नागरिक लगानी कोषको बैंकमा राखेको १ अर्ब रुपैयाँ डुब्यो
काठमाडौं । नागरिक लगानी कोषले विभिन्न बैंकमा गरेको झण्डै १ अर्ब रुपैयाँ बराबरको लगानी डुबेको छ । लगानी कोषका अनुसार विभिन्न बैंकको मुद्दती निक्षेपमा गरेको लगानी डुबेको हो । कोषको तथ्याङ्क अनुसार समस्याग्रस्त मुद्दती खातामा ७५ करोड ७१ लाख ८३ हजार ५७४.३० रुपैयाँ फसेको छ । गत वर्ष समस्याग्रस्त खातामा ६३ करोड ५ लाख रुपैयाँ लगानी रहेको थियो । कोषले लगानी गरेका फाइनान्स कम्पनीहरू विभिन्न कारणले डुबेपछि उक्त रकम फसेको कोषकी कामु निर्देशक सोभा श्रेष्ठले बताइन् । उक्त साँवा रकमको ब्याज बढ्दै गएपछि समस्याग्रस्त रकम पनि बढेको कोषले जनाएको छ । लगानी कोषले हालसम्म २ खर्बभन्दा बढी रकम लगानी गरेको छ । तर, विभिन्न फाइनान्सको मुद्दती निक्षेपमा लगानी गरेको रकम डुबेपछि असुल हुने सम्भावना न्यून रहेको हो । कामु निर्देशक श्रेष्ठका अनुसार कोषले हिमालयन फाइनान्स, कृष्टल फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स र नेपाल सेयर मार्केट फाइनान्समा उक्त रकम लगानी गरेको थियो । तर, ती कम्पनीहरू नै विभिन्न कारणले सञ्चालनमा आउन नसकेपछि कोषको रकम पनि फसेको उनले बताइन् । उक्त रकम फिर्ता आउने सम्भावना न्यून रहेको उनको भनाइ छ । तीन वटा संस्थाको लगानी फिर्ता आउने झिनो आशा भएपनि हिमालयन फाइनान्सको मुद्दती निक्षेपमा गरेको लगानी भने डुबेको कामु निर्देशक श्रेष्ठले बताइन् । ‘हिमालयन फाइनान्सको रकम डुबिसक्यो, अन्य फाइनान्समा फिर्ता आउने झिनो आशा छ, क्यापिटल मर्चेन्टको लाइबिलिटीज भन्दा एसेट बढी छ, सेयर मार्केट पनि कमजोर संस्था होइन, राष्ट्र बैंकसँगको मुद्दामामिलाले गर्दा समस्यामा परेको हो, हिमालयन फाइनान्स लिक्वीडिसनमा गयो, कृष्टल फाइनान्सको एउटा भवन छ, त्यो भवन बिक्री भएपछि पैसा आउने आशा छ,’ उनले भनिन् ।
रिलायन्स फाइनान्सले एम्स कलेजमा सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम
काठमाडौं । रिलायन्स फाइनान्स बुटवल शाखाको आयोजनामा वित्तिय साक्षरतका कार्यक्रम सम्पन्न भएको छ । फाइनान्सले एम्स कलेज बुटवलमा बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभुत ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको जनाएको छ । सो कार्यक्रममा करिब ११० जना विद्यार्थीको सहभागिता रहेको क्षेत्रीय प्रबन्धक शालिकराम पन्थीले जानकारी दिए । सो कार्यक्रममा नेपाली बैंकिङको सुरुवात, बचत तथा ऋणको व्यवस्थापन, ऋणको प्रयोग र उचित व्यवस्थापन, डिजीटल बैंकीग, रेमीटान्स प्रणाली लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । एम्स कलेजका प्रबन्ध निर्देशक गोपाल न्यौपानेकोे अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथीले वित्तिय साक्षरता कार्यक्रम गरेकोमा आभार प्रकट गरेका थिए । हाल यस फाइनान्सले देशभर २२ वटा शाखाबाट सेवा दिँदै आइरहेको छ ।
स्वावलम्बन लघुवित्त पनि नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झाैता भएकाे छ । सम्झाैता अुनुसार लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने छ । सम्झौता पत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह विष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात स्वावलम्बन लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ । यस अन्तर्गत स्वावलम्बन लघुवित्तले एनसिएचएल आइपिएस र आरपिएस कनेक्ट आइपिएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।