प्रधानमन्त्रीले गरेको विवादित नियुक्तिमा रास्वपाले जवाफ खोज्ने, ‘निर्णय पुर्नविचार गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको कार्यकाल सकिने केही दिनमात्रै बाँकी रहँदा गरेको नियुक्तिका विषयमा अहिले आलोचना भइरहेको छ । प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ नजिक बहुमत ल्याएर नयाँ सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको रायबिना प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभा सदस्यका लागि वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति दिएपछि यो विषयको आलोचना भइरहेको छ ।  सरकारको नेतृत्व गरेर शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउन भूमिका खेलेको भन्दै वाहवाही पाएकी प्रधानमन्त्री कार्कीले अन्तिम अवस्थामा आफ्नो नजिकको पात्रलाई नियुक्ति दिइएको भन्दै सर्वत्र आलोचना भइरहेको हो । विगतका सरकारले आफ्ना आसेपासेलाई नियुक्ति दिएको स्मरण गराउँदै वर्तमान अन्तरिम सरकारले पनि सोही व्यवहार देखाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।  यस विषयमा रास्वपाको चासो बढेको बुझिएको छ । रास्वपा प्रवक्ता मनिष झाले रास्वपाले सरकारको नेतृत्व गर्ने तयारी गरिरहँदा अन्तरिम सरकारबाट भएको विवादित नियुक्तिको विषयमा चासो बढेको बताए ।  उनले भने, यी नियुक्तिहरू अहिले नगर्दा हुन्थ्यो वा आगामी सरकारले निष्पक्षताका आधारमा यो गर्दा राम्रो देखिन्थ्यो, त्यसैले पनि आलोचना भएको हुन सक्छ,’ उनले भने यस विषयलाई रास्वपाले गम्भीरताका साथ लिएको छ ।’ यस विषयमा रास्वपाकै नेताहरूले पनि आलोचना गरिरहेका छन् । गुल्मीबाट निर्वाचित सांसद सागर ढकालले प्रधानमन्त्रीले गरेको गल्ती सच्याउनुपर्ने माग राखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्, ‘जाँदा जाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनुहुने छ भन्ने कामना गरेका छौं । न कुनै विज्ञता, न अनुभव । मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव । यत्तिको आधारमा प्रकृति संरक्षण कोषजस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ?’  रास्वपाकै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पनि प्रमुख स्वकीय सचिवलाई दिइएको नियुक्तिबारे आलोचना गरेका छन् । जेनजी अभियान्ता समेत रहेका उनले भनेका छन्, ‘हामीले सडकमा उठाएको आवाज सत्ता परिवर्तनका लागि मात्र थिएन । सत्ता अभ्यासको संस्कार बदल्नका लागि थियो । त्यसैले आज पनि हाम्रो प्रश्न उही छ, राजनीति आदर्शको आधारमा चल्ने हो कि कृपाको आधारमा ?’ रास्वपाकै पूर्व नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि यो नियुक्तिको खुलेरै आलोचना गरेकी छन् । उनले भनेकी छन्, ‘अरूले गरे नातावाद, कृपावाद, नेपोबेबी । आफूले गरे योगदानको कदर । अरूले गरे भागबन्डा । आफूले गरे जिम्मेवारी बाँडफाँड । अरूले गरे नुनको सोझो-सेटिङ । आफूले गरे पारस्परिक सम्बन्ध । अरूले गरे जे कुरामा पनि विरोध । आफूले गरे मिहीन/रचनात्मक खबरदारी ।’ रास्वपाले भने यस विषयमा प्रधानमन्त्री कार्कीसँग समन्वय गर्ने तयारी गरेको छ । प्रवक्ता झाले रास्वपाले प्रधानमन्त्री कार्कीलाई सन्देश पठाउने योजना बनाएको बताए । उनले यो नियुक्तिमा पुनर्विचार गर्नुपर्ने धारणा राखे । 

बैंककै कर्मचारीद्वारा ५ करोड हिनामिना, प्रहरीमा उजुरी

