रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, के-के छन् एजेण्डा ?

काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न १३ औं वार्षिक साधारण सभा डाकेको छ । फाइनान्स कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले असार ३१ गते बिहान ११ बजे स्मार्ट ब्याङ्क्वेट धुम्बाराहीमा डाकेको हो । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोगजनको लागि ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, फाइनान्सको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ । यस्तै, सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्न ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, बोनस सेयर वितरण पश्चात् कायम हुन आउने चुक्ता पूँजी तथा जारी पूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ हुने गरी प्रबन्धपत्र संशोधन गर्नेछ । फाइनान्सको केन्द्रिय कार्यालयका लागि काठमाडौं महानगरपालिका १ कमलादीमा नै घरजग्गा खरिद गरेको हुँदा काठमाडौं महानगरपालिका २८ प्रर्दशनीमार्गबाट स्थानान्तरण गर्नेछ । त्यसैले कम्पनीको केन्द्रिय कायालयको ठेगाना प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालकले पाउने पत्र पत्रिका तथा सञ्चार सुविधा वृद्धि गर्ने प्रस्ताव फाइनान्सको सञ्चालक समितिले गरेको छ । मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्त्यिारी प्रदान गर्नेछ । फाइनन्सले साधारण सभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार १९ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

लाभांश पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो २८ औं बार्षिक साधारण सभा बोलाएको छ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले असार ३१ गते अपरान्ह ३ बजे केन्द्रिय कार्यालय बानेश्वरमा बोलाएको हो । कोषको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोगजनको लागि १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कोषको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ । यस्तै, कोषको सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाबाट एक जना सञ्चालक पदको निर्वाचन गर्ने र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्नेछ । साधारण सभा प्रयोजनको लागि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार १८ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

मुसहर र डोम समुदायको घर–घरमै पुगेर स्वास्थ्य बीमा

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ का विपन्न मुसहर र डोम समुदायलाई उनीहरुको घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । शनिबारसम्ममा वडाका १९ मुसहर र ११ डोम समुदायका विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको कटारी अस्पतालका स्वास्थ्य बीमाको सहजीकरण गर्दै आएका कर्ण राईले बताए । सरकारको स्वास्थ्य बीमा बोर्डअन्तर्गत विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएर सहज र सहुलियतरूपमा उपचारका पहुँच पुर्याउने उद्देश्य रहेको छ । मुसहर र डोम समुदायले यसका बारेमा जानकारी नपाउँदा सेवा लिन नसकेकाले घरमै गएर जानकारीसहित बीमा गरिदिएको उनले जानकारी दिए । ‘उपचार गर्ने पैसा मुसहर र डोमसँग हुँदैन, यो सरकारी सेवाको पहुँचमा पुर्याए कम्तीमा वर्षमा एक लाख रुपैयाँसम्मको उपचार सरकारले गरिदिन्छ’, सहजकर्ता राईले भने, ‘उपचारका लागि गुहार मागि हिँड्छन् यति गरेपछि सरकारले उपचार सेवा दिन्छ ।’ बीमाका बारेमा कुनै पनि जानकारी नभएकाले बिरामी हुँदा घरमै बस्ने गरेको बताउँदै कटारी–४ मुसहर टोलका भरत मुसहरले अब भने बिरामी परे अस्पताल जाने बताए । ‘हामीलाई केही थाहा नै थिएन, अस्पताल जान पैसा हुँदैन थियो, निःशुल्क उपचार पनि पाइने बल्ल थाहा भयो ।’ उनले शनिबार छ परिवारका सदस्यसहितको स्वास्थ्य बीमा गराए । सात परिवारका सदस्य बुद्धि मुसहरले पनि बल्ल सेवाबारे थाहा पाएको जनाउँदै आगामी दिनमा उपचारका लागि अस्पताल जाने बताए । छ परिवारका स्वास्थ्य बीमा गरिदिएपछि भलवा मुसहरले अस्पताल जाने बाटो खुलेको बताए । ‘पैसाबिना पनि उपचार हुने रहेछ बल्ल थाहा भयो’, उनले भने । वडाध्यक्ष तथा कटारी अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका भूपेश तामाङले वडामा रहेका लगभग ४०–५० घर विपन्न परिवारका मुसहर, डोम समुदायको स्वास्थ्य बीमा गराइरहेको जनाउँदै आगामी वर्ष बजेट नै छुट्याएर सबैलाई बीमाको पहुँचमा पुर्याउने बताए । वडाका बीमा दर्ता सहयोगी सानुमाया तामाङले स्वास्थ्य बीमा बोर्डका मापदण्डअनुसार उनीहरूको बीमा गरिदिएका हुन् । स्वास्थ्य बीमा बोर्डका अनुसार विपन्न, ज्येष्ठ नागरिक, ‘क’ वर्गको अपाङ्गता भएका, कुष्ठरोग, एचआइभी पोजिटिभ, क्षयरोगलगायतका बिरामीलाई निःशुल्क एकपटक बीमा गरेपछि सधँैका लागि बर्सेनि एक लाख रुपैयाँ बराबरको उपचार सेवा निःशुल्क गर्ने गरेको छ । त्यसैगरी अन्यको हकमा भने प्रतिपरिवार पाँच सदस्यका लागि वर्षको तीन हजार पाँच सय रुपैयाँ र थप परिवार सदस्य सात सय रुपैयाँले बीमा गरिदिए थप एक लाखमा २० हजार रुपैयाँ बराबरको उपचार सेवा निःशुल्क पाइने छ । सरकारले तोकेका सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्ड देखाएपछि निःशुल्क उपचार गर्ने गरेको छ । बीमाबारे जानकारी नभएकालाई घरमै पुगेर बीमा गरिदिए अप्ठ्यारोमा परेका बेला स्थानीय निकायसम्म सहयोग माग्न आउनेलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले बीमा गरिदिएको वडाध्यक्ष तामाङले बताए । कटारीमा बीमा गराएकाले कटारी अस्पताल र यहाँबाट सिफारिस गरेका अस्पतालमा निःशुल्क एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् । रासस