इरान : शून्यमा सत्ता, संकटमा शासन

काठमाडौं । अमेरिका–इजरायलका संयुक्त आक्रमणहरूको पहिलो लहरमै अली खामेनेईको हत्या भएपछि इस्लामिक गणराज्य इरान सन् १९७९ पछि सबैभन्दा निर्णायक मोडमा पुगेको छ । यस अभियानमा इरानका वरिष्ठ सैन्य तथा राजनीतिक नेताहरूलाई निशाना बनाइएको थियो । अमेरिकाले दाबी गरेको छ कि यसले इरानको सत्ताको संरचनालाई कमजोर बनाएको छ । आक्रमणपछि अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीले आफ्ना सार्वजनिक वक्तव्यहरूमा अत्यन्त कडा भाषा प्रयोग गरेका छन् । डोनाल्ड ट्रम्पले इरानीहरूलाई यो अवसरको फाइदा उठाउँदै ‘आफ्नो सरकार फिर्ता लिन’ आह्वान गरेका छन् । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले पनि यही कुरा दोहोर्याउँदै इरानमा सत्ता परिवर्तन ‘केवल आवश्यक मात्र होइन, सम्भव पनि रहेको’ बताएका छन् । अमेरिकाले आफ्नो सैन्य अभियानलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ । यसबारे अमेरिका स्पष्ट र दृढ देखिए पनि इरानी जनतालाई दिइएको राजनीतिक सन्देश भने धेरै अनिश्चित छ । आइतबार बिहान इरानी सरकारी टेलिभिजनले औपचारिक रूपमा अली खामेनेईको मृत्यु पुष्टि गर्दै कार्यकारी अधिकार सम्हाल्न तीन सदस्यीय अन्तरिम परिषद् गठन गरिएको घोषणा र्गयो । सरकारले तत्काल कदम चाल्दै देशमा स्थिरता कायम रहेको सन्देश दिन प्रयास गरेको छ । संवैधानिक प्रावधानहरूको उल्लेख गर्दै र अस्थायी शासन व्यवस्था सक्रिय गरेर अधिकारीहरूले सर्वोच्च पद खाली भए पनि प्रणाली कायम रहेको देखाउन खोजिरहेका छन् । अब सम्भावित उत्तराधिकारीबारे अड्कलबाजी तीव्र बनेको छ । इरानमा सम्भावित उम्मेदवारहरूलाई पहिले नै सार्वजनिक रूपमा प्रस्तुत गर्नु सामान्य अभ्यास होइन र यो प्रक्रिया प्रायः बन्द ढोकाभित्रै सञ्चालन हुने गर्छ । यद्यपि, सर्वोच्च नेता चयनका लागि गठित एसेम्ब्ली अफ एक्सपर्टले नामहरूको समीक्षा गरी उम्मेदवारहरूको छोटो सूची तयार गर्ने जिम्मेवारी वहन गर्ने बताइन्छ । यो समितिले छनोट प्रक्रिया औपचारिक रूपमा सुरु भएपछि सदनसमक्ष संक्षिप्त सूची पेश गर्न सक्छ । बैठकहरू बन्द ढोकाभित्र हुने र मतदान सार्वजनिक नहुने भएकाले बाहिरबाट यस प्रक्रियाको अनुगमन गर्ने सम्भावना अत्यन्त सीमित हुन्छ ।  हालका वर्षहरूमा खामेनेईका जेठा छोरा मोजतबा राष्ट्रपति पदका लागि अगाडि आउन सक्ने अड्कल गरिँदै आएको थियो । तर हालैका आक्रमणहरूमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका उनका धेरै विश्वस्त कमाण्डरहरू मारिएको खबरपछि आन्तरिक शक्ति सन्तुलन बदलिन सक्ने सम्भावना देखिएको छ । अघिल्लो संसदीय इतिहासले पनि संकेत गर्छ कि स्वयं खामेनेई नेतृत्वमा आउँदा उनी व्यापक रूपमा मुख्य विकल्प मानिएका थिएनन् । यसले अन्तिम परिणाम अपेक्षाभन्दा फरक हुन सक्ने संकेत दिन्छ । छनोट प्रक्रिया तीव्र गतिमा अघि बढ्न सक्छ र सम्भवतः केही दिनमै सम्पन्न हुन सक्छ । सैन्य दृष्टिकोणले हेर्दा इरानले ठूलो धक्का बेहोरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उसका धेरै सैन्य अड्डाहरू अझै जोखिममा छन् र अमेरिका–इजरायलको हवाई अभियान जारी छ । जनतामा असुरक्षाको भावना बढेको छ । धेरै सैन्य अड्डाहरू क्षतिग्रस्त भएका छन् ।  