एनसीसी बैंकको संस्थापक सेयर सस्तोमा लिन संचय कोषको मोलमोलार्इ, प्रतिकित्ता १५४ प्रस्ताव

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ७० लाख कित्ता संस्थापक (प्रमोटर) सेयर खरिदका लागि कर्मचारी संचय कोषले मोलमोलाइ (बार्गिनिङ) गर्न थालेको छ । संचय कोषले एनसीसीको बुक भ्यालु प्रतिकित्ता १५४ रुपैयाँमा सेयर किन्ने प्रस्ताव गरेको छ । यो बुकभ्यालु गत असारसम्मको हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको बुकभ्यालु बढेर प्रतिकित्ता १६२ रुपैयाँ पुगेको छ । बैंकले नाफा ४ सय प्रतिशत बढाएपछि बुकभ्यालु बढेको हो । बैंकबाट लिएको ऋण तिर्नका लागि एनबी समूहले संस्थापक सेयर बिक्री गर्न लागेको हो । बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता २१० रुपैयाँ न्युनतम मूल्य राखेर ७० लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको थियो । प्रतिकित्ता २१० रुपैयाँमा ७० लाख कित्ता सेयरको मूल्य १ अर्ब ४७ करोड रुपैयाँ हुन आउछ । संचय कोषले प्रस्ताव गरेको दरमा एनबी समूहको कर्जा तिर्नलाई रकम पुग्दैन् । एनबी समूहले हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेडको नाममा लिएको ऋणको सावाँ र ब्याज गरी ९० करोड रुपैयाँ र अन्य बैंकको ६० करोड रुपैयाँ कर्जा रहेको छ । नागरिक लगानी कोषले बैंकको संस्थापक सेयर खरिदका लागि कुरा गरेकोमा संचय कोषले अझ घट्ने भन्दै उसलाई किन्नलाई रोकेको छ । संचय कोषले अहिले बार्गिनिङ गरेर बुकभ्यालुमै एनसीसीको संस्थापक सेयर हत्याउन लागेको हो । यसअघि संचय कोषले १५८ रुपैयाँ बुकभ्यालु भएको बैंक अफ काठमाण्डु लिमिटेडको ६२ लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता २५१ रुपैयाँमा खरिद गरेको थियो । तर कोषले अहिले बुकभ्यालुमा सेयर दिन माग गरिरहेको छ । आवेदन नपरेपछि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले फागुन ३० गतेसम्म संस्थापक सेयर खरिदका लागि म्याद थप गरेको छ ।एनसीसीको ५० प्रतिशत हकप्रद सेयर आउन बाँकी छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । हालसम्म व्यक्ति तथा संस्था कसैको पनि आवेदन नपरेको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । संचय कोष, लगानी कोष र एक बैंककरले खरिदका लागि चासो देखाएको उनले बताए । यसअघि सीबीआईएलले संस्थापक सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन ३ लाई तोकेको थियो । निर्धारित समयमा कसैको पनि खरिदका लागि आवेदन नपरेपछि म्याद थप गरिएको दाहालको भनाई छ । एनबी समूहले सेयर बिक्री गरेर कर्जा तिर्ने भएपछि चालु आवमा एनसीसीको नाफा बढ्नुका साथै खराब कर्जा पनि घट्ने छ । सबैभन्दा ठुलो कर्जा असुली भएपछि बैंकको नाफा बढ्ने देखिएको हो । यस्तै एनसीसीको नाफा ४०० प्रतिशतले बढेको छ । २०७३ पुस मसान्तमा जम्मा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले २०७४ पुस मसान्तमा २८ करोडले वृद्धि गरेर ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड रूपैयाँको भने राइट ब्याकको हिस्सा रहेको छ । बैंकले ६ महिनामा ५८ अर्ब निक्षेप संकलन गरेर ५१ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ । बैंकले ३ अर्ब ९ करोड रुपैंयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ५१ करोड ब्याज खर्च गरेको देखिन्छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ ।

