पूर्व गभर्नर विजयनाथ भट्टराई सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई सम्मानित भएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । अर्थतन्त्र, राष्ट्र बैंकको मौद्रिक नीति लगायतका योगदान गरेको आधारमा उनी सम्मानित भएका हुन् । भट्टराई नेपाल राष्ट्र बैंकको तेर्हौं गभर्नर तथा गणतान्त्रिक नेपालका पहिलो गभर्नर हुन् । उनको कार्यकाल सन् २००५ देखि २०१० सम्म रह्यो । उनी केही समय भ्रष्टाचार मामिलामा परि वर्खास्त हुँदा दिपेन्द्र बहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरिएको थियो । तर पछि उनलाई पुनर्वहाली गरिएको थियो ।

सिटिजन्स बैंकले सुरु गर्यो च्याटबट सुविधा

काठमाडौं । सिटिजन्स बैंकको मस्कट नागरिक सार्वजनिक भएको छ । बैंकले १७ औं वर्षमा प्रवेश गरेसंगै नयाँ ए आई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो मस्कट सार्वजनिक गरेका छन् । बैंकले उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने जनाएको छ । च्याटबट एक ए आई द्वारा संचालित भर्चुअल सहायक हो जसले ग्राहकहरूसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गर्दछ । यस सुविधाले ग्राहकहरूलाई बैंक संग सम्बन्धित जिज्ञासा र अनुरोधहरूको तुरुन्त प्रतिक्रियाहरू प्राप्त गर्न सक्षम पार्छ । च्याटबट मार्फत, ग्राहकहरूले सरल र सहज संवादात्मक इन्टरफेस मार्फत विभिन्न बैंकिङ गतिविधिहरू गर्न सक्छन् जस्तै खाता मौज्दात जाँच, खाता खोल्न , उच्च ब्याज दर बुझ्न, सिटिजन्स एप सक्रिय गर्न, शाखा स्थान बुझ्न र अन्य धेरै सुबिधाहरू उपलब्ध छन् । उक्त्त ग्राहकहरूले च्याटबटमा आफ्नो जिज्ञासा वा अनुरोध टाइप गरेर कुराकानी सुरु गर्न र उपयुक्त बैंकिङ सेवामा मार्गदर्शन प्राप्त गर्न सक्छन् । त्यसका साथै डाटा गोपनीयता र सुरक्षाको लागि बैंकको प्रतिबद्धताको एक भागको रूपमा, च्याटबटले ग्राहकहरूको जानकारी सुरक्षित समेत गर्दछ । सिटिजन्स बैंकले देशैभरी फैलिएका १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३८ वटा एटिएम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

साना किसान विकास लघुवित्त र नेपाल कृषि सहकारीले पाए अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी संघ केन्द्रीय लिमिटेडले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । दुवै संस्थाहरुले आफ्नो उद्देश्य अन्तर्गतको क्षेत्रमा सफलतापूर्वक कार्यसम्पादन गरेवापत उक्त अवार्ड प्राप्त गरेका हुन् । अर्थमन्त्रालय र एसियाली विकास बैंक (एडिबि) ले यही वैशाख ८ गते संयुक्त रुपमा आयोजना गरेको कन्ट्री पोर्टफोलियो रिभ्यु मिटिङबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कार्यान्वयन गरेको ग्रामिण उद्यम कर्जाले बेस्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेको हो । साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत कार्यक्रम कार्यान्वयन गर्ने गरी नेपाल सरकार र एसियाली विकास बैंकबीच डिसेम्बर १०, २०१९ मा ग्रामिण उद्यम लगानी परियोजनामा सम्झौता भएको थियो । उक्त परियोजनाले नेपालका मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा सहज पहुँच सुनिश्चित गरी कृषि उद्यमको विकासको प्रभावकारी परिणाम दिएको जनाइएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई सञ्चालन गरिएको उक्त कार्यक्रमबाट अहिलेसम्म नौ सय ३० वटा व्यक्तिगत र ३० वटा सामूहिक परियोजनाहरुमा दुई अर्ब ३० करोड रकम लगानी भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले जनाएका छन् । त्यस्तै, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले सहकारी संस्थाको क्षमता विकास, सुशासन र संस्थागत विकासका साथै साना किसानहरुको कृषि र आर्थिक मुद्दाहरुलाई सम्बोधन तथा वकालत गर्दै कृषि क्षेत्रमा योगदात गरेबापत एफएओ एवार्ड फर पार्टनरसिप २०२३ प्राप्त गरेको छ । यहि अप्रिल २४ मा इटलीको रोममा भएको अन्तर्राष्ट्रिय समारोहकाबीच संघलाई फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) अफ युनाइटेड नेसनले संघलाई उक्त एवार्ड प्रदान गरेको हो । एफएओले अवार्डको निमिक्त आह्वान गरेको प्रतिस्पर्धामा नेपाल लगायत विश्वभरीका संस्थाले गरेको नोमिनेसनमा नेपालले प्रथम एवार्ड प्राप्त गरेको हो भने दोस्रो अवार्ड लेबनानको संस्थाले प्राप्त गरेको छ । अवार्ड प्राप्त गरेको विषय जानकारी गराउन बिहीबार काठमाडौंमा आयोजना गरिएको संयुक्त कार्यक्रममा नेपाल कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक र साना किसान विकास लघुवित्त वित्तीय संस्था संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले संस्थालाई थप जिम्मेवारी प्राप्त भएको अनुभव भएको विचार व्यक्त गरेका थिए ।