्र दिन नसकेका कारण प्रमोटर बन्न सक्नु भएको थिएन, अहिले उहाँहरुले यस्तो प्रमाण ल्याउनु भएको छ, अब वास्तविक लगानीकर्ताको नाममा सेयर नामसारी गर्ने प्रयोजनको लागि यो सुचना प्रकाशित गरिएको हो,’ बैंकस्रोतले विकासन्युजसँग भन्यो । यो सुचना प्रक्रिया पुर्याउनको लागि मात्र भएको पनि स्रोतको दाबी छ । ज्योति विकास बैंकमा प्राधिकरणका १ हजार ७ सय कर्मचारी प्रमोटर सेयरधनी रहेका छन् । तर ५ सय कर्मचारीले ट्याक्स क्लियरेन्सको प्रमाणपत्र पेश गर्न नसकेपछि यस्तो प्रमाण भएका ब्यक्तिको नाममा सेयर हालेको र सो सेयर पछि प्रक्रिया पूरा गरेर जसले पैसा हालेको हो उसैको नाममा नामसारी गरिदिने आन्तरिक कागज पनि गरिएको स्रोतको भनाइ छ । पहिलाको यही सहमति कार्यान्वयन गर्ने गराउने गरी बैंक संचालक समितिले सुचना प्रकाशित गर्ने निर्णय गरेको हो । अहिलेसम्म करिब १२ जना प्रमोटरले सेयर विक्री गर्ने सुचना बैंकलाई दिइसकेका छन् । बैंक स्रोतका अनुसार करिब १ लाख कित्ता प्रमोटर सेयरको भाडाका प्रमोटर रहेका छन् । यी सवै सेयर पालैपाले नामसारी गरिसक्ने गरी प्रक्रिया अगाडि बढाइएको स्रोतको भनाइ छ ।

एक अर्ब लगानीमा अल्टिच्यूट हेलिकोप्टर कम्पनी, एउटा हेलिकोप्टर दसैंलाई नै उडाउने तयारी

काठमाडौं १७, असोज । नेपाली आकाशमा नयाँ हेलिकोप्टर कम्पनी थप भएको छ । एएस ३५० बी ३ ई नामको एक हेलिकोप्टरसहति अल्टिच्यूट एयर हेलिकोप्टरले यही दसैंदेखि सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको जानकारी दिएको छ । विभिन्न ६ जना पर्यटन व्यवसायीको संयुक्त लगानीमा स्थापना भएको यो अल्टिच्युट एयर नामक हेलिकोप्टरले ६ सिट क्षमताको एउटा सानो हेलिकोप्टर भित्र्याइसकेको छ । दुई साता अगाडि काठमाडौं आएको यो हेलिकोप्टरले नेपालको हवाइ क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउने चरणमा रहेको छ । हेलिकोप्टर कम्पनीका प्रवन्ध निर्देशक निमानुरु शेर्पाका अनुसार आवश्यक सबै प्रकृया पूरा गरेकोले दसैंलाई उडान सुरु गर्ने भएको छ । चोयू टे«किङका प्रवन्ध निर्देशकसमेत रहेको शेर्पासँगे नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा टे«किङका व्यवसायी फूर्वा ग्याल्जेन शेर्पा, सोनाम शेर्पा, जीवन घिमिरे, राम सापककोटा र टी लामाको संयुक्त लगानी रहेको छ । सबै लगानीकर्ता पर्यटन व्यवसायी तथा टे«किङ क्षेत्रका अब्बल व्यवसायी हुन । यो हेलिकोप्टर उच्च हिमाली क्षेत्रमा पुगेर उद्धार गर्न सक्ने क्षमताको यो हेलिकोप्टर नेपालको भौगोलीक परिवेश अनुसार अनकुल भएको पनि निमानुरु शेर्पाले बताए । यो कम्पनीले एउटा एयरवस हेलिकोप्टरको नयाँ हेलिकोप्टर खरीद गरेर यो कम्पनीले सेवा सुरु गर्ने अन्तिम तयारी पनि गरिरहेको छ । नेपाली आकाशमा यो साताबाट नै व्यवसायीक उडान सुरु गरेको यो हेलिकोप्टर कम्पनीले गत साता एसएस ३५० बी थ्री ई नामक ६ सिट क्षमताको हेलिकोप्टर भित्र्याएको छ । करीब २५ करोड रुपैयाँ लगानी भएको यो हेलिकोप्टरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमतिपत्र (एओसी) लिनको लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पर्यटन व्यवसायी शेपाको अनुसार यो हेलिकोप्टर कम्पनीले आगामी चारवर्ष भित्रमा चारवटा हेलिकोप्टर पु¥याउँने भएको छ । कम्पनीले आगामी ६ महिना भित्रमै अर्को एक हेलिकोप्टर थप गर्ने जानकारी शेर्पाले दिए । चार वटा हेलिकोप्टरको मात्रै एक अर्ब लगानी गर्ने भएकोले चार वर्ष भित्रमा कम्पनीले एक अर्ब हेलिकोप्टर भित्र्याउने भएको छ । कम्पनीले अहिले नै हेलिकोप्टरका लागि २५ करो खर्च गरिसकेको जानकारी दिएको छ । यो कम्पनी नेपाली आकाशमा हेलिकोप्टर संचालन गर्न तयारी गरेको नेपालकै पछिल्लो वायुसेवा कम्पनी हो । यो कम्पनीले फिस्टेल, मनाङ, सिम्रिक, श्री, माउन्टेन हेलि, एयर डाइनेस्टि हेलिकोप्टर सरहकै जहाज संचालन गर्ने भएको छ । हाल नेपली आकासमा विभिन्न सात वटा हेलिकोप्टरले सेवा दिइरहेका छन् ।