स्वास्थ्य बीमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिनेछ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरुले नविकरण समेत नगरेका कारण ती अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न नसकिएको पनि स्पष्ट पारे । सोमबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रष्टिकरण दिएका हुन् । मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भईरहेको समेत बताए । ‘यो बीमाको सम्बन्धमा धेरै कुरा उठेको छ, यो प्राईभेट हस्पिटल, मेडिकल कलेजहरुले पनि यो सम्झौता अवधि सकिएकाहरुले सुरुमा रिनो नगरेको अवस्थाले पनि केही समस्या परेको छ, साढे १० वर्ष यो वर्ष यस क्षेत्रमा भुक्तानी भईसकेको छ, ७० लाख नागरिक विमामा आवद्ध छन । ४६० निकायहरुले निजी, सरकारी र सामूदायिक सबैसँग सहकार्य गरेर काम गरेको अवस्था हो र, यो विमा बुझ्ने सम्बन्धमा अनलाईन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो, जनताका लागि यो धेरै ठूलो सेवा हो, तर व्यवहारिक रुपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरु भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रुपमा अगाडि बढाउने कार्ययोजनाहरु चाँही तयार भईरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ ।’ मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिव जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरुको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहोर्याए ।

लघुवित्त बैंकर्स संघद्वारा शान्ति सुरक्षाको माग राख्दै सिडियोमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीहरुले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई ज्ञापन पत्र बुझाएका हुन् । पछिल्लो केही समयदेखि लघुवित्त वित्तीय संस्थाहरुको बिरुद्धमा केही ब्यक्ति तथा समूहले लघुवित्त बिरुद्धको संर्घष समिति नामको अवैधानिक समूहमार्फत संस्थाहरुकोे कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरु माथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीहरुको मनोबल गिराउने जस्ता अराजक गतिविधि भैरहेको जानकारी गराउँदै संघले देशका ७७ वटै जिल्लामा कर्मचारीहरुमार्फत ज्ञापन पत्र बुझाएका छन् । संघका पदाधिकारीले देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरुमा त्रासको वातावरण सृजना भएको र त्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेकोले विभिन्न समूहका कार्यक्रमलाई बन्द गराई लघुवित्तकर्मीहरुलाई तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नै ज्ञापन पत्र बुझाइएको हो । काठमाडांैका प्रमुख जिल्ला अधिकारी उपाध्यायले यस घटनाप्रति ध्यानाकर्षण भएको र लघुवित्तको क्षेत्रमा जानकार रहेकोले त्यसको समस्याको समाधानको लागि आफू प्रतिबद्ध रहेको लघुवित्त संघका पदाधिकारीहरुलाई आश्वासन दिएका छन् ।

‘आरबिबि म्युचुअल फण्ड २’ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दोश्रो बन्दमुखी योजना ‘आरबिबि म्युचुअल फण्ड २’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त फण्ड सूचीकरणको लागि नेप्से र आरबिबि मर्चेन्ट बैंकिङ्गबीच सम्झौता भएको हो । हालै जारी भई बाँडफाँड भएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई अर्थात ८४ करोड ६१ लाख १९ हजा २९० रुपैयाँ बराबरको उक्त फण्ड असार ११ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त फण्ड असार १२ गते मंगलबारदेखि किनबेच गर्न पाइने छ । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।