नबिल बैंकको ३९ औँ वार्षिकोत्सव, प्रविधिको प्रयोग र सरल बैंकिङ सेवामा एक कदम अघि

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंकले ३९औँ वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंकले ३९ वर्षको यात्रा पूरा गरेको छ । बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ । ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर बैंकले आफ्नो पृथक चिनारी बनाएको छ । ३९ औं वार्षिकोत्सवको अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए । त्यस्तै बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे । कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल हुन सकेको उनको भनाई छ । बैंक स्थापना काल देखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि राखिएकोले पनि ग्राहकको मन जित्दै विश्वासिलो बैंकका रूपमा रहन सफल भएको प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाई छ। दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए । एक कदम अघि नबिल बैंक सरल र ग्राहक मैत्री सेवा दिने क्रममा नबिल बैंकले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएको छ । सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङको सुरु गरेको थियो । नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम सर्भिसको सुरुवात गरेको थियो । त्यस्तै गरी सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङको सुरु गरी मोबाइलबाट बैंकिङ सुविधा लिने प्रविधि भित्राइएको थियो । नबिल बैंकले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो । सन् २०१६ सालमा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो । नबिलले पछिल्लो पटक सन् २०२२ सालमा एन बैंकको सुरुवात गरेर नेपालमा पहिलो पटक नियो बैंकिङको सुरु गरेको थियो ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा स्वयम्भू र बालकुमारीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

६६ प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको असार २७ गते बसेको बैठकले साउन १५ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान साढे १० बजे विशेष साधारणसभा डाकेको हो । कम्पनीले चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १० सेयर बराबर ६.६ को अनुपातमा हप्रद सेयर जारी गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड १२ लाख ७५ हजार रुपैयाँबाट वृद्धि गरी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार रुपैयाँ पुर्याइनेछ । विशेष साधारण सभा प्रयोजनको लागि साउन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन ७ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।