तरलता कम भएपछि वाणिज्य बैंकले उठाए११ अर्ब , राष्ट्र बैंकले बुधबार १० अर्ब बजारमा पठाउदै

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि बाणिज्य बैंकहरुले मंगलबार नेपाल राष्ट्र बैंकबाट ११ अर्ब रुपैयाँ उठाएका छन् । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदर सीमा नाघेपछि राष्ट्र बैंकले मंगलबार हस्तक्षेप गरी रिपो वित्तीय उपकरणमार्फत बजारमा १० अर्ब रुपैयाँ पठाएको थियो । १० अर्ब रुपैयाँको रिपो निष्कासन गर्दा ९ वाणिज्य बैंकले ११ अर्ब रुपैया उठाएका हुन् । बैंकले माग भन्दा बढी रकम उठाएपछि राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँको रिपो ल्याउदै छ । बजारमा तरतलाको अभाव देखिएको निश्कर्ष राष्ट्र बैंकका छ । बजारमा अझै पनि १६ अर्ब तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलतामा कमी आई तत्काल समस्या समधान गर्न १० अर्ब रुपैयाँ रकम बजारमा पठाएको हो । १४ दिन अवधिको रिपोको ब्याज दर ५ प्रतिशत छ । रिपोको रकम मंसिर २६ गते फिर्ता हुने केन्द्रीय बैंकले जनाएको छ । ब्याजदर करिडोर नीतिअन्र्तगत राष्ट्र बैंकले बजारमा तरलताको अभाव हुदा ५ प्रतिशत ब्याजदरमा पैसा बजारमा पठाउने र बैकिङ प्रणालीमा तरलता बढी हुदा ३ प्रतिशत ब्याजदरमा रिभर्स रिपोमार्फत बजारबाट पैसा उठाउने गरेको छ ।  

हकप्रदको हल्लाले चिलिमेको सेयर सबैभन्दा बढी कारोबार, सञ्चालक भन्छन्-तत्काल आउँदैन

काठमाडौं । पछिल्लो समयमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कारोबार वृद्धिसंगै सेयर मूल्य पनि निरन्तर उकालो लागेको छ । गत कात्तिक १५ गते प्रतिकित्ता ७६६ रुपैयाँ रहेको चिलिमेको सेयर झण्डै एक महिना अन्तरालमा बढेर लगानीकर्ताले प्रतिसेयर १९४ रुपैयाँ कमाएका छन् । मंगलबार मात्र चिलिमेको सेयर २१ रुपैयाँले बढेर बढ्दा ४ करोड २३ लाख ३३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । चिलिमेले हकप्रद सेयर ल्याउने हल्ला चलेपछि पछिल्लो समयमा कारोबार बढेको कालिका सेक्युरिटिजका प्रवन्ध निर्देशक नरेन्द्र सिजापति बताउँछन् । “केही सातायता चिलिमेले हकप्रद सेयर निष्कासन गर्ने हल्ला चलेपछि सेयरको मूल्यका साथै सबैभन्दा बढी कारोबार हुन थालेको छ” उनले भने “ अहिलेको अवस्थमा चिलिमेले हकप्रद ल्याउने संभावना म देख्दिन् ।” म्युचल फण्डले चिलिमेको सेयर किनेकाले पनि बजार बढेको हुन सक्ने उनको अनुमान छ । चिलिमेबाट प्राप्त हुने प्रतिफल निश्चित र आकर्षक भएकाले म्युचल फण्डको लगानी यता भएको उनको भनाई छ । चिलिमेका प्रवन्ध सञ्चालक दामोदरभक्त श्रेष्ठ हकप्रद सेयर निष्कासनको कुनै योजना नरहेको बताउछन् । विकास न्युजसंग कुरा गर्दै उनले भने “तत्काल लगानी गर्न नयाँ आयोजना तयार नभएकाले हकप्रद सेयर निष्कासन गरेर पुँजी संकलन गर्ने योजना छैन ।” चिलिमेले हालै दुई वटा आयोजनाको सर्वेक्षण अनुमति पत्र(लाइसेन्स) लिएको छ । तर ती आयोजनाको अध्ययन गरेर निर्माणको चरणमा पुग्न केही समय लाग्ने भएकाले तत्काल हकप्रद सेयर जारी गर्ने सोँच नबनेको उनको भनाई छ । चिलिमेले आउँदो ५ वर्षपछि वार्षिक १ अर्ब रुपैयाँ बढी लाभाँश सहायक कम्पनीबाट पाउने उनले बताए । आगामी वर्षदेखि कम्पनीको संचित कोषमा रहेको साढे ५ अर्ब रुपैयाँ सेयरधनीलाई वितरण गर्ने उनले सुनाए । चिलिमेले आगामी वर्षदेखि वार्षिक २० प्रतिशत आयकर (कर्पोरेट ट्याक्स) तिर्नुपर्ने भएपछि नाफामा भने कमी आउने छ ।

चुनाव लगत्तै तराईका बाढी पीडितलाई एकमुष्ठ २५ हजार राहत

काठमाडौं । सरकारले आगामी मंसिर २१ गतेको निर्वाचन लगत्तै तराईका ४१ हजार ६ सय २६ बाढी पीडित परिवारलाई एक अर्ब ४० करोड ६५ हजार रुपैंयाँ वितरण गर्ने भएको छ । सरकारले तराईका बाढी पीडितलाई तत्कालिन राहत स्वरुप १५ हजार र जाडोमा न्यानो कपडा खरिदका लागि थप १० हजार रुपैंयाँ उपलब्ध गराउन लागेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढी पीडितलाई राहतको १५ हजार र न्यानो कपडा खरिद गर्न थप १० हजार रुपैंयाँ एकमुष्ठ उपलब्ध गराउनेछ । ‘मन्त्रि परिषदले प्राधिकरणको अगुवाईमा रकम वितरण गर्ने भनेको छ, हामीले बजेटका लागि अर्थ मन्त्रालयमा लेखि पठाएका छौं, निर्वाचन लगत्तै वितरण आरम्भ हुन्छ’, प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने । गत साउनको बाढी तथा डुबानका कारण ४१ हजार ६ सय २६ परिवार पुर्णरुपले विस्थापित भएका थिए भने १८ जिल्लाका १ सय ३४ को मृत्यु भएको थियो । गत कात्तिक ६ गतेको मन्त्रिपरिषद बैठकले बाढी तथा डुवान प्रभावित क्षेत्रमा पुनस्र्थापना तथा पुनर्निर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनर्निर्माणको समन्वय गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने गरी बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना गठन गरेको थियो । अब सोही समितिले चुनावपछि बाढी तथा डुबान पीडितलाई राहत तथा न्यानो कपडाका लागि रकम उपलब्ध गराउनेछ । बाढीले आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको थियो । बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले देखाएको थियो ।