एउटै व्यक्तिको ८ वटा लघुवित्तमा ऋण

रेसुङ्गा । गुल्मीको धुर्कोट गाउँपालिका–६ की विजुला परियार हाल चार वटा लघुवित्त संस्थामा आवद्ध छिन् । उनको हाल यी संस्थामा कूल १३ लाख ऋण छ । परियार पहिले एक लघुवित्तमा मात्र आवद्ध थिइन् । सो लघुवित्त संस्थाबाट ऋण लिएपछि त्यही ऋण तिर्न एकपछि अर्को गर्दै लघुवित्तमा आवद्ध भइन् । यसरी एउटा संस्थाबाट ऋण लिएर अर्कोमा तिर्दा न पहिलेको चुक्ता हुन सक्यो, न पछिल्लोमा भार घट्यो । ऋण तिर्न लिएको ऋणमध्येको केही परियारले घरखर्चसमेत चलाइन् । अहिले परियार आफूले ऋण तिर्न ऋण लिएपछि ऋणको चङ्गुलमा परेको स्वीकार गर्छिन् । ‘उद्यमशीलतातर्फ लगानी गर्ने ध्यान भएन’, उनले भनिन, ‘हिलोले हिलो पखाल्दा कहिल्यै सफा भएन ।’ उनले ऋण लिएर ऋण तिर्दा ऋणबाट उम्कन नसकेको बताइन् । परियार हाल धौलागिरि, माइक्रो, चौतारी र सूर्याेदय गरी चार वटा लघुवित्त संस्थामा आवद्ध छिन् । एकल महिला भएकाले सुरूमा खुसी भएर संस्थामा लागेकी उनले लिएको ऋण कुनै व्यवसायमा लगाइनन् । उनले ऋण लिएर घरखर्च, बिरामी र अर्को सहकारीको ऋण तिरिन् । एकबाट ऋण लिएर अर्कोमा तिर्दा ऋणको घेराबन्दीमा आफू परेको परियारको भनाइ छ । जिल्लाकै छत्रकोट गाउँपालिका–२ की जमुना सोमरे पनि हाल सात वटा लघुवित्त संस्थामा आवद्ध छिन् । गत असारमा पाँच वटाको ऋण जेनतेन चुक्ता गरे पनि दुई लघुवित्तलाई तीन लाख रुपैयाँ तिर्न बाँकी छ । उनको समस्या पनि उही हो । ‘पहिले लिएको ऋण बिरामी परेपछि खर्च भयो’, उनले भनिन्, ‘पछिल्ला संस्थाको ऋण अघिल्ला संस्थाको तिर्दातिर्दै बाँकी रह्यो ।’ कुनै व्यवसाय नभई ऋण तिर्न ऋण लिँदाको परिणाम आफूले भोगेको सोमरेको भनाइ छ । गुल्मी दरबार गाउँपालिका–४ की रेमकला पेमीले पनि आठ वटा लघुवित्तबाट ऋण लिएकी छिन् । ऋण लिएर चार लघुवित्त संस्थामा तिरे पनि पाँच लाख ऋण बाँकी छ । पेमीसँग ऋण तिर्ने अब कुनै उपाय रहेन । कुनै उद्यमशीलतामा लगानी गर्ने नभई घरखर्चको जोहो गर्न ऋण लिएको पेमी सम्झन्छिन् । उनी अहिले निस्कनै नसकिने ऋणको तलाउमा डुबेकी छिन् । ‘रातमा निद्रा न दिउँसोमा भोक तिर्खा छ’, उनले भनिन्, ‘चाहेर पनि लघुवित्तबाट उम्कन सकिएन ।’ ऋण लिएपछि लगानीको बाटोमा नभई ऋण तिर्नेतर्फ केन्द्रित भएको उनको भनाइ छ । धुर्कोट गाउँपालिका–६ का राजन भण्डारी दुवै खुट्टा राम्रोसँग टेक्नु हुन्न । दुई लठ्ठीको सहारामा यताउता गर्ने भण्डारी लघुवित्तको ऋणले हल न चल भएका छन् । उनले गाउँभर ऋण खोजेर लघुवित्तमा तिर्दा पनि बाँकी तीन लाख ऋण छ । उतिबेला घरमै सदस्य बनाउन लघुवित्त आएपछि उनी खुसीले गदगद भए । ऋण पाउने भएपछि झनै हर्षका आँशु खसे । तर, ऋण तिर्न ऋण लिएको परिणामले राजनका आँखामा आँशु ओभाएका छैनन् । ‘लघुवित्तको ऋण तिर्न गाउँभर डुलेँ’, उनी भन्छन्, ‘गाउँका कुनै व्यक्तिले पनि पत्याएन् न त लघुवित्त संस्था नै अब कर्जा दिन तयार छ । अब मेरो ऋण तिर्ने उपाय छैन ।’ ऋण लिएर ऋण तिरेपछि समस्या बल्झिँदै गएको उहाँको भनाइ छ । गुल्मी दरबार गाउँपालिका–१ की गोटेली सिञ्जाली र वडा नं ४ की हुमकला घर्ती पनि सोही समस्याबाट पीडित छिन् । उनीहरू पनि पाँचभन्दा बढी लघुवित्तमा आवद्ध छिन् । ऋण नतिर्ने डरका कारण लघुवित्तले तमसुक बनाइदिएको छ । ऋण तिर्न ऋण लिएपछि ऋणको चङ्गुलमा परेको उनीहररू स्वीकार गर्छिन् । यो समस्याबाट जिल्ला धेरै व्यक्ति गुज्रिएका छन् । गुल्मी जिल्लामा मात्र १० हजारभन्दा बढी महिला यो समस्याबाट ग्रसित रहेको बताइएको छ । गुल्मीमा २८ लघुवित्त संस्थाले झन्डै एक अर्ब रुपैयाँ लगानी गरेका छन् । यो लगानी उठ्नुको सट्टा ऋण नतिर्ने भन्दै आन्दोलन चर्किन थालेको छ । सामान्य समस्यालाई बहाना बनाएर ऋण मिनाहाको माग गर्दै आन्दोलन गर्नेक्रम निरन्तर बढिरहँदा ती लघुवित्त संस्था पनि ठूलो आर्थिक सङ्कटमा फसेका छन् । अधिकांश ऋणी अहिले आफूहरुको ऋण मिनाहा हुनुपर्ने माग गर्न थालेका छन् । लघुवित्तसम्बन्धी हालको समस्या आउनुमा त्रिपक्षीय त्रुटी छ । ऋणी, लघुवित्त र स्थानीय तहको गैरजिम्मेवारीपनले समस्या विकराल बनेको देखिन्छ । ऋणीहरू व्यावसायिक योजना नबनाइ ऋण लिने, ऋण लिएर ऋण तिर्ने र घरखर्च गर्नाले लघुवित्तको समस्या बढ्दै गएको हो । लघुवित्तले ऋण लैजान अनिवार्य गर्ने, पारिवारिक सहमतिबिना दिने र उद्यमशीलतामा लगानी नगरे पनि हुने गर्नाले समस्या भएको हो । स्थानीय सरकारले ग्रामीण भेगका महिलालाई आम्दानीमूलक कार्यक्रमका तालिम नदिने, लघुवित्तको जबर्जस्तीपनलाई बेवास्ता गर्नाले समस्या थप बढेको जानकारहरु बताउँछन् । यतिबेला देशभर लघुवित्तलाई गलत देखाउँदै ऋण नतिर्नका लागि देशव्यापी मोर्चासमेत बनेको छ । लघुवित्तविरुद्धको सङ्घर्ष समिति नेपालको अध्यक्ष बनेर गुल्मीका मनिराम ज्ञवाली ऋण मिनाहाको माग गर्दै हिँडेका छन् । उनी ऋण नतिर्नका लागि निरन्तर आन्दोलनमा छन् । लघुवित्तले राष्ट्र बैंकको निर्देशिका बाकसमा च्यापेको ज्ञवालीको आरोप छ । ‘ऋण लिएपछि तिनुपर्छ भन्ने थियो’, उनले भने, ‘लघुवित्तको अन्यायपूर्ण ऋण मिनाहा हुनैपर्छ ।’ लघुवित्तले ग्रामीण महिलालाई आर्थिक र सामाजिक शोषण गरेको उनको आरोप छ । उनकै नेतृत्वमा केही दिन अगाडि गुल्मीको सदरमुकाम तम्घासमा जिल्लाभरका महिला जम्मा भएर आन्दोलन समेत गरेका थिए । ‘गुल्मीको एक लघुवित्तका सञ्चालक अर्जुन आचार्यले ऋण लिएपछि ऋण तिर्नैपर्ने बताउनुहुन्छ । “समस्याको पहिचान हुनुपर्छ,’ उनले भने, ‘कमजोरी होलान् तर नकारात्मकरुपले अगाडि बढेर भएन ।’ उनले ऋणी र लघुवित्तका खास समस्याबारे स्थानीय तहले चासो दिनु सकारात्मक रहेको बताए । धुर्कोट गाउँपालिकाले लघुवित्त संस्था र ऋणीको खास समस्याबारे पहलकदमी काम गरेको छ । ‘आत्महत्या होइन उद्यमशीलता–ताला चाबी होइन खेतबारी हरियाली’ भन्ने अभियानका साथ ऋणी र लघुवित्त संस्थाबीच गाउँपालिकाले छलफल गरेको पालिका अध्यक्ष भूपाल पोखरेलले बताए । ‘समस्या लघुवित्त संस्था र ऋणी दुवैमा रहेछ’, उनले भने, ‘कृषि र पशुपालनको उद्यमशीलतामा ऋणी केन्द्रित हुनुपर्र्छ ।’ उनले आफूहरूले पनि उद्यम गर्ने गरी तालिम प्रदान गर्नेलगायतका कार्यक्रम ल्याउने बताए । लघुवित्त संस्थाले ब्याजदर घटाउने, पारिवारिक सहमतिमा ऋण दिने, ऋण तिर्न ऋण नदिने, व्यावसायिक योजना बनाउनेलाई मात्र ऋण दिनेलागयतका काम गर्नुपर्ने तथा ऋणीले पनि व्यवसायमा लगानी गर्ने, ऋण लिएर फजुल खर्च नगर्ने र समयमै किस्ता र ब्याज तिर्नुपर्ने साथै ऋण लिएर ऋण तिर्ने परिपाटीको अन्त्य गर्ने सम्झौता भएको छ । यसमा स्थानीय तहले ऋणीलाई उद्यमशील बनाउन तालिम दिने, उत्पादित वस्तुको बजारीकरण गर्ने, सीपमूलक तालिम र औजार वितरण गर्ने गरी त्रिपक्षीय सहमति भएको हो । लघुवित्त संस्थाका प्रमुख तथा प्रतिनिधि र ऋणीले संयुक्त हस्ताक्षर गरेर धुर्कोट गाउँपालिकामार्फत नेपाल सरकारलाई समेत अनुरोध गरेका छन् । भेलामा उपस्थित ४० जनाले हस्ताक्षर गरेर लघुवित्त संस्थाका कानुन संशोधन गर्ने, एक पालिकामा एक लघुवित्तले मात्र लगानी गर्ने, विपन्न परिवारलाई सस्तो दरमा ऋण दिने, लघुवित्तको अनुगमन स्थानीय तहलाई दिने, ग्रामीण क्षेत्रमा लगानीको ब्याजदर एक अङ्कमा झार्ने, प्राकृतिक प्रकोप र जटिल रोगबाट ग्रसित परिवारको ऋण मिनाहा गर्नुपर्ने भन्दै ऋणी, लघुवित्त र गाउँपालिकाले संयुक्त अनुरोध गरेका छन् । रासस

एनएमबि लघुवित्तको साधारणसभा २०८० सालमा हुने, लाभांश पारित गर्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले १० औं बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त सञ्चालक समितीको चैत ५ गते बसेको बैठकले २०८० बैशाख १५ गते पोखरा कास्कीमा साढे १२ बजे वार्षिक साधारसभा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ लघुवित्तको सभाले आर्थिक वर्ष २०७/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी वृद्धि हुने र केन्द्रिय कार्यालय रहने ठेगाना प्रबन्धपत्र मासंशोधन गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनको लागि चैत १७ गतेदेखि २०८० बैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरु साधारण सभामा सहभागि हुन सक्नेछन् ।

कालिका लघुवित्तको साधारणसभा आह्वान, पूँजी सरंचना परिवर्तन र लाभांश पारित गर्ने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १३ औं बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त सञ्चालक समितीको चैत ५ गते बसेको बैठकले चैत २९ गते पोखरा कास्कीमा बिहान ९ बजे वार्षिक साधारसभा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कूल २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ । बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । यस्तै, संस्थाको हाल कायम पूँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहका सेयर स्वामित्व ६४.५२ प्रतिशत र ३५.४८ रहेकोमा नियमनकारी निकायबाट स्वीकृति गरी संस्थापक समूहको ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनको लागि चैत १६ गतेदेखि चैत २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरु साधारण सभामा सहभागि हुन सक्नेछन् ।