बीमा एजेन्ट र सर्भेयरले तीन वर्षसम्म लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौं । बीमा अभिकर्ता (एजेन्ट) र सर्भेयरले तीन वर्षसम्म लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले नयाँ लाइसेन्स लिएका बीमा एजेन्ट र सर्भेयरले तीन वर्षसम्म नवीकरण गर्नु नपर्ने बताएको हो । बीमा ऐन, २०७९ लागू भएसँगै प्राधिकरणले उक्त व्यवस्था लागू गरेको हो । प्राधिकरणका अनुसार गत कार्त्तिक २२ गते पछि जारी भएका लाइसेन्सहरु जारी भएको मितिले तीन वर्षसम्म नवीकरण गर्नु पर्दैन । नयाँ लाइसेन्सहरुको अवधि तीन वर्षसम्म हुने भएकोले अब वार्षिक रुपमा नवीकरण गर्न नपर्ने भएको हो । हाल प्राधिकरणले एजेन्ट तथा अभिकर्तालाई सहज बनाउन गत चैत ६ गतेदेखि अनलाइन माध्यमबाट नवीकरण गर्ने व्यवस्था मिलाएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सको सुनौलो १०० दिन सुरु, बीमा बारे जनचेतना जगाउने

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । कम्पनीले चैत २४ गते, शुक्रबारदेखि कार्यक्रमकाे सुरुवात गरेकाे हाे । पुरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ । बीमा विलासिता नभएर अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उधेश्यका साथ यस आर्थिक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडी बढाउन केन्द्रित रहेको कम्पनीले बताउँछ । बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रम बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोज बहादुर खड्का र सुनिल पोखरेलले यस अभियानको उद्घाटन गरेका थिए । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ । ‘यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पु¥याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो,’ कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएकाे छ । जीवनको अफ्ठ्याराे समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा भएकाे र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्ने कम्पनी बताउँछ ।  

सानिमा जिआईसीको सेयर संरचना परिवर्तन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समुहको सेयर सर्वसाधारण समुहमा परिमार्जन गरेको हो । कम्पनीले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गरेको हो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक सेयर स्वामित्व न्युनतम ५१ प्रतिशत हुने गरी बाँकि सेयर सर्वसाधारणमा परिणत गर्न सकिने व्यवस्था बमोजिम गरेको कम्पनीले जनाएको छ । हाल कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम रहनेछ । कम्पनीको गत असोज ११ गते सम्पन्न विशेष साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनी रजिष्ट्रारबाट प्रबन्धपत्र र नियमावली संशोधन भएको तथा नेपाल बीमा प्राधिकरणबाट समेत सैद्धान्तिक स्वीकृति पाएको कम्पनीले जनाएके छ । . यदि संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन नगर्ने भए ७ दिन भित्र जानकारी गराउन आग्रह गरेको छ ।