काठमाडौं । सिटिजन्स बैंकको मोरङस्थित विराटनगर कञ्चनबारी शाखामा कार्यरत कर्मचारीहरूले करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ । बैंकका कर्मचारीहरूले नै करिब ५ करोड रुपैयाँ हाराहारी रकम हिनामिना गरेको प्रारम्भिक तथ्य फेला परेपछि उजुरी परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख कविद कटुवालले जानकारी दिए । उनका अनुसार शाखामा कार्यरत कर्मचारीहरूको संलग्नतामा बैंकको रकम हिनामिना भएको भन्दै उजुरी आएको र घटनाबारे अनुसन्धान भइरहेको छ । ‘हामी अनुसन्धानको चरणमा छौं, संलग्न व्यक्तिहरूबारे विस्तृत विवरण अझै खुलिसकेको छैन,’ उनले भने । बैंक स्रोतका अनुसार आन्तरिक लेखापरीक्षणका क्रममा उक्त शाखामा करिब ५ करोड रुपैयाँ बराबरको रकम हिनामिना भएको भेटिएको हो । प्रारम्भिक विवरण अनुसार पाँच जनाभन्दा बढी कर्मचारी यस प्रकरणमा मुछिएको आशंका गरिएको छ ।  स्रोतका अनुसार शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष आन्तरिक अडिटबाट देखिएको बताइएको छ । बैंक स्रोतले साविक सृजना फाइनान्सबाट आएका केही कर्मचारीहरू यस प्रकरणमा संलग्न रहेको हुन सक्ने आशंका पनि व्यक्त गरेको छ । बैंकले नियमित आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त अनियमितता पत्ता लागेको जनाइएको छ । यसअघि आन्तरिक अडिट बाह्य संस्थामार्फत गरिँदै आएकोमा हाल बैंककै विभागले अडिट गर्दा घटना सार्वजनिक भएको स्रोतको भनाइ छ । घटनामा संलग्न आशंकामा रहेका कर्मचारीहरूलाई बैंक प्रशासनले निलम्बन गरिसकेको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीमाथि कारबाही गर्न बैंकले प्रहरीमा जाहेरी दिएको बैंकले जनाएको छ ।

ठमेलमा दिपक मनाङ्गेको ‘कम ब्याक’

काठमाडौं । गत शनिबार दिउँसो ठमेलको नोभा क्लबको प्राङ्गणमा फरक दृश्य देखियो । अरूबेला सुनसान हुने क्लब शनिबार भने युवाहरूको भीडले खचाखच थियो । युवाहरूको भीड, मोटरसाइकल तथा अन्य सवारीसाधनको लावालस्कर क्लब वरिपरि थियो । सबैको हात–हातमा खादा र माला थिए ।  मानौं उनीहरूट्ठ ठूलै भीआईपीलाई कुरिरहेका थिए । केहीबेरमै आइपुगे भर्खरै जेलबाट छुटेका पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङ्गे । उनको स्वागत गर्ने युवाहरूको भीड र तछाडमछाड थियो त्यहाँ । नेपाली कांग्रेसका नेता गणेश लामादेखि कांग्रेसका अन्य कार्यकर्ताको पनि बाक्लै उपस्थिति थियो । कार्यक्रममा पुगेका युवाहरू ‘दिपक दाईको कार्यक्रम छ’ भन्दै आइरहेका थिए । जेलबाट छुटेका मनाङ्गे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा स्वागत गरे । मनाङ्गे ज्यान मार्ने उद्योगको कसुरमा कैद काटेर डिल्लीबजार कारागारबाट बुधबार मात्र छुटेका थिए । नोभा क्लबको आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम मनाङ्गे नै प्रमुख अतिथि थिए । उनलाई स्वागत गर्न राखिएको कार्यक्रममा उनी केन्द्रबिन्दुमा देखिनु सामान्य नै थियो । स्वागत कार्यक्रममा चिया तथा बिस्कुट राखिएको थियो । सबै युवाहरू खादा र माला लगाउँदै चिया पिउँदै गफिरहेका थिए । सबैभन्दा रोचक पक्ष त कार्यक्रममा सहभागी युवाहरूले भनिरहेका थिए– ‘दीपक दाईको कमब्याक भयो ।’ त्यतिका धेरै युवाहरू भने ठमेलका मात्र थिएनन् । ठमेलदेखि बाहिरबाट समेत उनीहरू त्यहाँ आएका थिए ।  एक समय मनाङ्गे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा परिचित थिए । उनले ठमेलबाटै आफ्नो परिचय बनाए । उनको उपस्थितिबिना त्यहाँ कुनै काम गर्न पाइँदैनथ्यो । उनलाई असुली बुझाउने शर्तमा काम अगाडि बढ्ने गरेको चर्चा पनि हुन्थ्यो । उनी जब राजनीतिमा लागे, उनको परिचय बदलियो । समाजसेवी र राजनीतिको रूपमा उनको परिचय बन्यो । मनाङ्गे स्वतन्त्र सांसदका रूपमा गण्डकी प्रदेशसभाका सदस्य बने ।  