मेची-महाकाली जोड्ने चौथो विकल्प: १२ सय किलोमिटरको चुरे राजमार्ग

काठमाडौं । पुर्व मेची र पश्चिम महाकालीलाई जोड्ने १२ सय किलोमिटर लामो चुरे राजमार्ग बन्ने भएको छ । हाल १०२८ किलोमिटर लामो मेची महाकाली जोड्ने पुर्व पश्चिम राजमार्ग सञ्चालनमा रहेको छ भने १७७६ किलोमिटर लामो मध्य पहाडी लोकमार्गको निर्माण भैरहेको छ । त्यस्तै, ९४५ किलोमिटर लामो हुलाकी राजमार्गको निर्माण पनि धमाधम अघि बढिरहेको छ । सरकारले मेची-महाकली जोड्ने चौथो विकल्पका  चुरे राजमार्ग निर्माण गर्न लागेको हो । ‘विकास र समृद्धिको लाइफलाइन भनेको सडक नै हो, अब चुरे राजमार्गबाट मेची महाकालीलाई जोडेर नयाँ लाइफलाइन निर्माणको प्रक्रिया अघि बढाउन लागेका छौं’, सडक विभागका प्रवक्ता मुक्ति गौतमले भने । धरान चतरा गाइघाट सिन्धुली हेटौँडा सडकलाई नै चुरे राजमार्गका रुपमा विकास गर्न लागिएको हो । ५० किलोमिटर स्पीड लिमिट कायम गरिएको ३१८ किलोमिटर लामो यो सडक आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न हुँदैछ । त्यस बाहेक धरानदेखि काकडभिट्टासम्मको ९० किलोमिटरको काम पनि अघि बढिसकेको छ । हेटौँडा पश्चिम खण्डका लागि भने सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गराउने प्रक्रिया अघि बढेको छ । ‘३१८ किलोमिटरको काम धमाधम अघि बढेको छ, ९० किलोमिटरमा पनि ट्रयाक खुलिसकेको छ, हेटौँडा पश्चिम खण्डको सम्भाव्यता अध्ययनका लागि आगामी बजेटमा रकम विनियोजन हुनेछ’, सडक विभागका प्रवक्ता गौतमले भने । उनका अनुसार चुरे राजमार्ग दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । मेची महाकाली जोड्ने १२ सय किलोमिटरको चुरे राजमार्गको काम अघि बढेको छ । महेन्द्र राजमार्ग मार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको बिचभागमा निर्माण हुने यो सडकले लाखौं नेपालीलाई सडक सञ्जालमा जोड्ने विभागले दावी गरेको छ । संघिय संरचना कार्यान्वयनमा आएसँगै अब १२ हजार किलोमिटर सडक मात्रै विभागको अख्तियारी क्षेत्रमा परेको छ । बाँकी सडक भने प्रदेश र स्थानीय तहमा गएको छ ।

८ अण्डरराइटरले बुटबल पावर कम्पनीको ५० करोडको एफपीओ किन्नु पर्ने

काठमाडौं । प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ५० करोड रुपैयाँ भन्दा बढीको थप निष्कासन (एफपीओ) किन्नु पर्ने भएको छ । फपीओ बिक्री खुला ३ दिनमात्र बाँकी रहदा अझै ५४ करोड रुपैयाँ बढीको बिक्री हुँन बाँकी भएपछि बाँकी हुने एफपीओ अण्डरराइटरले सकार्नुपर्ने अवस्था देखिएको हो । यद्यपी ३ दिन समय बाँकी रहेकाले सबै बिक्री हुने संभावना पनि छ । हालसम्म बीपीसीको १ अर्ब ५० करोड रुपैयाँको एफपीओ बिक्री भएको बीपीसी वित्त विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले जानकारी दिए । उनकाअनुसार अझै ५४ करोड रुपैयाँको बिक्री हुन बाँकी छ । निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले मंगलबार बैंकिङ समयसम्म मात्र एफपीओका लागि आवेदन दिन सक्ने जानकारी दिएको छ । बिक्री नभएको एफपीओ एनएमबीलगायत लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, ग्लोबल आईएमई सम्मुनत योजना १, नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नविल ब्यालेन्स फण्ड १ र नविल इक्विटी फण्ड गरी ८ संस्थाले खरिद गर्नुपर्ने छ । बीपीसीले प्रिमियम मूल्य ४०१ रुपैयाँ थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा गत माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो ।सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो । संगठित संस्थाले पनि बीपीसीको एफपीओ खरिद गरेनन् । सबैमा १० कित्ताको मनोवैज्ञानिक असर देखिएको एनएमबीले जनाएको छ । झण्डै ८५ हजार भन्दा बढी आवेदन परेपनि १० कित्ता मात्र पर्ने मनोवैज्ञानिक प्रभावले पर्याप्त बिक्री नभएको एनएमबीको भनाई छ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ ।