उन्नति सहकार्य लघुवित्तका सेयरधनीको हात खाली, लाभांश नपाउने

काठमाडौं । यो वर्ष उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीको हात खाली हुने भएको हो । फागुन २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, उक्त बैठकले उक्त आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै, अघिल्लो आवमा संस्थाले सेयरधनीलाई १७.८१ प्रतिशत बोनस सेयर वितरण गरको थियो ।

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, ३ अर्ब पूँजी पुर्याइने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले चैत २० गते, आम्रपाली ब्याङ्क्वेट बालवाटार काठमाडौंमा बिहान साढे १० बजे वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँनीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यस्तै, अधिकृत पूँजी १.५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

एक लघुवित्तले जम्मा गर्याे ३० प्रतिशत बोनस डिम्याट खातामा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत माघ १३ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले पारित गरेको ३० प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश वितरण गरेको हो । लघुवित्तले बुक क्लोज गरेको दिन (माघ २ गते)सम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।