नाडेप लघुवित्तको आईपीओ आइतबारदेखि, २४०० कित्तासम्म भर्न पाइने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) भोली आइतबारदेखि बिक्री खुला गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । न्युनतम २० कित्ता र अधिकतम २ हजार ४०० कित्तासम्म भर्न पाइने बिक्री प्रवन्ध नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म तोकिएको छ । कुल निष्कासन मध्ये ५ प्रतिशत अर्थात २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई र बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई दिइने छ । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापँुजी बढेर १६ करोड रुपैयाँ पुग्ने छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । संस्थाको केन्द्रीय कार्यलय धादिङको गजुरीमा छ ।    

केरुङ काठमाडौं रेलमार्ग अनुदानमा नबन्ने भए विकल्प खोज्नुपर्छ : विश्व पौडेल

सन १९२३ मा नेपाललाई वेलायतले स्वतन्त्र मुलुकको मान्यता दियो । त्यसको ४ वर्षपछि रक्सौलमा रेल आयो जुन अमलेखगन्जसम्म जोडियो र यसरी नेपाल र भारत रेलले जोडियो । यि दुबै घटना प्रधानमन्त्री चन्द्रशम्ंसेरको पालामा भएको थियो । उनी मेट्रिपास गर्ने पहिलो प्रधानमन्त्री थिए । उनले आफुलाई ठुलो विद्वान र राष्ट्रादी पनि ठान्थे । मुलुकमा उद्योग थिएन तर रेलले ल्याएको उमंगमा केही वर्षपछि सन १९३५ मा कम्पनी ऐन आयो र त्यो औद्योगिकरणको प्रथम तरंगमा २९ वटा भन्दा बढी उद्योगधन्दा र कम्पनी राणा प्रधानमन्त्री जुद्धशम्ंशेरले स्थापना गरे । नेपाल वैक, बिराटनगर जुट उद्योगहरु त्यही मेसोमा स्थापना भएका हुन । पछिसम्म पनि रेलको बाटो वीरगञ्ज (अमलेखगन्ज मै धेरै उद्योग खुलेका थिए । त्यसरी संसारसँग नेपाललाई जोड्ने, उद्योगको मुल फुटाउने, नेपाललाई स्वतन्त्र राख्ने जस्ता काम राणा प्रधानमन्त्री चन्द्रशम्शेरले गरे पनि किन उनलाई मानिसले गाली गरिराख्छन ? किनकी यि कुराहरु शासनको लक्ष्य हैनन, खाली सम्भावित साधन मात्र हुन । हाम्रो शासनको लक्ष्य सम्पन्न नेपालको निर्माण हो । जसमा चन्द्रशम्शेर र उनका खलक असफल भए । मुलुकका अरु जनतालाई नगनेर आफना वरिपरिका मान्छेलाई सम्पन्न गराएकोले चन्द्रशम्शेर र जुद्धलाई मान्छेले बिर्सेंका हुन । भारतलाई रेलले छोएको १०० वर्षपछि चीनलाई रेलसंग जोड्ने संभावना बढेको छ । भारतले नाकाबन्दी गरेर दुःख दिइरहेकोले चीनबाट रेल आइदिए हुन्थ्यो भन्ने चाहाना सबै नेपालीलाई छ । त्यसैले यो रेललाई कसरी सफल बनाउने ताकी यसले अमलेखगन्जको नियती नभोगोस भन्नेमा रेल बनाउनुअघि नै सोच्नुपर्छ । वीरगन्ज–पथलैया कोरिडोरमा उद्योगधन्दा खुल्दा र भारतका करोडौ जनसंख्यासम्म यती सजिलो पहुँच हुँदा त त्यो रेल चल्न सकेन भने चीन जोड्ने रेल खाली फर्किने र चाँडनै बन्द हुने संभावना कम भने छैन । यसलाई संबोधन गर्ने एक मुख्य उपाय भनेको चीनको केरुङदेखी वीरगन्जसम्म विशेष आर्थिक क्षेत्र घोषणा गरेर यहाँँ लगानी गर्ने चिनियाँ र भारतीयलाई नेपाली लगानिकर्ता सरह सुविधा दिने घोषणा गर्नु हो । नत्र यो रेलले के बोक्ने र आफनो खर्च कसरी उठाउने हो भन्ने प्रश्न मूल हुनेछ । केही महिनापछि हामीलाई अर्को एक प्रश्नले अप्ठेरो बनाउने भने छ । यदी केरुङदेखि काठमाडौसम्मको रेललाई ४ अर्ब डलर लाग्ने र चीनले सित्तैमा नबनाउने भन्ने चर्चा चलेको छ । यदी यो कुरा सही हो भने त ४ अर्ब डलरमा केही थपेर बरु काठमाडौंदेखि निजगढ, काठमाडौं केरुङ, काठमाडौं–पोखरा, वीरगञ्ज (नारायणगढ, पोखरा–बुटवल र काँकडभिटट र इटहरी कोरिडोरमा फास्टट्रयाक बनाए मुलुकको मुहार कायापलट हुन्छ कि भन्ने धेरैलाई लाग्न सक्छ । केरुङसम्म राम्रा चिनियाँ रोड आइसकेको परीप्रेक्ष्यमा हाम्रो तत्कालिन उत्तरतर्फको कनेक्टिभिटिको लक्ष केरुङ केरला, किमाथाँकासम्मको सडकले पनि पुरा गर्न सक्ला ।

