हिमालय कलेज अफ इञ्जिनियरिङमा पढ्ने विद्यार्थीलाई ८० प्रतिशत ऋण सुबिधा

काठमाडौं । इन्जिनियरिङ अध्ययनको तयारी गर्दै हुनुहुन्छ ? इन्जिनियर बन्ने चाहानामा कतै पैसाको कमिले अवरोध त उत्पन्न भएको छैन ? अध्ययन गर्नका लागि पैसा छैन ? अब चिन्ता नलिनुस हिमालय कलेज अफ इन्जिनियरिङले समस्याको समधान गरिदिने भएको छ । उसले पैसा नहुने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । कलेजले एनएमबी बैंकको सहकार्यमा न्युनतम ४० देखि ८० प्रतिशतसम्म शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । प्रवेश परीक्षा उर्तिर्ण गरेका विद्यार्थीले भर्ना भएपछि नै एनएमबी बैंकबाट ऋण लिन प्रक्रिया सुरु गरिदिने कलेजका निर्देशक पुर्णभद्र अर्यालले बताए । यस्तो व्यवस्था नेपालमा पहिलो पटक भएको उनले जानकारी दिए । सकेसम्म विद्यार्थीको अभिभावकको घरजग्गा धितो वा नभए एसएलसी र प्लस टु प्रमाणपत्र धितोमा बैंकबाट कर्जा उपलब्ध हुने उनले जानकारी दिए । “अब पैसा नभएर विद्यार्थीले इन्जिनियर बन्न नपाउने अवस्थाको अन्त्य हुने छ” अर्यालले भने । ऋण लिने विद्यार्थी लगातार पास हुनु पर्नेछ । शैक्षिक कर्जाको ब्याजदर भने सस्तो हुने उनले बताए । उनले अहिले नै यति भन्न नसकिने स्पष्टपारे । कलेजले पहिलो चरणमा एनएमबी बैंकसंग बीई इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेशन विषय अध्ययन गर्ने विद्यार्थीका लागि कर्जाको व्यवस्थापन गर्न लागेको हो । यो विषय अध्ययन गर्न ९ लाख रुपैयाँ लाग्ने उनले बताए । कलेज ललितपुरको च्यासलमा रहेको छ । यसका अतिरित्त कलेजमा बीई सिभिल, कम्प्युटर र आर्किटेक्चर विषयमा स्नातक अध्ययन हुने छ । सामाजिक उतरदायित्व वहन गर्दै कलेजले सुलभ र सस्तो कर्जामा इन्जिनियर बनाउने योजना ल्याएको उनको भनाई छ । यता सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर व्यवसायिक कर्जा योजना लागु गरेको छ ।

८ तले स्मार्ट पार्किङको सोमबार टेण्डर, १ अर्बमा १६० वटा कार अट्ने यस्तो बन्दैछ ई-पार्किङ