सत्ताको शीर्ष तहमा रिक्तता देखिएको छ र निर्णय प्रक्रिया आपतकालीन अवस्थामा सीमित भएको छ । यद्यपि इरानले प्रतिआक्रमण गर्ने क्षमता प्रदर्शन गरेको छ । आक्रमणका पहिलो दुई दिनमा इरानी बलहरूले धेरै अरब देशहरूमा रहेका अमेरिकी अड्डाहरू र इजरायलका लक्ष्यहरूमा हमला गरेका छन् । पहिलोपटक क्षेप्यास्त्रहरू दुबईका नागरिक संरचनाहरू र कुवेतको एक नागरिक विमानस्थलमा खस्यो । यी सबै घटनाले आफ्ना नेताहरू गुमाए पनि इरानसँग अझै सैन्य शक्ति र त्यसको प्रयोग गर्ने इच्छाशक्ति दुवै रहेको देखाउँछ । अब क्षेत्रीय स्तरमा द्वन्द्व थप चर्किन सक्ने आशंकासमेत व्यक्त गरिएको छ । इरानी नेतृत्वको दृष्टिकोणबाट हेर्दा यदि युद्धको दायरा फैलिन्छ र मध्यपूर्वमा उसका सहयोगी मिलिसिया (अर्धसैनिक वा स्वेच्छिक लडाकु) समूहहरू पनि लडाइँमा संलग्न हुन्छन् भने इरानले युद्धविरामका लागि दबाब सिर्जना गर्न वा कम्तीमा पनि अमेरिका र इजरायलले राखेका सर्तहरूमा पूर्ण आत्मसमर्पणबाट जोगिन केही छुट पाउन सक्छ, किनकि अमेरिका पनि यो संघर्ष लामो समयसम्म तान्न इच्छुक नहुन सक्छ । अर्कोतर्फ निरन्तर सैन्य दबाब र सत्ताविरुद्ध व्यापक विरोध प्रदर्शन फेरि चर्किएमा यसले इस्लामिक गणराज्यलाई पतनतर्फ धकेल्न सक्छ । यदि सुरक्षा तथा सैन्य बलका केही हिस्सामा मतभेद उत्पन्न भए वा उनीहरूले नेतृत्वका आदेश पालना गर्न अस्वीकार गरे भने इरानको वर्तमान शासन थप संकटमा पर्न सक्छ । आगामी दिनहरूले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स तथा देशका अन्य सुरक्षा र सैन्य संस्थाहरू लामो समयसम्म रहेका आफ्ना नेताको अनुपस्थितिमा एकजुट रहन सक्छन् कि सक्दैनन् भन्ने देखाउनेछन् । हालका लागि सबै प्रकारका सम्भावनाहरू खुला छन् । यी आक्रमणपछि इस्लामिक गणराज्य अघिल्लो तुलनामा कमजोर अवस्थामा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । तथापि उसँग संस्थागत संरचना, सशस्त्र बल तथा प्रतिकार क्षमता अझै कायम छ, जसले कुनै पनि सरल सत्ता परिवर्तनको मार्गलाई जटिल बनाउँछ । अली खामेनेईको हत्याले इरानलाई अस्थिर र अनिश्चित चरणमा प्रवेश गराएको छ । (बीबीसीबाट अनुदित तथा सम्पादित ) खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित खामेनेईको अवसान र तेहरानको हुँकार : मध्यपूर्वमा ‘महायुद्ध’को संकेत ! इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली  

१.५० अर्बमा ३ हजार टन क्षमताको पश्चिमाञ्चल चिनी उद्योग बन्दै, बैंकबाट लियो १.२५ अर्ब ऋण

