अब अनलाइनबाटै बीमा अभिकर्ताको व्यवस्थापन गरिने, अध्यक्ष भन्छन् : अनुगमनमा सहज हुन्छ
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन गर्ने कार्य शुरु गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको समान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि उक्त कार्य शुरु गरेको हो । प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ताको व्यवस्थापन गर्ने कार्य शुरु गरेका हुन् । अध्यक्ष सिलवालले अनलाइन प्रणालीका माध्यमबाट बीमा अभिकर्ताको व्यवस्थापन भएपछि बीमा अभिकर्ताको परिचय, रहने स्थान र आवद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी प्राप्त हुने हुँदा बीमा अभिकर्ताको अनुगमन गर्न सहज हुने बताए । साथै, उनले बीमा व्यवसायमा वृद्धि भएसँगै बीमा अभिकर्ताको सङ्ख्या पनि बढ्ने भएकाले विश्वसनीय ढंगले जिम्मेवारी बोधका साथ बीमा अधिकर्ताले काम गर्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनलाइन प्रणालीमार्फत बीमा अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण कार्यमा कुनै समस्या आउन नदिन र आएमा तत्काल समाधान गर्न निर्देशन दिए । प्राधिकरणले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ताको व्यवस्थापनको कार्यसँगै विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायहरुबाट नवीकरण दस्तूर भुक्तानी गरी बीमा मध्यस्थकर्ता (बीमा अभिकर्ता र सर्भेयर) को इजाजतपत्र नवीकरणको व्यवस्थालाई निरन्तरता दिएको छ । १ लाख ६३ हजारको मात्रै लाइसेन्स नवीकरण प्राधिकरणमा बीमकहरु मार्फत अनलाइन प्रणालीका माध्यमबाट हालसम्म १ लाख ६३ हजार ९२५ जनाको संख्यामा बीमा अभिकर्ताले स्थायी लेखा नम्बर समेत आवश्यक कागजात समावेश गरी आ-आफ्नो विवरण अद्यावधिक गराएका छन् । बीमा अभिकर्ताको इजाजतपत्र अद्यावधिक गर्नका लागि योग्य देखिएका बीमा अभिकर्ताको सङ्ख्या २ लाख २१ हजार ८५० रहेकोमध्ये सो मात्राको अद्यावधिक भएको हो । र, बाँकी ५७ हजार ९२५ को भने अद्यावधिक गर्ने कार्य प्रक्रियामा रहेको छ । अनलाइन प्रणालीमा बीमा अभिकर्ताले प्रविष्ट गरेको स्थायी लेखा नम्बरका आधारमा अध्ययन गर्दा समान प्रकृतिका दुई वा दुईभन्दा बढी बीमा कम्पनीमा कार्य गर्ने बीमा अभिकर्ताहरुको संख्या ५ हजार ४५ रहेको पाइएको छ । एकभन्दा बढी बीमकमा कार्यरत बीमा अभिकर्ताहरुलाई एउटा बीमक छान्न मिल्ने व्यवस्था वान टाइम पासवर्ड (ओटीपी) मार्फत गरिएको छ । साथै, अनलाइन प्रणाली मार्फत बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण भएको जानकारी इमेल मार्फत सम्बन्धित व्यक्तिलाई जानकारी दिने व्यवस्था समेत मिलाइएको छ । कार्यक्रममा बीमा प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले अनलाइन प्रणालीका माध्यमबाट एक बीमक एक अभिकर्ताको व्यवस्थापन र इजाजपत्र नवीकरण लगायतका बारेमा प्रस्तुति गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र निर्देशक पूजन ढुङ्गेल (अधिकारी) तथा उपनिर्देशकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
‘आइएमई पे’ मा पैसा लोड गर्दा सामसङ ग्यालेक्सी बड्स २ जित्न सकिने
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकहरुले लिंक गरेको बैंकको खाताबाट, एम–बैंकिङ्ग वा इ–बैंकिङबाट, डेबिटरक्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसङ ग्यालेक्सी बड्स २ जित्नेछन् । चैत्र १ देखि १५ गते सम्म चल्ने यस अफरमा लागु हुने कम्पनीले जनाएको छ । यसका साथै, हरेक दिन कम्तिमा १ पटक सोहि माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ हजार रुपैयाँ जित्ने मौका पनि पाउनेछन् ।
एनआईबिएल एस क्यापिटलको म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईबिएल एस क्यापिटलले लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको छ । क्यापिटलले सिटीटेकमा कार्यरत विभिन्न तहका कर्मचारीहरुको लागि उक्त कार्यक्रमा संचालन गरेको हो । उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजारका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजना र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो । कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको धितोपत्र बजार सम्बन्धी अन्य सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो र सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो । एनआईबीएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको संस्था हो ।