दशैंमा दरबारमार्ग सुनसान, भाटभटेनीको व्यापार फस्टायो
काठमाडौं । नवरात्री सुरु भएको झण्डै एक साता बितिसक्यो । तर दरबारमार्गका पसलहरु सुनसान छन् । देशको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र दरबारमार्गमा पर्यटकको समेत चहलपहल छैन । आपूर्ति मन्त्रालयको अनुगमनपछि दरबारमार्गको कारोबारमा ह्रास आएको व्यवसायी बताउँछन् । दरबारमार्ग विकास बोर्डका अनुसार दरबारमार्गमा करिब दुई सयवटा पसलहरु छन् । आपूर्ति मन्त्रालयले दुई साता अघि गरेको अनुगमनका क्रममा ठगी गरेको पाइएपछि केही पसलहरु सिल गरिदिएपछि विरोध गर्दै दरबारमार्गका सबै पसलहरु बन्द भएका थिए । सिलबन्दीको विरोधमा नौ वटा पसलका व्यवसायीले पसल बन्द गरेका थिए । बढी नाफा लिएर सामान बिक्री गरेको पाएपछि दरबारमार्गका नाइक,वेन्टले, स्टोर वान र पुमाको ब्राण्डेड पसलमा सिलबन्दी गरिएको थियो । बिलविजकमा १० गुणासम्म नाफा लिएको तथा नाइकले २ हजार ६ सयमा ल्याएको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो । दैनिक झण्डै १ करोड रुपैयाँ बराबर कारोबार रहेको दरबारमार्गमा अहिले व्यापार घटेको बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जानकारी दिए । उनका अनुसार नियमितको तुलनामा दसैंमा कारोबार तीन गुणाले बढ्ने गरेको थियो । यसपाली दसैंमा मुश्किलले दैनिक एक करोड कारोबार भइरहेको उनले जानकारी दिए । अनुगमनपछि उपभोक्ताले दरबारमार्गका व्यवसायीलाई ’ठग’को रुपमा बुझ्न थालेको उनले बताए । उनले भने, ’सरकारले अनुगमन गरेर सिलबन्दी गरेपछि दरबारमार्गललाई ठगी गर्ने अड्डाको दृष्टिकोणबाट हेरिएको छ । अहिले दरबारमार्गमा कारोबार सुकेको छ ।’ फस्टायो भाटभटेनी उच्चवर्गका उपभोक्ताको प्रमुख बजारमध्ये भाटभटेनी सुपरमार्केटमा भीडभाड बढेको छ । भाटभटेनीमा पछिल्लो दसैंको तुलनामा यसपाली १० प्रतिशतले व्यापार बढेको सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जानकारी दिए । उनले भने, ’किराना पसलभन्दा पनि सस्तो मूल्यमा सामान खरिद गर्न पाउने भएकाले भाटभटेनीमा उपभोक्ताको आकर्षण बढ्दो छ ।’ भाटभटेनीमा सामान्यभन्दा दसैंमा तुलनात्मक रुपमा ३० देखि ३५ प्रतिशतले कारोबार बढ्ने गरेको पौडेलले बताए । ब्राण्डेड सामान पनि सस्तो मूल्यमा पाइने भएकाले उपभोक्ताको बाक्लो भीड लागेको उनले बताए । दसैंका अवसरमा भाटभटेनीले सामानहरुमा आक्रमक योजना ल्याएको छ । भाटभटेनीमा सामान खरिद गर्दा ५ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको पौडेलले बताए । भृकुटीमण्डपमा पनि गत बर्षहरुको तुलनामा उपभोक्ताको भिड र व्यापार दुबै बढेको व्यवसायीहरुले बताएका छन् । दरबारमार्गमा यसपाली सेलमेलाको आकर्षण घटेको र सटरहरुकै व्यापार पनि भृकुटीमण्डप सरेको व्यवसायी एककृष्ण पौडेलले बताए । उपभोक्तामा दरबारमार्ग र भृकुटीमण्डप लगायतका बजारमा पाइने समान उस्तै हुन भन्ने सन्देश गएकाले व्यापार बढेको उनले बताए ।
३० बर्षे कार्यकाल हटाउने राष्ट्र बैंकको निर्णय, कर्मचारीको वृद्धि विकास अध्ययन गर्न सुझाव समिति
काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको ३० बर्षे कार्यकाल सिमा हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० बर्षे कार्यकाल सिमा हटाउने निर्णय गरेको हो । ‘३० बर्षे कार्यकालको व्यवस्था हटाउने निर्णय सञ्चालक समितिले गरेको छ र लोक सेवा आयोगसँग रायसुझाव मागिएको छ’, राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने । ३० बर्षे कार्यकालको सिमा हटाउन नहुने पक्षमा रहेका कर्मचारी युनियनहरुको मागको सुनुवाई गर्न बैठकले सञ्चालक रामजी रेग्मीको नेतृत्वमा दुई जना डेपुटी गभर्नर र प्रवक्ता नारायण पौडेल सदस्य रहेको समिति समेत गठन गरेको छ । ३० बर्ष उमेर हद हटाउँदा कर्मचारीको वृद्धि विकासमा पर्ने असरको न्युनिकरणका लागि अध्ययन गर्न गठित समिति नाम दिइएको उक्त समितिले राष्ट्र बैंकको संघिय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ । राष्ट्र बैंकको संरचनालाई संघियता अनुसार परिमार्जन गरेर पनि कर्मचारीहरुको वृद्धि विकासमा असर पर्न नदिने योजनासहित ३० बर्षे कार्यकालको सिमा हटाइएको सहायक प्रवक्ता पण्डितले बताए । कर्मचारी आन्दोलनमा काँग्रेस निकट कर्मचारी युनियनका महासचिव राजिव रेग्मीले ३० बर्षे कार्यकाल हटाउन नहुने पक्षमा आफ्नो संगठन उभिएको बताए । ‘हाम्रो संगठनले ३० बर्षे कार्यकाल हटाउन नहुने स्पष्ट निर्णय गरेको छ, व्यवस्थापनले जबरजस्ती गरेको छ, त्यसकारण हामीले आन्दोलन सुरु गरेका छौंं’, महासचिव रेग्मीले भने । उनले सञ्चालक समिति मात्रै राष्ट्र बैंक हो भन्ने मान्यता नत्यागे गम्भिर परिणाम आउने चेतावनी पनि दिए । एमाले निकट कर्मचारी युनियनले पनि मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।
युनाईटेड इन्स्योरेन्सका सेयरधनीले २२ प्रतिशत लगानी गुमाए, नेप्से ८ अंकले बढ्दा युनाईटेडले २५ रुपैयाँले गुमायाे
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले तीन महिनाको अन्तरालमा प्रतिसेयर करिब चार सय रुपैयाँ गुमाएका छन् । गत साउन ११ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६६६ रुपैयाँ रहेको थियो । सोमबार यस कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता १२९५ रुपैयाँमा कारोबार भयो । यस कम्पनीका लगानीकर्ताले ३ महिनामा २२ प्रतिशतभन्दा बढी गुमाई सकेका छन् । यस कम्पनीको सेयर मूल्य अझै घट्ने संकेत देखिएको छ । सोमबार नेप्से परिसूचक ८.५२ अंकले वृद्धि हुँदा युनाईटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँले घटेको छ । यस कम्पनीको प्रवद्र्धक चौधरी ग्रुपमा अन्तरगत रहेको हाउजिङ कम्पनी ‘सिटीस्केप’मा भूकम्पले क्षति पुर्याएपछि उक्त कम्पनीले ५४ करोड ३७ लाख ५१ हजार २ सय ८८ रुपैंयाँ दावी गरेको छ । तर रि इन्स्योरेन्स कम्पनीले १५ करोड २७ लाख ४८ हजार ७ सय ९९ रुपैंयाँ मात्रै भुक्तानी दिँदा कम्पनीको वित्तीय अवस्था नराम्ररी विग्रिएको छ । यस कम्पनीले २०७३ असार मसान्तमा अपरिकृत प्रतिवेदन प्रकाशित गर्दा सो आर्थिक वर्षमा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा भएको र जगेडा कोषमा १५ करोड २३ लाख रुपैयाँ रहेको देखाएको थियो । तर पुर्नबीमाबाट भुक्तानी नआएपछि बीमा समितिको निर्देशन अनुसार ४४ करोड ९६ लाख ५८ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ । कम्पनीले बीमा समितिमा स्वीकृतिको लागि पठाएको आर्थिक प्रतिवेदनमा कम्पनी २५ करोड रुपैयाँ नोक्सानमा गएको उल्लेख छ । २०७३ असार मसान्तसम्ममा यस कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ हो । कम्पनीको नोक्सानी चुक्ता पुँजीभन्दा बढी देखिएकोले यस कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७२/७३ नाफाबाट १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेर सेयर मूल्य १६६६ रुपैयाँ पुर्याउन मद्दत गरेको थियो । तर बीमा समितिले सो कम्पनीको आर्थिक प्रतिवेदन अस्वीकृत गर्दै करिव ४५ करोड रुपैयाँ प्रोभिजन गर्न निर्देशन दिएपछि कम्पनीले प्रस्ताव गरेको बोनस सेयर पनि रद्द भएको छ ।