३२ वर्षीय योगेशको संसदमा दोस्रो पटक इन्ट्री, यस्तो छ व्यावसायिक र राजनीतिक पृष्ठभूमि
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी भएका छन् । उनी मस्ताङ–१ बाट विजयी भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । ३२ वर्षीय गौचनले ३ हजार ३०७ मत पाएर विजयी भएका हुन् । उनले प्रतिस्पर्धीको भन्दा १ हजार ५ सय १ मतले जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । उनी नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन् । योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन् । उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् । उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन् । उनी पार्टीको साविक लेते गाउँ सभापति, जिल्ला सदस्य हाल कांग्रेस गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि भएर नेपाली कांग्रेसमा सक्रिय बन्दै आएका छन् । सानै उमेरदेखि राजनीतिमा सक्रिय थकालीले जिल्लामा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थकाली जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा भएका थिए । उनले होटल कालोपानी, लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स प्रालि एमडी, मुस्ताङमा किवी खेतीलगायत अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।
वैकल्पिक राजनीतिबाट उदाएकी रञ्जुलाई शिशु र सांसद उपहार
काठमाडौं । रञ्जु दर्शना ३० वर्षको उमेरमा सांसद बनेकी छन् । बिहीबार भएको निर्वाचनमा उनले १५ हजार ४५५ मत पाएर जित वियजी हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए । रञ्जु वैकल्पिक राजनीतिबाट उदाएकी हुन् । १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा सक्रिय बनिन् । देशमा बन्द हड्ताल हुनु हुँदैन भनेर उनी सडकमा निस्किइन् । स्व. उज्जल थापाको नेतृत्वमा सक्रिय बनेर काम गरिन् । पछि सो पार्टी विवेकशील साझा बन्यो । रञ्जु काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्नि । तर, विजयी हुन सकिन्न । उनी पराजित भएपनि उनको चर्चा देशभर भयो । उनी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् । उसो त उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनेकी थिइन् तर चुनाव जित्न सकिनन् । त्यसबेला उनले जम्मा ६०० मत पाएकी थिइन् । २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन् । रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनिन् र चुनाव जितिन् । विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन् । उनले ’घण्टी’ चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभकामना दिने शुभेच्छुक र साथीहरू प्रति हार्दिक आभार एवं नमन प्रकट गरेकी छिन् । उनले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताएकी छिन् । चुनाव प्रचार प्रसारमा पनि उनी ९ महिनाको गर्व बोकेर हिडेकी थिइन् भने मतदानको दिनमा पनि शीशु बोकर उनी मतदान केन्द्रमा पुगेकी थिइन् । उनलाई एकै पटक शिशु र सांसद उपहार मिलेको छ ।
सुशीला कार्की राष्ट्रिय नायक, राष्ट्रपतिको बहस जायज
प्रधानमन्त्रीको जिम्मेवारीमा सफलता हासिल गर्नु भएकोमा सुशीला कार्कीलाई हार्दिक बधाई । तपाईं राष्ट्रिय नायक बन्नुभयो । (सञ्चार क्षेत्रको लेखनमा पात्रहरूलाई तिमी लेखिन्छ । तर, मैले अति सम्मानपूर्वक तपाईं भनी सम्बोधन गर्दैछु ।) भविष्यमा सरकारले तपाईंलाई राष्ट्रिय नायकको रूपमा सम्मान गर्ला वा नगर्ला । तर, तपाईंले संकटपूर्ण अवस्थामा देशको नेतृत्व लिनु भयो । पाएको जिम्मेवारी पूरा गर्नु भयो । र, राष्ट्रिय आमाको परिचय बनाएर नेपालीको मन मस्तिष्कका बस्न सफल हुनुभयो । यतिबेला म गत भदौ २४ गतेलाई सम्झन्छु । दिनभर संसद, सिंहदरबार, अदालतसहित