माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेर ६० अर्ब पुग्यो
काठमाडौं । निर्माणधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेर ६० अर्ब रुपैयाँ पुग्ने भएको छ । विनासकारी भूकम्प, नाकावन्दी र अमेरिकी डलर महंगिएपछि आयोजनाको लागत बढेर ६० अर्ब रुपैयाँ पुग्ने भएको हो । यस्तै आयोजना निर्माण अवधिको ब्याज (आईडीसी) पुँजीकरण गर्दा पनि आयोजनाको लागत बढने भएको हो । आयोजना निर्माणका लागि तामाकोसीले कर्मचारी संचय कोषबाट कर्जा लिएको छ । निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ अनुमानित लागत निर्धारण गरेर आयोजनाको निर्माण सुरु भएको हो । त्यसबेला आईडीसी समेत गरी ४१ अर्ब ६७ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको थियो । भूकम्प, नाकावन्दी र ब्याज पुँजीकरणसमेत गरी आयोजनाको लागत ६० अर्ब रुपैयाँ पुग्ने अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले बताए । भूकम्प र नाकावन्दीले गर्दा आयोजनाको काम झण्डै डेढ वर्ष प्रभावित भएको थियो । यस्तै १ डलर बराबर ८० रुपैयाँ विनिमय हुदा आयोजना निर्माण सुरु भएकोमा पछिल्लो समयमा बढेर ११० रुपैयाँसम्म पुगेको थियो । अहिले पनि १०४ रुपैयाँको हारहारीमा छ । हालसम्म आयोजनामा ३६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मंसिरदेखि माथिल्लो तामाकोसीबाट बिजुली बाल्न पाइने आगामी मंसिरदेखि माथिल्लो तामाकोसीको बिजुली बाल्न पाइने भएको छ । आयोजनाको ९४ प्रतिशत काम सम्पन्न भैसकेको छ । तामाकोसीको काम सकिन अब ६ प्रतिशत मात्र बाँकी छ । आयोजनाको काम अब अन्तिम चरणमा पुगेको छ । ६ प्रतिशत मात्र काम बाँकी भएपनि आयोजनाबाट आउदो मंसिर अन्तिमसम्ममा मात्र बिजुली उत्पादन गर्ने नयाँ कार्ययोजना तयार पारेको हो । आगामी डिसेम्बर १८ सम्म पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुने कार्यतालिका तय भएको तामाकोसीका प्रवत्ता गणेश न्यौपानेले बताए । आउदो असार अन्तिमसम्म आयोजनाको ५ मध्ये १ युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको थियो । मंसिरसम्म आयोजनाको सबै युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा विभिन्न कारणले प्रभावित भएको छ । ०७५ सालभित्र माथिल्लो तामाकोसीको काम सम्पन्न हुने देखिएको छ । हाल मुहान, बाँध, सुरुङ, प्रसारणलाइन र इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल गरी ४ वटै लटको काम तिब्र गतिमा भइरहेको उनले जानकारी दिए । हाइड्रोमेकानिकलको कामले पनि अहिले गति लिएको छ । प्रसारणलाइनअन्र्तगत ४ वटा टावरको संरचना निर्माण गर्न बाँकी रहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युतगृह गौंगरबाट २२० केभी क्षमताको प्रसारणलाइनबाट न्युखिम्ती जोडिने छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ ।
अनुशासन र पारदर्शिता भएका बैंकमा कर्जा दुरुपयोग बढ्यो, साढे १३ करोड ठगीमा २१ जना पक्राउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले जति कडाइ गरेपनि बैंक तथा वित्तीय संस्थामा ठगी भने बढ्दै गएको छ । पछिल्लो समयमा बैंकिङ ठगी बढ्दै गएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले जानकारी दिएको छ । चालु आर्थिक सुरुभएयता विभिन्न बैठक तथा वित्तीय संस्थामा ठगी गरेको अभियोगमा २१ जना पक्राउ परेका छन् । साउनयता सीआईबीले पक्राउ गरेका व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थामा १३ करोड ५९ लाख रुपैयाँ ठगी गरेका छन् । यी मध्ये केहीलाई बैंकिङ कसुरमा मुद्धा चलाएको छ भने केहीमाथि अनुसन्धान गरिरहेको छ । गत शुक्रबार मात्र कमसल धितो राखी १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा सीआईबीले तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष तथा नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकका सञ्चालक विष्णुप्रसाद धिताललगायत १४ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका सबैलाई हिरासतमा राखी सीआईबीले अनुसन्धान थालेको छ । अनुसन्धान सकिएपछि उच्च अदालत पाटनमा मुद्धा दर्ता गर्ने सीआईबीका प्रवक्ता जीवन श्रेष्ठले बताए । एनसीसी बैंकको चुक्तापुजी बढाउन नेपाल राष्ट्र बैंकले एपेक्स डेभपलमेन्ट बैंकलाई मर्ज गराएको हो । मर्ज हुनुअघि एपेक्सको सम्पत्ति दाइत्व मूल्याँकन (डीडीए) गर्दा पनि खराब कर्जा देखिएन् । त्यसबेला ४७ रुपैयाँमा एपेक्सलाई एनसीसीमा मर्ज गराइएको थियो । राष्ट्र बैंकले एपेक्सको डीडीए प्रतिवेदनमा अध्ययन गरेको थियो । यसैगरी गत फागुन ९ गते हकभोग नभएको जग्गालाई आफ्नो देखाई माछापुच्छ्रे बैङ्कको शाखा