काठमाडौं । बर्दियामा ३ हजार टन क्षमताको आधुनिक चिनी उद्योग निर्माण हुने भएको छ । बर्दियाको गुलरिया–१२ मा स्थापित हुने पश्चिमाञ्चल चिनी उद्योग प्रालि दैनिक ३ हजार टन उखु पेल्ने क्षमतासहितको कारखाना सञ्चालनमा ल्याउने योजना बनाएको हो । विसं २०८१ भदौ १७ गते दर्ता भएको कम्पनीले उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानबाट प्रत्यक्ष रूपमा उखु खरिद गर्ने योजना बनाएको छ । यसले बर्दिया र वरिपरिका जिल्लाका किसानलाई स्थायी बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ । उद्योगबाट चिनी उत्पादनका साथै सह-उत्पादनका रूपमा शिरा, खोइया र फिल्टर माटो उत्पादन हुनेछ। खोइया ऊर्जा उत्पादनका लागि, शीरा औद्योगिक प्रयोजन र इथानोल उत्पादनमा र फिल्टर माटो जैविक मलका रूपमा प्रयोग गर्न सकिने भएकाले उद्योगले बहु-आयामिक आर्थिक लाभ दिने विश्वास गरिएको छ । कम्पनीका अनुसार उद्योग स्थापनाले स्थानीय स्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ, कृषि उत्पादन वृद्धि गर्नेछ, पूर्वाधार विकासमा योगदान पुर्याउनेछ र समग्र क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउनेछ । उद्योग स्थापनाको कुल लागत करिब १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यसलाई ५७:४३ को ऋण-इक्विटी अनुपातमा वित्तीय व्यवस्थापन गर्ने योजना बनाएको छ र प्रस्तावित ऋण पूर्ण रूपमा सुनिश्चित भइसकेको जनाएको छ । सन् २०२६ फेब्रुअरी मध्यसम्म परियोजनामा करिब ३३ प्रतिशत वित्तीय प्रगति हासिल भइसकेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८५ करोड रुपैयाँ दीर्घकालीन र ४० करोड रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब २५ करोड रुपैयाँ ऋण लिइसकेको छ । यद्यपि परियोजना निर्माण चरणमै रहेको हुँदा तोकिएको समय र लागतभित्र सम्पन्न हुने विषयमा केही कार्यान्वयन जोखिम विद्यमान रहेको कम्पनीले जनाएको छ। पश्चिमाञ्चल चिनी उद्योगका प्रवर्द्धक शिखर श्रेष्ठसँग चिनी उद्योगमा लामो अनुभव छ । यो अनुभव महाकाली सुगर इन्डस्ट्रिज प्रालि मार्फत हासिल भएको हो, जुन ३ हजार टन दैनिक उखु पेल्ने क्षमता भएको स्थापित उद्योग हो ।श्रेष्ठको नेतृत्वमा कम्पनीले उत्पादन तथा बजार व्यवस्थापनमा एक दशकभन्दा बढी अनुभव संकलन गरेको छ । यस अनुभवले पश्चिमाञ्चल चिनी उद्योगलाई क्रसिङ दक्षता, मिल सञ्चालन, मेसिनरी तथा स्पेयर पार्ट्स आपूर्ति व्यवस्थापन, प्रक्रिया रसायन आपूर्तिकर्तासँग स्थापित सम्बन्ध र उखु मूल्य निर्धारण तथा आयात नीतिसम्बन्धी नियामकीय ज्ञान जस्ता पक्षमा महत्त्वपूर्ण लाभ प्रदान गरेको छ । 

खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित

