मर्जरलाई अन्तिम रुप दिन नेरुडे र मिर्मिरेले डाके विशेष सभा, स्वाप रेसियो १:१ अनुपात

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएका छन् । नेरुडे लघुवित्तको सञ्चालक समितीको चैत २४ गते र मिर्मिरे लघुवित्त सञ्चालक समितीको चैत १६ गते बसेको बैठकले बैशाख १० गते साधारण सभा बोलाएका हुन् । दुवै लघुवित्तको सभाले एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । दुवै लघुवित्त एक आपसमा मर्जर भएपश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ । साथै लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १२ मा र कर्पोरेट कार्यालय काठमाडौं र ललितपुर महानगरपालिका बाहेक काठमाडौं उपत्यका भित्र रहने प्रस्ताव पारित गर्नेछ । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त १ः१ सेयर स्वाप अनुपात रेसियोमा मर्ज हुनेछन् । दुवै लघुवित्तबीच गत चैत १८ गते मर्जर सम्बन्धी अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३८ करोड, २५० शाखा कार्यालय, ३ लाख सेवाग्राही पुग्नेछ । साथै, लघुवित्तको निक्षेप ६ अर्ब २५ करोड रुपैयाँ, कर्जा लगानी १९ अर्ब रुपैयाँ र कर्मचारी संख्या १ हजार ३ सय पुग्ने मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशीले जानकारी दिए । मिर्मिरे लघुवित्तबाट मर्जर समिति संयोजक सन्तोष फुयालले लघुवित्त क्षेत्रमा दुवै लघुवित्तबीच बिग मर्जरको रहेको बताए । दुवै संस्थाबीच गत पुस ११ गते एक आपसमा गाम्भे तथा गाभिने गरी प्रारम्भिक सम्झौता भएको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले स्कारपियो बेच्दै

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ वटा सवारी साधन बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका २ वटा कार बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीको नाममा रहेका बा १६ च ७८३७ नम्बरको रेनाल्ट क्विड मोडलको कार र बागमति प्रदेश ०१२६ च ८५८५ नम्बरको महिन्द्रा स्कारपियो मोडलको जीप बिक्री गर्ने जनाएको छ । सवारी साधन जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम विक्री गरिने कम्पनीले बताएको छ । सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति तथा फर्मले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाउँमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फारम प्रतिकोटा पत्र २ हजार रुपैयाँ बुझाई कम्पनीको व्यवस्थापन विभागबाट खरीद गर्न सकिनेछ ।

सहकारी क्षेत्र अब बदनामी हुन नपरोस् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठ्यारो परेको बेलामा जोगाउने सहकारी भएको बताएका छन् र तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताएका हुन् । ‘अहिले सहकारी क्षेत्र जति बदनाम भएका छन, अब बदनामी हुन नपरोस,’ उनले भने । उनले बैंक, व्यापारी, उद्योगी समस्यामा भएको अवस्थामा साना पुँजी भएका सहकारी समस्यामा पर्नु स्वभाविक भएको भन्दै सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले सहकारीले अनुदानको अपेक्षा गर्न नहुने बताए । थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ । कुल जनसङ्ख्याको ६० प्रतिशत जनसङ्ख्यालाई कृषि क्रान्तिमा जोड्न सके मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने उनको भनाइ छ । ‘खाना पाउनु मानिसको पहिलो अधिकार हो, अब सहकारीले खाद्य सुरक्षामा जोड दिनुपर्छ,’ उनले भने ।