काठमाडौं । लक्ष्मी स्टिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११.९० प्रतिशत अर्थात् १ अर्ब १६ करोड ७० लाख रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ८० करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । बजारमा रहेको स्वस्थ माग, बिक्री परिमाणमा वृद्धि तथा आयोजनासम्बन्धी बिक्री बढेकाले आम्दानीमा सुधार आएको कम्पनीले जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ५४ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८० करोड ७३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ६ अर्ब ७६ करोड १० लाख रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा ७ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ, आर्थिक वर्ष २०७३/७४ मा ६ अर्ब ५४ करोड १० लाख रुपैयाँ र आर्थिक वर्ष २०७२/७३ मा ३ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सौरभ ग्रुपअन्तर्गतको लक्ष्मी स्टिल्स सन् २००८ अगस्टमा स्थापना भएको हो । नवलपरासीको सुनवलमा उद्योग स्थापना गरी सञ्चालन गर्दै आएको कम्पनीले बिलेट, टिएमटी स्टिल बार तथा तार उत्पादन गर्दै आएको छ । कम्पनीको टिएमटी रड उत्पादन क्षमता वार्षिक १ लाख ५० हजार मेट्रिक टन रहेको छ भने बिलेट उत्पादन क्षमता वार्षिक १ लाख ८० हजार मेट्रिक टन रहेको छ ।
कम्पनी पाँच सदस्यीय सञ्चालक समितिबाट सञ्चालित छ । कम्पनीका अध्यक्ष टीकाराम न्यौपाने रहेका छन् भने सञ्चालकमा बिमल कुमार सवार्थिया, दुर्गा प्रसाद न्यौपाने, अंकुर न्यौपाने र आश्ना अग्रवाल रहेका छन् ।
कम्पनीको सञ्चालन नाफा दरमा पनि सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ४.८४ प्रतिशत रहेको सञ्चालन नाफा दर आर्थिक वर्ष २०८१/८२ मा बढेर ६.५८ प्रतिशत पुगेको थियो । उत्पादन परिमाण बढ्दा प्राप्त भएको लागत लाभ तथा कच्चा पदार्थको लागतमा आएको कमीले सञ्चालन नाफा दर सुधार्न सहयोग गरेको हो । यद्यपि, आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन नाफा दर केही घटेर ६.०२ प्रतिशतमा झरेको छ । ब्याज खर्च घटेका कारण कम्पनीको खुद नाफा दर भने ३.७८ प्रतिशतमा कायम रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा दर ४ प्रतिशत थियो ।
आम्दानी तथा नाफामा सुधार आएसँगै कम्पनीको ऋण तिर्ने क्षमतासम्बन्धी सूचकमा पनि सुधार आएको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको कुल ऋण सेवा क्षमतासम्बन्धी आम्दानी ५१ करोड ५० लाख रुपैयाँ पुगेको छ । यसले कम्पनीको ऋण तिर्ने क्षमता तथा वित्तीय लचकता बलियो बनाउन सहयोग गरेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ७७ करोड रुपैयाँ ऋण लिएको छ । विद्यमान सेयरधनी तथा निजी इक्विटी र उद्यम पुँजी लगानीकर्ताबाट प्रिमियममा थप स्वपुँजी लगानी भएपछि कम्पनीको पुँजी संरचना बलियो बनेको हो । कम्पनीले २० लाख कित्ता थप सेयर जारी गरेको थियो । त्यसबाट प्राप्त रकम आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा दीर्घकालीन ऋण पूर्ण रूपमा भुक्तानी गर्न प्रयोग गरिएको थियो ।