काठमाडौं । इरान र इजरायलबीच चर्किएको सैन्य टकरावले यतिबेला फारसको खाडीमा ठूलो सुरक्षा संकट निम्त्याएको छ, जसको प्रत्यक्ष प्रभाव विश्वको ऊर्जा बजारमा देखिन थालेको छ । सोमबार मात्रै कच्चा तेलको मूल्यमा १० प्रतिशतभन्दा बढीको उछाल आउनुले आगामी दिनहरू अझै कष्टकर हुने संकेत गरेको छ ।  यो सैन्य तनाव केवल दुई देशबीच मात्र सीमित नरही विश्वकै प्रमुख व्यापारिक मार्गहरूमा फैलिएपछि अन्तर्राष्ट्रिय बजारमा त्रास फैलिएको हो । जानकारहरूका अनुसार यदि यो तनाव तत्कालै साम्य भएन भने तेलको मूल्यले नयाँ उचाइ लिने निश्चित छ, जसले विश्वव्यापी महँगीलाई थप इन्धन दिनेछ । यसैबीच, विश्वका प्रमुख समुद्री बीमा प्रदायकहरूले चालेको कदमले यो संकटलाई झन् जटिल बनाइदिएको छ । ब्लुमबर्गका अनुसार इन्टरनेशनल ग्रुप अफ प्रोटेक्सन एन्ड आईडेम्निटी क्लब्सका आधाभन्दा बढी सदस्यहरूले फारसको खाडी क्षेत्रमा प्रवेश गर्ने जहाजहरूका लागि प्रदान गरिँदै आएको ‘युद्ध–जोखिम’ बीमा कभर फिर्ता लिने घोषणा गरेका छन् ।  ५ मार्चको मध्यरातदेखि लागू हुने यो निर्णयले फारसको खाडी, आसपासका जलक्षेत्र र इरानी समुद्री सीमामा रहेका जहाजहरूको सुरक्षा प्रत्याभूति स्वतः समाप्त गरिदिएको छ । यद्यपि अन्य सामान्य बीमा सर्तहरू यथावत रहने भनिए पनि युद्ध र आतंकवादको जोखिम समेट्ने विशेष कभर नहुँदा शिपिङ कम्पनीहरू ठूलो अन्योलमा परेका छन् । यो बीमा कभर हट्नुको अर्थ अब जहाज मालिक र चार्टर कम्पनीहरूले आफ्ना महँगा जहाज र कार्गोलाई पूर्ण रूपमा आफ्नै जोखिममा त्यस क्षेत्रमा पठाउनुपर्ने हुन्छ । यसले गर्दा धेरैजसो कम्पनीहरूले फारसको खाडीको मार्ग प्रयोग गर्न हिचकिचाउने छन्, जसका कारण आपूर्ति शृङ्खलामा ठूलो अवरोध आउने देखिन्छ ।  यसको प्रत्यक्ष असरस्वरूप मालवाहक भाडा अचाक्ली बढ्नेछ र वैकल्पिक बीमा खोज्नुपरेमा त्यसको प्रिमियम पनि अत्यन्तै महँगो हुनेछ । अन्ततः यो सबै अतिरिक्त लागत कच्चा तेल र अन्य आयातित वस्तुको अन्तिम मूल्यमा जोडिन पुग्छ, जसको सिधा भार सर्वसाधारण उपभोक्ताको गोजीमा पर्नेछ । विशेषगरी स्ट्रेट अफ होर्मुज जहाँबाट विश्वको करिब २० प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ, अहिले विश्व समुदायको चासोको केन्द्र बनेको छ । विश्व ऊर्जा आपूर्तिको मुटु मानिने यस समुद्री मार्गमा हुने सानो अवरोधले पनि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, आपूर्ति संकट र ऊर्जा सुरक्षामा गम्भीर असर पार्ने निश्चित छ  । बीमा कम्पनीहरूको निर्णयले केवल तेलको मूल्य मात्र बढाउने छैन, बरु खाडी मुलुकहरूसँग जोडिएका अन्य व्यापारिक मार्गहरूमा पनि आर्थिक अस्थिरता पैदा गर्नेछ । यदि स्थिति यस्तै रहेमा विश्व अर्थतन्त्रले अर्को ठूलो मन्दी वा ऊर्जा संकटको सामना गर्नुपर्ने जोखिम बढेर गएको छ । खामेनेईको अवसान र तेहरानको हुँकार : मध्यपूर्वमा ‘महायुद्ध’को संकेत ! इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली