लाभांश पारित गर्न नेपाल पुनर्बीमाले डाक्यो १८ औं वार्षिक साधारणसभा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो १८ औं बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले असार १५ गते साढे ११ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोगजनको लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न २ जना सञ्चालकको निर्वाचन गर्नेछ । कम्पनीको सभाले प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेर बदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साधारण सभा प्रयोजनको लागि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ६ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

साना किसान र आरएमडीसी लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले दुबै लघुवित्तलाई मर्जरमा जान जेठ २४ गते अनुमति दिएको हो । दुबै लघुवित्तको चैत १० गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेका छन् । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००ः८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ । गत भदौ ३१ गते दुवै लघुवित्त एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् लघुवित्तको अन्तरिम सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला बन्ने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २÷२ जना, सर्वसाधारण समूहबाट १÷१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।

आईएमई लाइफले असार १ गते र २० गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार १ गते र सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।