कुनै समय कानुनले नगर भनेकै मात्र काम गरिहिँड्ने मनाङ्गेसँग कानुन बनाएको अनुभव समेत छ । अहिले कानुन र समाजको बारेमा राम्रो ब्रिफिङ दिनसमेत पोख्त भएका छन् । उनी सुशासन, सभ्य समाज र राष्ट्र निर्माण गर्ने दौडमा लागेकाले पनि होला उनको स्वागत र सम्मानमा युवाहरूको उपस्थिति थियो । उनै मनाङ्गे अहिले भने अहिले मुलुक र समाजलाई राम्रो कर्म गरेर युवाहरूलाई जोड्न सकिने बताउने गरेका छन् ।  काठमाडौंका एक उच्च प्रहरी अधिकारीले भने उनको भेलालाई लिएर केही शंकाको सुविधा दिनु पर्ने बताए । उनका अनुसार अहिले पनि ठमेलमा मेरो उपस्थिति रहने तथा प्रभाव रहेको सन्देश दिन खोजेको जस्तो देखिन्छ । ठमेलका व्यवसायीलाई यहीँ भीडभाड देखाएर आफ्नो प्रभाव देखाउन खोजिएको जस्तो देखिने ती प्रहरीको बुझाइ छ । राजनीतिमा लागिसकेकाले उनले यहीँ भीडलाई देखाएर राजनीतिमा प्रवेश गर्ने पनि सम्भावना उत्तिकै रहेको उनले बताए । ठमेलमा मनाङ्गेको कार्यक्रम भएको बारेमा जानकारी भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले  बताए । उनको सम्मान, स्वागत कार्यक्रम तथा भेलालाई व्यक्तिको स्वतन्त्रता तथा भेला हुने र कार्यक्रम गर्न पाउने अधिकार रहेको भन्दै सामान्य रूपमा हेरिएको धारणा राखे । कुनै पनि व्यक्तिको अपराध तथा आपराधिक क्रियाकलाप बढेको खण्डमा प्रहरीले निगरानी गर्ने उनको भनाइ छ । प्रहरीले भने उनको भेलालाई सामान्य रूपमा लिएको उनको धारणा छ । त्यसो त शनिबारको स्वागत कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लै उपस्थिति थियो । कार्यक्रममा मनाङ्गेको छेउमा अर्का नेपाली कांग्रेसका युवा नेता गणेश लामाको उपस्थिति थियो । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उनी शेरबहादुर देउवा पक्षमा खुलेका थिए । विशेष महाधिवेशनपछि लामाले पार्टी कार्यालयको सुरक्षासमेत दिएका थिए । विशेष महाधिवेशन पक्षधर गगन थापा समूहलाई उपस्थिति हुन नदिनलाई लामा समूहले पार्टी कार्यालयको सुरक्षा दिएर बसेका थिए । मनाङ्गेको राजनीतिक यात्रा बारम्बार विवादमा पर्दै आएको थियो । सायद अब त्यहीँ विवादित चरित्रलाई सुधार्ने पक्षमा उनी देखिएकाले राजनीतिको मैदानमा देखिने लामाको उपस्थितिले संकेत गर्छ । गत असारमा सर्वोच्च अदालतले मनाङेलाई गण्डकी प्रदेशको सांसदबाट पदमुक्त गरेको थियो । उनी मनाङ प्रदेश (२) बाट निर्वाचित भएका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवैधानिक इजलासले फौजदारी कसुरमा सजाय पाएको हुनाले उनको निर्वाचित पद जारी रहन नसक्ने फैसला गरेको थियो ।  अधिवक्ता वीरेन्द्रराज कार्कीले फौजदारी अभियोग लागेका मनाङ्गे प्रदेशसभा सदस्य हुन अयोग्य भएको भन्दै उनको उम्मेदवारी नै खारेज गराउन माग गर्दै निर्वाचन आयोगविरुद्ध २०७९ पुस ११ मा रिट दायर गरेका थिए । विसं २०६१ वैशाख ३१ गते महाराजगन्जमा खुकुरी प्रहारबाट चक्रे मिलनको हात काटिएको थियो । सोही घटनामा अभियुक्त ठहर गर्दै मनाङ्गे जेल परेका थिए । सोही मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङे यस पटक एक वर्ष ४ महिना कैद भुक्तानी गरेर छुटेका हुन् । जेनजी आन्दोलनका बेला भदौ २४ गते देशभरका जेलबाट कैदीबन्दीहरू भाग्दा मनाङ्गे ‘फेरि आउनुपर्छ, किन भाग्ने ?’ भन्दै जेलमै बसेका थिए । उनी आफू मात्रै बसेनन्, आफूसँगै रहेका अन्य कैदीबन्दीलाई पनि रोकेका थिए।