रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ, यी हुन् ठगी गरेर कालो सूचिमा परेका १९७ मेनपावर कम्पनी
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १९७ वटा मेनपावर कम्पनीहरुलाई कालो सूचिमा राखेको छ । मन्त्रालयले नियम बमोजिम काम नगरेका १९७ वटा कम्पनीलाई कालो सूचिमा राखेको विवरण सार्वजनिक गरेको हो । श्रम मन्त्रालयले ती मेन पावर कम्पनीहरुबाट विदेश जाने कुनै पनि प्रक्रियामा सहभागी नहुन पनि सबैमा अपिल गरेको छ । श्रम मन्त्री गोकर्ण बिष्टले विदेश जाने नेपाली कामदार ठगीको शिकार बन्न नपरोस भनेर कालो सूचिमा रहेका सबै कम्पनीको विवरण सार्वजनिक गरिएको बताए । मन्त्रालयले अब केहि दिन भित्रै थप कम्पनीहरुलाई कालोसूचिमा राख्ने तयारी पनि अघि बढाईसकेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगी गर्ने त्यस्ता कम्पनीहरुलाई कालो सूचिमा राखेर थप कारवाहीको प्रक्रिया अघि बढाउने मन्त्री बिष्टले बताएका छन् ।
केरुङ-काठमाडौं रेल मार्ग माओत्सेतुङको सपना थियो, सि जिनपिङले पुरा गर्छन: ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केरुङ–काठमाडौं रेलमार्ग समाजवादी चीनका संस्थापक माओत्सेतुङकै सपना भएको बताएका छन् । चीन भ्रमण सकेर स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा रेल पुर्याउने सपना माओत्सेतुङले नै देखेको र त्यसलाई सि जिनपिङले पुरा गर्ने प्रतिवद्धता जनाएको बताएका हुन् । ओलीले केरुङ–काठमाडौं रेलमार्गका सम्बन्धमा सञ्चारकर्मीले राखेको प्रश्न दिईरहका बेला परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले ओलीलाई कानमै पुगेर माओत्सेतुङकै सपना भएको बताएका थिए । ‘ चेयरम्यान माओले पनि यो कुरा भन्नु भएको थियो, अहिले जिनपिङले पुरा गर्र्छु भन्नु भएको छ ।’, ओलीले भने । ओलीले जोसँग पैसा छ उसैले केरुङ–काठमाडौं रेलमार्गमा लगानी गर्ने पनि स्पष्ट पारे । ‘जोसँग पैसा छ उसैले लगानी गर्ने हो, पैसा नहुनेले लगानी गर्नु पर्दैन् । पहिले पुर्व सम्भाव्यता अध्ययन गरौं । त्यसपछि लगानीको कुरा गरौँला ।’, ओलीले भने । ओलीले रेलमार्गको निर्माण विश्वकै जटिल प्रोजेक्ट भएकाले हतार भन्दा पनि परिपक्क ढंगले काम गर्न चाहेको बताएका थिए । ‘हामीलाई थाहा छ हिमाली भागमा रेल सहज छैन् । तिब्बति पठार उचाईमा भए पनि अलि लामो छ । हामी तिर एकै पटक उचाईबाट तल आउनु पर्छ । त्यसकारण केहि समय लाग्छ । रेलमा हतारो भन्दा परिपक्क ढंगले काम गर्नु पर्छ ।’, ओलीले भने । उनले विस्तृत अध्ययन गरेर केहि बर्षभित्र रेल बनाउन लागिपर्ने जानकारी पनि दिए । ‘राष्ट्रपति सिले वार्ताका क्रममा काठमाडौं रेल पुर्याउने योजना सुनाउनु भएको छ, संयुक्त वक्तव्यमा पनि त्यो कुरा समेटिएको छ’, ओलीले भने । चिनियाँ राष्ट्रपति सि जिनपिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएको पनि ओलीले जानकारी दिएका थिए ।
तरलतामा राष्ट्र बैंक र बैंकरको जुहारी, किन घट्यो अन्तर बैंक ब्याजदर ?
काठमाडौं । असार सुरु भएयता बैंकिङ प्रणालीमा तरलता बढेपछि अन्तर बैंक ब्याजदर २.६ प्रतिशतमा झरेको छ । बैंकमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदरमा भारी गिरावट आएको हो । आइतबार बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर घटेपछि राष्ट्र बैंकले आज आइतबार मुद्धति निक्षेप उपकरणबाट बैंकबाट १० अर्ब रुपैयाँ उठाउदै छ । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजमा बैंकबाट सो रकम उठाउन लागेको हो । यो रकम असार २४ गते आइतबार परिपक्व हुनेछ । असारमा विकास गतिविधी बढी हुने भएकाले सरकारको खर्च बढी हुदा बैंकिङ प्रणालीमा तरलता बढ्ने गरेको छ । असार लागेपछि बैंकिङ प्रणालीमा पैसा छ्यालब्याल भएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । तरलता बढेर अन्तर बैंक ब्याजदर तल्लो बिन्दुमा पुगेपछि आज आइतबार बजारबाट पैसा तान्न लागेको उनले बताए । बजारमा तरलता बढेकाले बैंकले निक्षेप र कर्जा दुबैको ब्याजदर घटाउनु पर्ने उनको भनाई छ । अन्तर बैंक ब्याजदर औसत २.८ प्रतिशत रहेको उनले बताए । केन्द्रीय बैंकले यसअघि ३ पटक गरे झण्डै ८ अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ । यता सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुल्सीराम गौतम बाहिर हल्ला भएको जस्तो तरलताको अवस्था सहज नभएको बताउछन् । बजारमा सुनिएको जस्तो बढेको पनि छैन र अप्ठेरो पनि नभएको उनले जानकारी दिए । “राष्ट्रिय वाणिज्य बैंकलगायत अन्य केही बैंकमा बढी भएको होला तर हाम्रो बैंकमा त्यस्तो अवस्था छैन्” उनले भने । खर्च हुने अन्तिम महिना भएकाले बढ्ने उनको भनाई छ । मुद्धतिको ब्याजदर बढेर १२.५ प्रतिशत नाघेपछि राष्ट्र बैंकको दवावमा बैंकहरुले भद्र सहमति गरेका छन् । जसअनुसार व्यक्तिगत मुद्धतिमा ११ र संस्थागत १० प्रतिशत कायम गरेका छन् । यस्तै साधारण वचतमा ७ प्रतिशत दिने भएका छन् । ब्याजदर करिडोर नीतिअन्र्तगत अन्तर बैंक ब्याजदर ५ प्रतिशत कटेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र बढी भएमा उठाउने गर्छ ।