कम्पनीले आफ्नै बिलेट उत्पादन इकाइ सञ्चालन गर्दै आएको छ । आफ्नै उत्पादनबाट कच्चा पदार्थको सुनिश्चित उपलब्धता तथा लागत बचत हुने भएकाले यसले सञ्चालन दक्षता र नाफा दरमा सहयोग पुगेको कम्पनीको भनाइ छ । आगामी मध्यम अवधिमा समेत यसले कम्पनीको आम्दानी तथा नाफा स्थिर राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीको उत्पादन केन्द्र पनि रणनीतिक स्थानमा रहेको छ । नवलपरासीको सुनवलमा रहेको उद्योग भैरहवा भन्सार नाकाबाट करिब २५ किलोमिटरको दूरीमा छ । भारत–नेपाल सीमासँगको नजिकको अवस्थाले कच्चा पदार्थ समयमै तथा तुलनात्मक रूपमा कम लागतमा आयात गर्न सहज बनाएको छ । यसले उत्पादन लागत व्यवस्थापन तथा घरेलु बजारमा कम्पनीको लागत प्रतिस्पर्धात्मकता बढाउन सहयोग गरेको जनाएको छ।
कम्पनीका अनुसार स्टिल उद्योगमा तीव्र प्रतिस्पर्धा र धेरै कम्पनीको उपस्थिति रहेकाले बजार माग कमजोर रहेका बेला बिक्री कायम राख्न कम्पनीले ग्राहकलाई सामान्य दुई महिनाभन्दा लामो अवधिको उधारो सुविधा दिएको छ । यसका कारण आर्थिक वर्ष २०८२/८३ मा ग्राहकबाट रकम उठाउने औसत अवधि बढेर ७६ दिन पुगेको छ ।
कम्पनी कच्चा पदार्थ आयातमा निर्भर रहेकाले तुलनात्मक रूपमा बढी मौज्दात कायम गर्नुपर्ने अवस्था छ । साथै, दृष्टि साखापत्रमार्फत अग्रिम भुक्तानी गर्नुपर्ने भएकाले आपूर्तिकर्तालाई भुक्तानी गर्ने अवधि पनि कम रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा आपूर्तिकर्तालाई भुक्तानी गर्ने औसत अवधि १४ दिन रहेको छ । समग्रमा कम्पनीको सञ्चालन चक्र आर्थिक वर्ष २०८१/८२ को ९४ दिनबाट बढेर आर्थिक वर्ष २०८२/८३ मा ९९ दिन पुगेको छ ।
कम्पनीको नाफा तथा वित्तीय स्थायित्वमा आयात शुल्कसम्बन्धी नीतिको प्रभाव रहने भएकाले नियामकीय जोखिम पनि रहेको छ । नेपाल सरकारले टिएमटी बार र बिलेटजस्ता तयारी स्टिलजन्य वस्तुको आयातमा लगाउँदै आएको उच्च भन्सार शुल्कले स्वदेशी उत्पादकलाई प्रतिस्पर्धात्मक आधार प्रदान गरेको कम्पनीले जनाएको छ । आयात शुल्क घटेमा वा हटाइएमा सस्तो आयातित स्टिलसँगको प्रतिस्पर्धा बढ्न सक्ने र त्यसले कम्पनीको बिक्री, नाफा तथा ऋण तिर्ने क्षमतामा असर पार्न सक्ने देखिन्छ ।
त्यस्तै, कम्पनीले प्रयोग गर्ने कच्चा पदार्थमध्ये ६५ प्रतिशतभन्दा बढी अमेरिकी डलरमा आयात हुने गरेको छ भने बिक्रीबाट हुने आम्दानी नेपाली रुपैयाँमा हुने गरेको छ । यसले कम्पनीलाई विदेशी मुद्रा विनिमय दरमा हुने उतारचढावको जोखिममा राखेको छ । अमेरिकी डलरमा आधारित ट्रस्ट रिसिप्ट कर्जा तथा उधारो भुक्तानी अवधिका साखापत्रमा निर्भरता रहेकाले विदेशी मुद्रा जोखिम थप रहेको छ । यद्यपि कम्पनीले जोखिम व्यवस्थापनका लागि विदेशी मुद्रा जोखिम न्यूनीकरण गर्ने वित्तीय साधन प्रयोग गर्दै आएको छ ।