काठमाडौंमा नक्सा पास नगरी बनेका घरको नक्सा पास हुने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियमअनुरुप निर्माण भएका तर नक्सा पास नभएका भवनका लागि विशेष व्यवस्था ल्याएको छ । निर्माण भइसकेका र नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्साअनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याएको कामपाले जानकारी दिएको छ । कामपाका इन्जिनियर राम थापाका अनुसार कामपाका धेरै घर नक्सा पास गरेर निर्माण भएका छैनन्, यसरी निर्माण भएका घरमध्ये केही कामपाको नियमअनुरुप तर नक्सा पास नभएको पाएपछि कामपाले यस किसिमको व्यवस्था गरेको हो । थापाले भने, “नगरवासीका लागि यो एउटा मौका हो, यस मौकाको पनि सदुपयोग नगरे धेरै नगरवासीको घर नक्साविहीन हुने र उक्त घरबाट लिनुपर्ने फाइदाबाट वञ्चित हुनुपर्नेछ ।” अबको एक महिनासम्म नियमअनुरुप निर्माण भएका तथा नक्सा पास नभई निर्माण भएका घरधनीले घरको विवरणसहित कामपामा निवेदन पेश गर्नुपर्नेछ । नगरवासीको सेवालाई मध्यनजर गर्दै कामपाले केही दिनअघि विवरणसहित निवेदन पेश गर्नका लागि ३५ दिने सूचना जारी गरिसकेको छ । पेश गरिएको सूचनाको आधारमा कामपाको प्रतिनिधि सम्बन्धित घर धनीको घरमा पुगी नक्सा पासको प्रक्रियामा लगिने छ । स्थानीय सरकार सञ्चालन ऐनमा नक्सा स्वीकृत नगरी बनेका नियमअनुरुपका र स्वीकृत नक्साभन्दा फरक किसिमले बनेका घरका लागि एकपटकका लागि विशेष व्यवस्था गरिनुपर्ने प्रावधान रहेको छ । यसैबीच कामपामा पछिल्लो समय नक्सापास गर्न आउने नगरवासीको संख्यामा कमी आएको छ । अघिल्ला वर्षहरुमा दैनिक २० वटासम्म नक्सापास गर्नका लागि निवेदन आउने गरेकामा अहिले दैनिक १० वटामात्र आउने गरेको छ । कामपाले नक्सा पास गर्नका लागि केही विशेष प्रावधान ल्याएको र क्रमिकरुपमा कामपाभित्र भवन निर्माण गर्ने जमिनको अभावका कारण पनि नक्सा पास गर्न आउनेको संख्यामा कमी आएको कामपाको भनाइ छ । निर्माण सम्पन्न प्रमाणपत्रबिना निर्माणाधीन भवनबाट कुनै पनि बैंक सम्बन्धित काम गर्न नपाइने भएको हुँदा पछिल्लो समय निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको भने दैनिकरुपले वृद्धि भएको छ । रासस