काठमाडौं । काठमाडौं महानगरले स्मार्ट पार्किङको लागि आगामी सोमबार बोलपत्र आब्हन गर्ने भएको छ । महानगरले स्वदेशी वा विदेशी दुबै कम्पनीहरुलाई काम गर्न पाउने गरी बोलपत्र आब्हान गर्न लागेको हो । बोलपत्रको अन्तिम तयारी भैरहेको महानगरका पुर्वाधार प्रमुख महेश काफ्लेले बताए । “हामीलाई जनता र मेयरबाट यति दबाब आइसक्यो कि हामीले कुनै हालतमा यो काम गर्नु पर्ने अवस्था छ, यस आयोजना १ अर्ब रुपैंयामा निजी क्षेत्रलाई दिने तयारी गरेका छौं, काफ्लेले भने आइतबारसम्ममा आयोजनालाई अन्तिम रुप दिन सकिए सोमबार बोलपत्र आब्हान गर्नेछौ ।” काफ्लेका अनुसार बोलपत्रका लागि १५ दिनको समयअवधि दिइनेछ । त्यसपछिको १५ दिनमा कम्पनी छनोट गरिनेछ । आवश्यक प्राविधिक र दक्ष जनशक्तिको अभावमा काम छिटो सञ्चालन गर्न नसकिएको महानगरका प्रवक्ता ज्ञानेद्र कार्कीले बताए । उनले भने हाम्रो देशमा दक्ष प्राविधिक जनशक्ति रहेको छैन, यसको लागि अन्तर्राष्ट्रिय जनशक्ति आवश्यक हुन्छ । त्यसैले समयमै काम शुरु गर्न नसकिएको हो । स्मार्ट पार्किङ महानगरको महत्वपुर्ण काम भएकोले अब अघि बढ्नेछ । पार्किङ निर्माणको लागि धर्मपथमा महानगरले २ रोपनी जग्गा तयार गरिसकेको छ । यस पार्किङमा भर्टिकल पार्किङ, अन्डरग्राउन्ड पार्किङ गर्न सकिनेछ । ई पार्किङमा केहि समयमै सजिलै सवारी पार्किङ गर्न सकिनेछ । पुराना पार्किङ भन्दा ई पार्किङ आर्थिक रुपले सस्तो पर्न जाने महानगरले विस्वास गरेको छ । यस पार्किङमा १५० वटा कार पार्किङ गर्न सकिनेछ । बागबजार, खिँचापोखरी, कलंकी, महाराजगन्ज, सामाखुसी, कोटेश्वर, बल्खु, कौशलटार, जडीबुटी, बानेश्वर, तीनकुने, न्युरोडलगायत क्षेत्रमा पार्किङ नहुँदा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ । काफ्लेका अनुसार दरबारमार्गमा पनि साइकल, मोटरसाइकल, कार, जीप लगायतको सवारी पार्किङ गर्न सकिने गरि स्मार्ट पार्किङ निर्माण गरिनेछ । स्मार्ट पार्किङमा अग्रीम बुकिङ समेत गर्न सकिनेछ । पार्किङबाट कति रकम तोक्ने पछि नै निर्णय हुने पुर्वाधार प्रमुख काफ्लेले बताए । प्रत्येक तलामा २० वटासम्म कार पार्किङ गर्न सकिनेछ । १ देखि माथिल्लो तलामा इलेक्ट्रिक मार्फत कार राख्न र निकाल्न सकिनेछ । आयोजना एक वर्ष ढिलो गरि शुरु हुने भएको हो । काठमाडौंमा पार्किङको समस्या कम गर्नको लागि धर्मपथ, दरबारमार्ग लगायतको स्थानमा बनाउन २०७४ ०७५ कै नीति तथा कार्यक्रममा समेटेको थियो । यस्तो बन्नेछ पार्किङ भिडियो  

१८१ परिवार भूकम्प पीडितलाई एकिकृत बस्ती: बत्ती, पानी, विद्यालय र खेल मैदान पनि

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्ला गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले तीन जिल्लाका पाँच ठाउँमा एकिकृत बस्ती बसाउने निर्णय गरेको हो । पहिलो एकिकृत बस्ती सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडास्थित नोर्वुलिङमा निर्माण हुनेछ । सो एकीकृत बस्ती विकास योजनामा ४० घरधुरी रहनेछन् । त्यस्तै, दोश्रो एकिकृत बस्ती पनि सिन्धुपाल्चोक कै मेलम्ची नगरपालिका वडा नं १२ मा नम्डोललिङमा निर्माण हुनेछ । सो बस्तीमा ७० घरधुरी रहनेछन् । सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नं ५ त्याङथलीमा तेश्रोत एकीकृत नमूना निर्माण हुनेछ । जसमा १० घरधुरी रहनेछन् । चौथो एकिकृत बस्ती भने रामेछापको मन्थली नगरपालिका वडा नं ८ माझी बस्ती गाइखुरामा निर्माण हुनेछ । त्यहाँ २४ घरधुरी रहनेछन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण हुनेछ । त्यहाँ ३७ घरधुरी रहनेछन् । प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत भएको छ । जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का लागि इन्जिनियर सहित ३२५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का लागि ७०४ छन् । बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्नयोग्य घर जनिएका व्यक्तिहरुको सूची सो बमोजिम घर भए/नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।