सूर्यज्योति लाइफको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १५ औँ साधारणसभा बोलाएको छ । कम्पनीको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ४ गते बिराटनगर स्थित होटेल हैरिसनमा सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, साविक ज्योति लाइफको लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यस्तै, संस्थापकसमूह ‘क’बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्तिको जानकारी तथा अनुमोदन गर्नेछ । यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने, सञ्चालक समितिका सदस्यहरु तथा अन्य समिति र उप समितिका सदस्यहरुले प्राप्त गर्ने बैठक भत्ता तथा अन्य सुविधा परिमार्जन गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

लक्ष्मी लघुवित्तको सीईओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रेष्ठ नियुक्त भएका छन् । लघुवित्तको सीईओ प्रकाशराज शर्माको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सुन्दर प्रसाद श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । सीईओ शर्माको कार्यकाल बैशाख १७ गते सकिने भएपछि श्रेष्ठले बैशाख १८ गतेदेखि लघुवित्तको सीईओको कार्यभार सम्हाल्ने छन् । श्रेष्ठलाई आगामी ४ वर्षको लागि लघुवित्तको सीईओमा नियुक्त गरेको बताइएको छ । लक्ष्मी लघुवित्तमा विगत १० वर्षदेखि कार्यरत श्रेष्ठ हाल नायव महाप्रबन्धक छन् । लघुवित्त क्षेत्रमा २० वर्षको अनभुव सँगालेका श्रेष्ठले निर्धन उत्थान लघुवित्तबाट आफ्नो करियर सुरु गरेका हुन् । उनीसँग विकास बैंकमा काम गरेको पनि अनभुव छ । लघुवित्त क्षेत्रमा साढे ३ दशकभन्दा बढी काम गरेका शर्मा आगामी दिनमा पनि यहि क्षेत्रमा नै सक्रिय रहने बताउँछन् । साढे ४ दशक बैंकिङ्ग क्षेत्रमा काम गरेका शर्मा लघुवित्त संस्थाहरुको संस्थापक मध्येमा पर्छन् । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत रहेका शर्मा आगामी दिनमा पनि लघुवित्त क्षेत्रको विकास, विस्तारको लागि सक्रिय रहने बताउँछन् । तर, कार्यकारी भूमिकामा भने नरहने उनले बताए । ‘अब कार्यकारी तहमा बसेर सक्रिय नभएपनि वित्तीय क्षेत्रमा कलम चलाउने, लबिङ गर्ने, मेरो अनुभव, ज्ञानलाई आदान प्रदान गर्ने काम गर्छु,’ उनले भने ।

सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सको संचालकमा चुडामणी देवकोटा नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले देवकोटालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । देवकोटालाई कम्पनीले आगामी ४ वर्षको लागि संचालकमा नियुक्त गरेको हो ।