राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर खोज्दै

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर भाडामा लिने भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको स्थान रामशाह पथदेखि ५ सय मिटरसम्मको दूरी अर्थात् अनामनगर हनुमानस्थान, पुतलीसडक, थापाथली क्षेत्रमा घरभाडामा लिने जनाएको छ । इच्छुक घरधनी, संस्था तथा कम्पनीले १५ दिनभित्र सिलबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ । कम्पनीका अनुसार २ हजार ५ सयदेखि ५ हजार वर्गफिट क्षेत्र खालि ठाउँ हुनु पर्नेछ । यस्तै, घरसम्म जाने २० फिटे मोटरबाटो, सवारीसाधन पार्किङ, पानी, ढल र बिजुलीको प्रयाप्त सुविधा पुगेको हुनु पर्नेछ । मासिक रुपमा भाडा रकम भुक्तानी गरिने र भाडा भुक्तानी गर्दा नियमानुसार अग्रिम करकट्टी गरी भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफको आजदेखि एकीकृत कारोबार सुरु, चुक्ता पूँजी साढे ४ अर्ब पुग्यो

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्ज भई आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट आज असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । दुवै कम्पनी सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् प्रभुको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् महालक्ष्मी लाइफको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । दुवै इन्स्योरेन्स कम्पनीलाई मर्ज भई एकीकृत कारोबार गर्नका लागि नयामक निकाय नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति दिइसकेको छ । मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने छन् । हाल प्रभु लाइफको चुक्ता पूँजी २ अर्ब १९ करोड (बोनसपछि)रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । प्रभु लाइफको जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ छ भने महालक्ष्मीको २७ करोड ४० लाख रुपैयाँ छ । समान हैसियतमा मर्ज भएसँगै मर्जरपछि बन्ने कम्पनीको जगेडा कोषमा ८७ करोड १२ लाख रुपैयाँ सञ्चित हुने छ । प्रभुको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड र महालक्ष्मीको ३ अर्ब ८ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ । समीक्षा अवधिमा प्रभुले ७ अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मीले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

आजदेखि लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार, यस्तो बन्यो बैंक

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ । दुई बैंकबीच मर्ज भई आज असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । लक्ष्मी बैंकको केन्द्रिय कार्यालयमा लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठक बसेर एकीकृत कारोबार गर्ने बैंकका एक सञ्चालकले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ९ बजे लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठक आह्वान गरिएको छ । मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष चयन हुने छन् । यस्तै, सञ्चालकहरु डा.मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । यसअघि सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड सञ्चालक बन्ने भनिएपनि उनको पद भने रिक्त राखिएको छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सनराइज बैंकको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् लक्ष्मी बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । लक्ष्मी बैंकका अध्यक्ष नेपाल र सनराइज बैंकका अध्यक्ष दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १४ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८७ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५९ अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २८४ वटा पुग्ने छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको कर्मचारी संख्या ३ हजार १७० जना पुग्नेछन् । हाल लक्ष्मीमा १ हजार ४२ जना र सनराइजमा १ हजार ५१७ जना कार्यरत छन् ।