एनसीसी बैंकमा सीआईबीको छापा, सञ्चालकसहित कर्मचारी पक्राउ, १ अर्ब ५० करोड ९६ लाख कर्जाकाे दुरूपयाेग
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार राजधानीको कमलादीस्थित एक होटलमा खाना खाने बेलामा सीआईबीले बैंकका सञ्चालक विष्णुप्रसाद धिताललाई पक्राउ गरेको हो । सञ्चालक धिताललाई पक्राउ गरे लगत्तै बैंकको कर्पाेरेट कार्यालय बागबजार पुगेको सीआईबीको टोलीले १३ जना कर्मचारीलाई समेत पक्राउ गरि आवश्यक कागजात नियन्त्रणमा लिएको थियो । सीआईबीले उनीहरुको विवरण अहिले सार्वजनिक गरेको छैन । शुक्रबार बिहान चुक्तापुँजी वृद्धिका लागि बैंक सञ्चालक राष्ट्र बैकमा पुगेका थिए । बैठक बसेपछि खानाखाने बेलामा सीआईबीले हाेटलबाट पक्राउ गरेको हो । सीआईबी प्रमुख पुष्कर कार्कीले बैंकमा छापा मारेर कर्मचारीलाई नियन्त्रणमा लिएको बताउदै केही बेरमा सार्वजनिक गर्ने जानकारी दिए । यस सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याललाई सम्पर्क गर्दा हुन सकेन । एपेक्स डेभलपमेन्ट बैंकको २ अर्ब रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा सीआईबीले अनुसन्धान थालेको थियाे । खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्सका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालले व्यवस्थापनसँग मिलेर कर्जाको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्ज भइसकेको छ । एपेक्सको झण्डै १ अर्ब ५२ करोड रुपैयाँ कर्जा उठ्न नसक्ने देखिएपछि नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्था (प्रोभिजन) गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले छानविन गर्न सीआईबीमा विवरण पठाएपछि उसले अनुसन्धान थालेको हो । कमसल धितोमा ऋण दिएको २ अर्ब रुपैयाँमध्ये ४८ करोड रुपैयाँ फिर्ता भइसकेको छ ।
गाडी बिक्रेतालाई चुनावी चटारो, श्रेष्ठ र दाहाल मैदानमा
काठमाडौं । नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल(नाडा)मा चुनावी चटारो सुरु भएको छ । चैत २६ गते हुने साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नाडाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ र उपाध्यक्ष शम्भु दाहालले इच्छा देखाएका छन् । ‘अञ्जन श्रेष्ठ र शम्भु दाहालले अध्यक्ष बन्ने इच्छा देखाउनु भएको छ, हामी सहमतिको प्रयास गरिरहेका छौं, दुबै जनालाई मिलेर अघि बढ्न दबाव दिईरहेका छौं’, नाडाका महासचिव कृष्णप्रसाद दुलालले विकासन्युजसँग भने । श्रेष्ठ हुण्डाईका सवारी साधानहरुको आधिकारिक नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका हुन् भने दाहाल टाटा मोटर्सको नेपाली आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङका हुन् । ९६४ जना मतदाता रहेको नाडाले आफ्नो बिधान संसोधन गरेर प्रादेशिक संरचनामा रुपान्तरण गर्ने तयारी पनि गरिरहेको छ । ‘हामीले विधान संसोधन गरेर संघिय मोडलमा जानेबारे छलफल सुरु गरेका छौं’, महासचिव दुलालले विकासन्युजसँग भने । हाल नाडाको केन्द्रिय कार्यसमितिका अलवा चितवन, हेटौँडा र पोखरामा शाखा छन् । प्रत्येक प्रदेशबाट केन्द्रिय कार्यसमितिमा एक जनाको प्रतिनिधित्व सुनिश्चित हुने गरि विधान संसोधनको तयारी भैरहेको पनि उनले जानकारी दिए । अहिले नाडामा २३ सदस्यिय कार्य समिति छ । जसमा अध्यक्ष र निवर्तमान अध्यक्ष बाहेक उपत्यकाबाट १४ जना, उपत्यका बाहिरबाट ४ जना र ३ जना मनोनयन हुने गरेको छ । साधारण सभाबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ भने कार्य समिति सदस्यहरुमा निर्वाचितहरुमध्येबाट उपाध्यक्ष, महासचिव लगायतको चयन गर्ने चलन छ । श्रोतका अनुसार चुनावको मुखमा नाडामा ५ सय जना नयाँ सदस्य थपिएका छन् । नयाँ सदस्यता शुल्क, पुरानाको नविकरण र निर्वाचनमा उम्मेदवारी दर्ताको शुल्क जोड्दा नाडाको कोषमा एक करोड रुपैंयाँ जम्मा हुने बताइन्छ ।
हिमालय ऊर्जा विकासको साधारणसभा चैत २४ मा, आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आउदो सोमबारसम्म आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए । उनले आब्हानपत्र पनि बोर्डले पारित गरिसकेको जानकारी दिए छ । आउदो २४ गते हुने १७ औं वार्षिक साधारणसभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने दुलालले जानकारी दिए । कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख र आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् । कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने उनले जानकारी दिए । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।