राष्ट्र बैंकले दोस्रो पटक घटायो जीवन विकास लघुवित्तको लाभांश, अब कति पाउँछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पछि जीवन विकास लघुवित्तको लाभांश दोस्रो पटक घटाइएको छ । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२८५ प्रतिशत बोनस सेयर र ०.७१४१ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद गरी कूल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद गरी कूल ३३.१५ प्रतिशत लाभांश वितरण गरेको थियो । पुनः राष्ट्र बैंकको निर्देशन भन्दै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत्र ३० गते मोरङको कटहरी स्थित केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा बोलाएको छ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिई लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ कम्पनीको साधारणसभा आज हुँदै, लाभांश र मर्जर मुख्य एजेण्डा

काठमाडौं । तीन लघुवित्तसहित ४ वटा संस्थाको बार्षिक साधारणसभा शुक्रबार हुने भएको छ । छिमेक लघुवित्त, साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको वार्षिक साधारणसभा आज चैत्र १० गते बस्ने भएको हो । छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा हेटौंडा–४ मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कूल २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ । लघुवित्तको सभाले अधिकृत पुँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउनेछ । साथै, बोनस सेयर वितरणपश्चात् चुक्ता पूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने प्रस्तावसमेत पारित गर्नेछ । यस्तै, साना किसान लघुवित्तको २४ औँ वार्षिक साधारणसभा कृषि विकास बैंक केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.३६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, आरएमडिसी लघुवित्तको २४ औँ बार्षिक साधारणसभा अमृत भोग कालिकास्थान, काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साना किसाना लघुवित्त र आरएमडिसी लघुवित्तको सभाले एकआपसमा मर्ज हुने सम्बन्धी प्रस्तावहरु प्नि पारित गर्नेछन् । आरएमडिसी लघुवित्तको १ कित्ता सेयर बराबर साना किसान लघुवित्तको ०.८७ कित्ता (१ः०.८७)को स्वाप रेसियोमा मर्ज हुनेछन् । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा त्रिभुवन आर्मी अफिर्स क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सानिमा रिलायन्सको एकीकृत कारोबार सुरु, सिनर्जी ल्याएर प्रतिफल बढाउने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार सुुरु भएको छ । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । दुई कम्पनीबीच एकीकृत कारोबारसँगै अब थप सिनर्जी उत्पन्न गरेर प्रतिफल बढाउने कम्पनीको दाबी छ । यी दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसको ८ महिनापछि एकीकृत कारोबार गर्न सफल भएका हुन् । प्राधिकरणले गत फागुन १८ गते दुई कम्पनीलाई स्वीकृति दिएको थियो । दुई कम्पनी बराबर हैसियत अर्थात् सेयर अनुपात १ः१ स्वाप रेसियोमा एकीकृत कारोबार गरेका हुन् । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । साथै, अब कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोष ७७ करोड ५९ लाख रुपैयाँ र सेयरधनी कोष ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । साथै, मर्जर पश्चात् कम्पनीको खुद नाफा २८ करोड ३० लाख रुपैयाँ र लगानी १३ अर्ब ५० करोड रुपैयाँ पुगेको जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बनेका छन् भने कम्पनीको सञ्चालक समिति अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् ।