सीतापाइलामा रहेको आरक्ष सहकारीबाट बचतकर्ताले लाखौं रकम फिर्ता पाएनन्

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गरेकाे ५० हजार फिर्ता पाउन नसकेको छ महिना पूरा भयो । रानाले चार वर्षअघिदेखि यो सहकारीमा बचत गर्न थालेकी थिइन् । जम्मा गरेको बचतले पसलमा सामान थप्ने सोचले बचत गरेकी रानालाई अहिले त्यही पैसा पाए पनि व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने थियो । तर आफैँले बचत गरेको थोरै रकम पनि उनले समयमा पाउन सकेकी छैनन् । आरक्ष सहकारीबाट बचत फिर्ता नपाउनेमा राना मात्र होइन बौद्ध, जोरपाटी क्षेत्रकै दर्जन पीडित छन् । बौद्धका राम श्रेष्ठले पनि आरक्ष सहकारीबाट आठ लाख बचत फिर्ता पाउनुपर्ने तर अझै पाउन सकेका छैनन् । जोरपाटी क्षेत्रका अमृता श्रेष्ठ र बिना श्रेष्ठले पनि सहकारीबाट एक लाख हाराहारीमा रकम फिर्ता पाउन सकेकी छैनन् । सहकारीले करिब पाँच वर्षअघि बौद्धमा सदस्य सेवा केन्द्र स्थापना गरेको थियो । सहकारीको मुख्य कार्यालय भने काठमाडौं महानगरपालिका– १५ सीतापाइलामा छ । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि गत भदौदेखि नै कार्यालय बन्द रहेको बचतकर्ताको गुनासो छ । सहकारीको कार्यालयमा राखिएको फोनमा फोन उठदैन । कार्यालयमा तालाबन्दी भएको छ । सयौँ पीडितको दिनचर्या सधैँ सहकारी धाउने हुन थालेको छ । बचत फिर्ता पाउँ भनी पीडितले महानगरपालिकाको सहकारी विभागमा उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता गराए पनि पैसा कहिले पाइन्छ भन्ने पीडितलाई पत्तो छैन । महानगरपालिका कार्य क्षेत्र भएका धेरै सहकारीले बचत फिर्ता गर्न नसकेको समाचार सार्वजनिक भएपछि स्थानीयस्तरमा सहकारी समिति पनि गठन गरिएको छ । महानगरपालिका–९ का अध्यक्ष रामजी भण्डारीले समिति संयोजकका रुपमा काम गरेकाे छ । महानगर क्षेत्रका सहकारीको गतिविधि र अवस्था अध्ययन गरी सहकारी व्यवस्थापनका लागि कानुनी व्यवस्था गर्न लागिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । महानगर क्षेत्रका सहकारीमा बचत गरेका बचतकर्ताको पैसा फिर्ता गर्ने गरी समितिले स्थानीय सरकारका तर्फबाट कानुनी व्यवस्था गर्न लागेको उनले सुनाए । महानगरपालिकाले महानगर क्षेत्रका सहकारीमा बचत गरेको प्रमाणसहितको प्रतिलिपि बुझाएर सहयोग गर्न पनि बचतकर्तालाई आह्वान गरेको छ । रासस

दाङका सहकारी बन्द भएपछि समस्यामा

दाङ । बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ । पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा पुगेपछि आफ्नो सहकारीप्रति पनि सेयर सदस्यले आशङ्का गर्न थालेका तुलसीपुर–६ स्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीले बताए । उन्का अनुसार सरकारीले सदस्यको बचतबाहेक पनि ६४ लाख ५७ हजार रुपैयाँ नाफा गरेको छ । ‘पछिल्लो समय सहकारीप्रति देखिएको समस्याले हाम्रा सहकारीमा पनि केही आशङ्का हुनु स्वभाविकै हो तर चलिरहेका राम्रा सहकारीमा कुनै समस्या छैन’, अध्यक्ष बुढाथोकीले भने । ठूला ऋणीहरुले पैसा तिर्नुपर्दैन भनेर हावा फैलाएको भन्दै त्यसको पछि नलाग्न उनले सबैमा अनुरोध गरे । विसं २०५४ चैत ८ गते स्थापित उक्तसहकारीको बैंक मौज्दात तीन करोड २४ लाख छ रुपैयाँ, भने २१ करोड ६७ लाख ऋण लगानी भएको छ भने जम्मा २५ करोड ८५ लाख ७९ हजार रुपैयाँ छ । सहकारीले आठ सय १० जनालाई ऋण लगानी गरेको सहकारीका उपाध्यक्ष रञ्जनकुमार गौतमले बताए । सहकारीमार्फत विभिन्न सात उद्देश्यमा ऋण प्रवाह गर्ने गरिएको उनको भनाइ छ । सुरुमा ४१ जनाले सञ्चालन गरेको उक्त सहकारीमा हाल तीन हजार दुई सय ९८ शेयर सदस्य छन् । यसको दाङको तुलसीपुर उपमहानगरपालिकासहित दङ्गीशरण, बबई, शान्तिनगरलगायत कार्यक्षेत्र छ । बबईको हङ्सपुर र शान्तिनगरको रगैजामा सहकारीको सेवा केन्द्र छन् । रासस

नेशनल माइक्रोफाइनान्सका सेयरधनीले अब १५ प्रतिशत मात्र लाभांश पाउने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको सेयरधनीले अब १५ प्रतिशत मात्र लाभांश पाउने भएका छन् । संस्थाको आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १५ प्रतिशत मात्र बोनस सेयर बाँड्ने निर्णय गरेको हो । यसअघि लघुवित्तले सेयरधनीलाई ३२.४५ प्रतिशत लाभाशं बाँड्ने निर्णय गरेको थियो । तर राष्ट्र बैंकले लाभांश घटाउन निर्देशन दिएपछि लघुवित्तले लाभांश घटाएको हो । राष्ट्र बैंकले पछिल्लो समय धेरै लघुवित्तहरुको लाभांश घटाउँदै पठाइरहेको छ ।