एनएमबि बैंकद्धारा जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई आर्थिक सहयोग
काठमाडौं । एनएमबि बैंकले जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग गरेकाे छ । एनएमबि बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा १,५१,००० रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको हो। सोकार्यक्रममा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो ।साथै, आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झा लगायत अन्य पधाधिकारीहरु समेतकोउपस्थिीती रहेको थियो । एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्तगरि सकेको छ ।
बिग मर्जरका कारण बैंकका कर्मचारीले जागिर छाड्न थाले : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा कर्मचारीहरुलाई वेवास्ता गरिएको बताएका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं महाधिवेशन तथा ३३ औं दिवश कर्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । बैंकिङ्ग क्षेत्रमा बिग मर्जरको अवधारणा अघि बढाइएको भएपनि कर्मचारी व्यवस्थापनमा चुकेको थापाको भनाइ छ । मर्जरपश्चात् कर्मचारीलाई अपायक पर्ने ठाउँमा सरुवा गरेको उनले बताए । ‘बिग मर्जर पछाडि लगानीकर्ताको लगानी सुरक्षित भयो, अर्थतन्त्रको आवश्यकता पनि बैंकहरुको मर्ज हुनुपर्छ तर, वर्षाैदेखि काम गरेर आएका कर्मचारीलाई वेवास्ता गरिएको छ,’ उनले भने, ‘मर्जरका बेलामा कर्मचरीको वृत्ति विकास वा अधिकारको ख्याल गरिएन, कतिपयलाई अपायक पर्ने ठाउँमा पठाएर हतोत्साहित गरेको छ, काम छोड्नु पर्ने सम्मको अवस्था श्रृजना गरिएको छ ।’ उनले यस्ता गतिविधिमा व्यवस्थापन तहको आँखा नपुगेको बताए । बाहिरबाट मर्जर भएपनि भित्रि रुपमा सकसको अवस्था रहेको उनको भनाइ छ । साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि छुट्टै स्वास्थ संस्था खोल्नका लागि प्रयास गर्ने उनले बताए । बैंक विरुद्धका गतिविधि गर्ने अराजक समूहलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । ‘देशको आर्थिक स्थिती खराब रहेका बेला प्रतिकूलताको फाइदा उठाएर केही अराजक व्यक्तिहरुले संगठित भएर बैंक तथा वित्तीय संस्थाको विरुद्धमा आन्दोलन गर्दैछन्, जसले समग्र राजनीतिक र आर्थिक स्थीरता खलबल्याउने काम गरेको छ,’ उनले भने, ‘बैंकमा काम गर्ने कर्मचारीलाई अप्ठ्यारो पार्ने गतिविधिलाइ सरकारले किन्तुपरन्तु नभनेर कारवाही गर्नुपर्छ, अराजक गतिविधि भनेको अपराधिक गतिविधि हो, अपराधीक गतिवधिले दण्ड पाउनुपर्छ ।’ उनले नेपालको अर्थतन्त्र संकटग्रस्त नभइ समस्याग्रस्त अवस्थामा पुगेको बताए । बाह्य क्षेत्रमा कडाइ गरेपछि विदेशी मुद्राको सञ्चिती बढेको उनको भनाइ छ । आयातमा कडाइ गर्दा राजश्व संकलनमा कमी आउँदा चालू खर्च गर्न ऋण लिनुपर्ने स्थिती आएको उनले बताए । नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएपनि सरकारसँग पारस्परीक सम्बनध कायम गरेर अर्थतन्त्र सुधार गर्नुपर्ने उनको धारणा छ । ‘सबैभन्दा बढी कर्जा जग्गामा जान्छ, जुन अनुत्पादक क्षेत्र हो, जसलाई ब्यापारले धेरै मूल्यअभिवृद्धि गर्दैन्, अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र नेपाल रास्ट्र बैंकबीच पारस्परिक सम्बन्ध हुनुपर्छ,’ उनले भने, ‘राष्ट्र बैंकले को कहाँबाट सरकारमा आएको छ भनेर हेर्नु हुँदैन, विश्वसनीय र पारदर्शी सम्बन्ध कायम गर्नुपर्छ ।’
सबैभन्दा ठूलो बन्यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, पुँजी ३ अर्ब नाघ्यो, व्यवसाय ४ अर्ब नजिक
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी बनेका छन् । दुई कम्पनी एक आपसमा मर्ज भई भनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो भएको हो । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । दुई कम्पनी एक आपसमा मर्ज हुने सम्बन्धी सम्झौताले अन्तिम रुप पाएको छ । चैत २२ गते काठमाडौंमा सम्पन्न आईएमई जनरल इन्स्योरेन्सको विशेष साधारण सभाले यसअघि दुई कम्पनीबीच भएको मर्जसम्बन्धी अन्तिम सम्झौतालाई पारित गरेको हो । यससँगै अब केही दिनमै कम्पनीले औपचारिक रुपमा एकीकृत कारोबार गर्ने छन् । सभामा आईएमई जनरलका अध्यक्ष हेमराज ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी दुई कम्पनी मर्ज भएको बताए । कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढीभन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले रहेको उनले बताए । साथै, उनले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप गाभिएपछि बनेको कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गर्ने र सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने अध्यक्ष ढकालले बताए । त्यस्तै, नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ हुने छ । साथै, नियमन निकाय बीमा प्राधिकरणले शुरु गर्न लागेको जोखिममा आधारित पुँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने समेत सभाले जानकारी गराएको छ । संस्था गाभिए पछि पुँजी आधार सुदृढ हुनेछ, कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जीवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुने बताइएको छ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुने कम्पनीको विश्वास छ । जसले संस्थाको वित्तीय जग बलियो भई सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पुँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गरिने कम्पनीको लक्ष्य छ । त्यस्तै, निकट भविष्यमा नेपालमा रहेको निर्जीवन बीमा कम्पनीहरुमध्ये आईजीआई प्रुडेन्सियल उत्कृष्ट कम्पनी हुने गरी स्थापित हुने समेत सभाले जानकारी गराएको छ ।