शोधनान्तर स्थिति सभा दुई खर्ब बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत रहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार यो अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । त्यस्तै कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड बराबर छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड बराबर हो । राष्ट्र बैंकका अनुसार १० महिना अवधिमा विस्तृत मुद्राप्रदाय छ दशमलव नौ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ । यो अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ ।
एनएमबि बैंकले दराजका विक्रेतालाई बिना धितो कर्जा प्रदान दिने
काठमाडौं । एनएमबि बैंक र दराज नेपाल बिच दराज नेपालका विक्रेताहरुलाई बिना धितो विद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बिशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीलाई दराज नेपालसंगको कारोबारको आधारमा ५ लाख रुपैयाँसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने छ । सम्झौतापत्र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आंचल कुंवरले आदान प्रदान गरेका थिए । सम्झौताको बारेमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाई प्राथमिकता दिईरहेका छन् । यस कर्जा मार्फत ग्राहकहरुले अनलाईनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकाश गरेको छ । एमएसएमई कर्जाका ग्राहकको आवश्यक चालुपुँजी पूर्ति गर्ने बैंकले विश्वास लिएको बताएका थिए । यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैैंकले लिएको यो प्रयास कोशेढुङ्ग सावित बैंकले विश्वास लिएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
१० खर्ब भित्रियो रेमिट्यान्स
काठमाडौं । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशत वृद्धि भएर १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ भित्रिएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा १.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।