कार्यालय पुतलीसडकबाट १ करोड ४२ लाख रुपैयाँ कर्जा लिई बैंकलाई हानी नोक्सानी पुर्याएको आरोपमा सीआईबीले काठमाडौं महानगरपालिका ३०, धोविधाराका विनायक प्रेसका संचालक अशोकहर्ष बज्राचार्यलाई पक्राउ गरी उच्च अदालत पाटनमा बैंकिङ कसुर ऐनअनुसार मुद्धा दायर गरेको छ । कृषि बिकास बैंक, रामशाहपथ, मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार पेन्डिङ भएको देखाइ रकम एक आपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पुर्यारउने उदेश्यका साथमा बैंकको मौज्दात रकम करिव ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न बैंकका न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीलाई मंसिर १६ गते सीआईबीले पक्राउ गरेको थियो । सीआईबीले सोही काण्डमा संलग्न काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर १ सितापाईला बस्ने दीपिकाका साथै तेह्रथुम सिम्ले गा।बि।स। वडा नं। ५ घर भई हाल जिल्ला कामनपा वडा नं। १६ बालाजु बस्ने प्रकाश घतानी र दोलखाको भीमेश्वर नपा वडा नं। ६ घर भई हाल जिल्ला कामनपा वडा नं। ३२ बस्ने रमेशकुमार थापालाई सीआईबीले पक्राउ गरेको थियो । यस्तै रामेछाप नपा वडा नं। ८ स्थाई घर भई हाल कामनपा वडा नं। ३२ वस्ने बैंकको शाखा कार्यालय न्युरोडका कामू मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुङगेल, गोरखा पालुङटार(४ घर भई टोखा नपा वडा नं। ८ ग्रिनल्याण्ड बस्ने बैंकको न्युरोड शाखामा कार्यरत गोपाल गिरी, गोरखा बक्राङ(२ स्थायी घर भई हाल जिल्ला चन्द्रागिरी नपा वडा नं। बस्ने बैंकका न्युरोड शाखाका कर्जा प्रमुख महेश्वर मरहट्टालाई पक्राउ गरेको थियो । बिभिन्न व्यक्ति वा संस्थाले बिभिन्न बैंकको चेक मार्फत कृषि बिकास बैंकमा जम्मा गर्न ल्याएको चेकमार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिई सकेपछी सोही चेकलाई प्रयोग गरी पुन गैर कानूनी रुपमा दीपिका तथा आफन्तको नाममा जम्मा गरी प्रेमहरि, गिरी र मरहट्ठा समेतले रकम हिनमिना गरि बैंकलाई नोक्सान पुर्याएको आरोप बैंकले लगाएको छ । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा ठगि गरेको अभियोगमा काठमाडौं गागलफेदी स्थायी घर भई हाल चितवन बस्ने बिमल खड्कालाई ५ करोड ७५ लाख रुपैयाँ जरीवाना र ३ बर्ष कैद हुने ठहर भएकोमा उक्त कैद बेरुजु रही फरार रहेका थिए । खड्कालाई सीआईबीले माघ १३ गते चितवनबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चितवनमा पठाईएको सीआईबीले जनाएको छ । खड्काले आफु सञ्चालक भएको सात्विक डेभलपर्सको नाउँमा दर्ता रहेको जिल्ला काठमाडौको साङला गाविस वडा नं ९ समेतको जग्गाहरु धितो राखी ५ करोड ७५ लाख रुपैयाँ कर्जा निकासा गरी आफैले उपयोग गरेको र कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट फाईनान्सका निपेक्षकर्ता र लगानीकर्ता समेतलाई हानी नोक्सानी पु(याएका थिए ।
नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई २५ प्रतिशत आईपीओ निष्कासन गर्ने
काठमाडौं । सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । प्राधिकरणले २५ प्रतिशतसम्म आईपीओ निष्कासनको तयारी थालेको छ । २९ अर्ब रुपैयाँ संचित नोक्सान रहेको प्राधिकरणले नाफाघाटा बराबरीको अवस्थामा ल्याएपछि आईपीओ निष्कासन गर्ने भएको हो । ऊर्जा, जलस्रोतमन्त्री वर्षमान पुनलाई प्राधिकरणको गतिविधिको बारेमा जानकारी दिदै कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणको लगानी खुला गर्ने जानकारी दिएका हुन् । आयोजना बनाउनका लागि सर्वसाधारणका लागि लगानी खुला गर्नुपर्ने धारणा राखेका छन् । उनले हाल रहेको संचित नोक्सानीलाई अपलेखन (राइटअफ) गर्नका लागि मन्त्री पुनको ध्यानकर्षण गराएका छन् । संचित नोक्सानी अपलेखन हुनसाथ आईपीओको प्रक्रिया अघि बढाउने उनले बताए । उनले विद्युत प्राधिकरण ऐनमा आईपीओ निष्कासन गर्ने व्यवस्था भएकाले बताए । चालु आर्थिक वर्षदेखि विद्युत प्राधिकरण नाफामा जाने जानकारी दिए । मुलुक लोडसेडिङमुक्त भएको घिसिङले सुनाए । प्राधिकरणअन्र्तगतका अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड लगायतले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेका छन् । यी कम्पनीमा विद्युत प्राधिकरणले २५ अर्ब रुपैयाँ सेयर लगानी गरिसकेको छ । उनले वैदेशिक ऋणको ब्याजदर ८ बाट ५ प्रतिशतमा झान ऊर्जामन्त्रीको ध्यानकर्षण गराएका थिए । विद्युत प्राधिकरणले निजी प्रवद्र्धकसंग ४ हजार मेगावाट बराबरको विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । यस्तै ५ हजार मेगावाट पीपीएको प्रतिक्षामा रहेको घिसिङले जानकारी दिए ।