लक्ष्मी केयर्सले लुम्बिनी विकास कोषलाई दियो २ विद्युतीय गाडी
काठमाडौं । लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई निःशुल्क चढ्नका लागि लक्ष्मी केयर्सले लुम्बिनी विकास कोषलाई दुई थान विद्युतीय गाडी प्रदान गरेको छ । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निःशुल्क यात्राका लागि विद्युतीय गाडी कोषलाई सहयोग गरेको बैंकले जनाएको छ । आउँदो बुद्व जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरुको सुविधालाई ध्यानमा राख्दै विद्युतीय सवारीहरु प्रदान गरिएको बैंकको भनाइ छ । लुम्बिनीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच सो विद्युतीय सवारीहरु लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्व अध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रुपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्यपुत्तलाई हस्तान्तरण गरे । कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सञ्चालक समितिका सदस्यहरु तथा लक्ष्मी केयर्सका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । लक्ष्मी केयर्सले गत १८ चैत २०७९ मा काठमाडौंमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ सांगीतिक कार्यक्रममा संकलित रकमबाट विद्युतीय सवारीहरु सहयोग प्रदान गरेको हो ।
विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पुर्याएकोमा कनेक्ट आइपीएस सम्मानित
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीलाई सम्मान गरेको छ । बैंकले आफ्नो ६८ औं वार्षिकोत्सवको अवसरमा कनेक्ट आइपीएस प्रणालीलाई सम्मान गरेको हो । नेपालको विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै राष्ट्र बैंकले कनेक्ट आइपीएसलाई सम्मान गरेको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका थिए । राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युत्तीय भुक्तानी प्रवद्र्धन वर्षको रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुलाई राष्ट्र बैंकले सम्मान गरेको हो । आर्थिक वर्ष २०७९/८० को चैत्र मसान्तसम्म कनेक्ट आइपीएस मार्फत २८.४९ खर्बको कारोबार फर्छ्यौट गरेको छ ।
सूर्याेदय वोमी लघुवित्तले १ लाख २० हजार कित्ता सेयर बेच्दै
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी अर्जन कुमार पोखरेलको नाममा रहेको ८० हजार कित्ता, दोल राज सापकोटाको १२ हजार २९५ कित्ता, डेलनाथ पौडेलको ७ हजार ५ सय कित्ता, धर्म प्रसाद पौडेलको २ हजार कित्ता, सुमित्रा कुमारी लुंगेलीको ७ हजार ५ सय कित्ता, चुडामणि वाग्लेको ४ हजार कित्ता र फणिन्द्र राज शर्माको ७ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले सर्वसाधारण लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ ।