लघुवित्तका कर्मचारी मिलेर बचतकर्ताको डेढ करोड हिनामिना

काठमाडौं । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका कर्मचारीले बचतकर्ताको रकम हिनामिना गरेको खुलेको छ । संस्थाका तत्कालीन शाखाप्रमुख भीमदत्त नगरपालिका १४ बनकट्टीका दीर्घराज जोशीसहित सहित ५ जना कर्मचारीले बचतकर्ताको नाममा विभिन्न शीर्षकमा ऋण निकालेर हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । सुरुमा ७२ लाख हिनामिना भएको भन्दै लघुवित्तका हालका शाखा प्रमुख नीलकण्ठ घिमिरेले आर्थिक हिनामिना भएको भन्दै वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका थिए । अनुसन्धानको क्रममा प्रहरीले जेठ १ मा तत्कालीन शाखाप्रमुख जोशी, लेखाअधिकृत भागरथी कुँवर, बचतकर्ता शारदा थापालाई, फिल्ड कर्मचारी सरस्वती भट्ट र आरती पुनलाई पक्राउ गरी अुनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा उनीहरुले किर्ते कागजात तयार गरी बचतकर्ताको नाममा पटकपटक गरी झन्डै डेढ करोड ऋण निकालेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

नेप्सेमा एक लघुवित्तको १९ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको १९ प्रतिशत बोनस बापत ५ लाख ९४ हजार ४६३.२८१६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सनराइज बैंकले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्री जनता मा.वि, शुद्धोधन गाउँपालिका ०७, रुपन्देहीमा सञ्चालन गरेको थियो । सो शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएका थिए । त्यसै गरी, सनराइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा जेष्ठ २५ गते छिटाहा मा.वि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ५१ सहभागीहरु थिए । हरेक वर्ष देशका विभिन्न स्थानहरुमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्माण महिला सशक्तिकरण लगायतका विषयहरुमा विभिन्न कामहरु गर्दै आएको बैंकले जनाएको छ ।