देशभर भएको व्यापक आगजनी, कुटपिट, हत्या हेर्नु परेको थियो- प्रत्यक्ष र भर्चुअली । त्यतिबेला अरू नेपाली झैं म पनि डरले थर्कमान थिएँ । जीवनमा पहिलो पटक अफिसमा कार छोडेर घर गएको थिएँ राति ९ बजे । घर पुग्दा छोराछोरी आत्तिएर रोए, असुरक्षाको डरले । परिवारलाई सम्झाएर सुताउन पनि मलाई गाह्रो भएको थियो । व्यक्तिगत असुरक्षासँगै देशको सार्वभौमिकता नै गुम्ने हो कि भन्ने डर सारा नेपालीमा पैदा भएको थियो । म र मेरो परिवारलाई पनि । त्यस कठिन घडीमा देशको कार्यकारी प्रमुखको जिम्मेवारी समाल्नु भयो । सार्वभौमिकता जोगाउनु भयो । गुम्नै लागेको गणतन्त्र र लोकतन्त्र जोगाउन सफल हुनुभयो । सत्ता सम्हालेको ६ महिना नबित्दै निर्वाचन सम्पन्न गर्नुभयो । संविधान बाहिर पुगेको सत्तालाई संविधानभित्र ल्याइदिनुभयो । राज्यका सबै संस्था र पद्धतिलाई लयमा फर्काइदिनुभयो । विश्वसामु नेपालीको शिर उचो बनाइदिनुभयो । जलिरहेको देशको आगो निभाउन सफल हुनुभयो । बगिरहेको रगतको खोलो सुकाउन सफल हुनुभयो । तपाईंको कार्यकालमा राज्यको गोलीबाट एक जनाले पनि ज्यान गुमाउनु परेन । शान्ति पुन:स्थापनाको नमुना विश्वलाई देखाउनु भयो । अब तपाईं सारा नेपालीको आमा बन्नु भएको छ । म जस्तै सारा नेपालीले तपाईंलाई वर्षौंसम्म सम्झिरहनेछन् । निर्वाचनको मिति सार्न प्रमुख दलहरूले भनिरहेकै थिए । तपाईंलाई केही सत्ता लम्ब्याउने अवसर पनि थियो । तर, त्यसको लोभ गर्नु भएन । समयमै निर्वाचन गरी सत्ता हस्तान्तरणको तयारीमा जुट्नु भएको छ । तपाईंलाई उच्च सम्मान व्यक्त गर्दछु । तपाईं र देशको यस सफलतामा बलियो टेवा दिने राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश शर्माबारे छुट्टाछुट्टै लेख बनाउन सकिन्छ । फागुन १९ गते जसरी तपाईंले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको तारिफ गर्नुभयो, त्यसरी नै तपाईंलाई दरिलो टेवा दिनेहरूको बारेमा पक्कै पनि तपाईं क्रमशः बोल्दै जानु हुनेछ । देश संकटमा परेको बेलामा सम्हाल्न जुटौं भनेर तपाईंले मन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गर्नेहरू, तपाईंप्रति अविश्वास गर्नेहरूको पंक्ति पनि लामै छ । बब्लु गुप्ता, जगदीश खरेल, कुलमान घिसिङ, महावीर पुनः जस्ता अवसरवादी प्रवृत्तिका कारण १० पटक मन्त्रिपरिषद गठन, पुनर्गठन, जिम्मेवारी हेरफेर गर्नुपर्ने तपाईंका बाध्यता पनि हामीले देखेका छौं । घरी ‘आमा’ भनेर खुट्टा ढोग्ने, घरी ‘मैले बनाएको प्रधानमन्त्री, मै घिसारेर सडकमा ल्याउँछु’ भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बुट बजार्ने सुदन गुरुङ प्रवृत्तिको पनि तपाईंले सामना गर्नुभयो । जेनजी र जेनजी प्रतिनिधिका नाममा सयौं व्यक्तिको हजार कुरा सुन्नु पर्यो, झेल्नु पर्यो । सबैलाई सम्झाएर, फकाएर, समेटेर अगाडि बढ्न सफल हुनु । यो तपाईंको महानता हो । तपाईंलाई असफल बनाउन कहाँ-कहाँ के-के भए ? देखिएका र नदेखिएका घटनाहरूको श्रृङखलाको लिपि, तपाईंको संस्मरण ‘पर्दा पछाडि खेल’ पुस्तक छिट्टै पढ्न पाइने विश्वास लिएको छु । सुशीला कार्कीको नियुक्ति नै असंवैधानिक भन्ने केपी शर्मा ओलीलाई पनि तपाईंले झेल्नु पर्यो । जेन्जीको मागमा होइन, अमेरिका र भारतको आदेशमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन्न भन्दै अराजकता मच्चाउँदै हिँड्ने दुर्गा प्रसाईं प्रवृत्तिलाई पनि तपाईंले झेल्नु भयो । सबैलाई बालुवाटार बोलाउनु भयो । केपीलाई चुनावमा पनि सहभागी गराउनु भयो । दुर्गा प्रसाईंलाई ५ पटकसम्म थुनामा पनि हालिदिनुभयो । गौरीबहादुर कार्की नेतृत्वको आयोग गठन र आयु थपेर पनि धेरै परिपक्वता देखाउनु भयो । सिंहदरबार छोड्नुपूर्व कम्तिमा कार्की आयोगका प्रतिवेदन बुझ्ने र सार्वजनिक गर्ने काम गर्न नबिर्सनू होला । बाँकी काम नयाँ सरकारले जिम्मेवारी लेला । भदौ २३ र २४ गते झैं आन्दोलन चर्काएर सुशीला कार्की फाल्ने प्रयत्न पनि भएकै हुन् । सर्वोच्च अदालतबाट संसद पुन: स्थापना गराउन सके र यो सरकार ढाल्न सके ‘मै प्रधानमन्त्री’ बन्छु भन्ने लोभसहित पर्दा पछाडि धेरै छेलोखेलो गर्ने शेरबहादुर देउवा, कल्याण कुमार श्रेष्ठ लगायत धेरैलाई तपाईंले झेल्नु नै भयो । तपाईंलाई असफल बनाउन कहाँ–कहाँ के–के भए ? देखिएका र नदेखिएका घटनाहरूको श्रृङखलाको लिपि, तपाईंको संस्मरण ‘पर्दा पछाडि खेल’ पुस्तक छिट्टै पढ्न पाइने विश्वास लिएको छु । तपाईं नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुनुभयो, नेपालको पहिलो महिला प्रधानमन्त्री हुनुभयो । तपाईंसँग पूर्वप्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश जस्ता पदीय पहिचान मात्र रहेन । साहसी र सफल महिला । वैचारिक हिसाबले विधिको शासनमा दृढ रहँदै कामबाट प्रमाणित गरिदिने उदाहरणीय महिला । देशले सम्झिरहने काम गरेकी महिलाको रूपमा तपाईंको पहिचान बनेको छ । निर्वाचन सम्पन्न गराउने कार्य कागजी व्यवस्थापन वा प्रशासनिक अभ्यास मात्र होइन, यो संविधानप्रतिको प्रतिबद्धता, संस्थागत स्वायत्तता र राजनीतिक दबाबबीच सन्तुलन कायम गर्ने चुनौतीपूर्ण दायित्व थियो । निर्वाचन प्रक्रियामा देखिएका सबै किसिमका अवरोध, विवाद र दबाबबीच तपाईंले कानुनको शासनलाई सर्वोपरि राख्दै प्रक्रिया अघि बढाउनु भयो र आज सफल हुनुभयो । अझै भोट गन्न बाँकी छ । भोट गन्दागन्दै ‘भोटको भोज खाने’ र हप्तौंसम्म भोट गन्न पनि अवरोध गर्ने राजनीतिक दलहरूको फोहोरी खेलको पुनरावृत्तिको सम्भावना कायमै छ । हार स्वीकार गर्न नसकेर सरकार र जित्ने पक्षलाई धाँधलीको आरोप लगाउने, सडकमा बल प्रदर्शन गर्ने, रेलिङ भाँच्ने, गाडी जलाउने, भवन जलाउने जस्ता भाँडको राजनीतिक अभ्यासका साथै नयाँ नाटकहरू देख्न बाँकी नै छ । तर, तपाईंको मूल काम सकियो । मैले सुनेको छु, रामचन्द्र पौडेलपछि तपाईंलाई राष्ट्रपति बनाउने विषयमा छलफल सुरु भएको छ । तपाईंलाई शुभकामना । विराटनगरको मध्यम वर्गीय किसान परिवारमा जन्मिएर शिक्षक, अधिवक्ता, वरिष्ठ अधिवक्ता, न्यायाधीश, प्रधानन्यायाधीश हुँदै प्रधानमन्त्रीको भूमिकामा तपाईं सफल हुनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ति गैरकानुनी भएको फैसला गर्नेदेखि आफूलाई प्रधानन्यायाधीशबाट हटाउने संसद दर्ता भएको महाभियोग विरुद्ध लड्ने र सफलता चुम्ने तपाईंको इतिहास आफैमा गर्विलो छ । लोकतन्त्रमा व्यक्ति पूजाभन्दा बलियो संस्था निर्माण गर्नु महत्त्वपूर्ण हुन्छ । तर, संस्थालाई मजबुत बनाउन नेतृत्व गर्ने व्यक्तिको साहस र निष्ठा अनिवार्य हुन्छ । तपाईंले यसलाई प्रमाणित गरिसक्नु भएको छ । निष्पक्षता, विधिको शासन र जनविश्वासलाई प्राथमिकता दिने नेतृत्व नै लोकतन्त्रको वास्तविक आधार हो । नवपुस्ताको आन्दोलनले गगन थापा र बालेन्द्र शाहलाई राजनीतिक नेतृत्वमा पुर्याएको छ । नेतृत्वमा पुग्दैमा उनीहरू सफल हुन्छन् भन्ने आधार छैन । उनीहरुको लागि पनि तपाईं जत्तिको अनुभवी अभिभावक जरुरी छ । र, संविधानमा केही सुधारको माग छ । तपाईंको अभिभावकत्वमा संविधान संशोधन भएमा राम्रो हुन्छ । पालिका सरकार झैं संघीय सरकार पनि ढुक्कले पाँच वर्ष चल्ने व्यवस्था र संरचनाहरू बनाउन सकियो भने त्यसले देशको दूर-भविष्य सुरक्षित गर्छ, विकासको गतिलाई तीव्रता दिन्छ । कानुनी प्रक्रियाप्रति कठोर प्रतिबद्धता, संस्थागत स्वायत्तताको रक्षा र व्यक्तिगत आलोचना तथा दबाबलाई बेवास्ता गर्दै परिणाममुखी नेतृत्व गर्न तपाईं काबिल हुनुहुन्छ । राष्ट्रपतिको जिम्मेवारी पाउनु भयो र वर्तमान संविधान संशोधन शासकीय स्वरूपमा प्रगतिशील सुधार गर्नु भयो भने तपाईंको नाम हजारौं वर्ष इतिहासमा रहिरहनेछ ।