कामना सेवा विकास बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा दिने
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको कर्जाको लागि १२.१२ प्रतिशत नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिद गर्दा १२.१२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो । बैंकका अनुसार आवासिय घर निर्माणको लागि कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड सिमा भित्र रहने गरि धितो मूल्याङ्कित रकमको ६० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था गरेको छ । त्यस्तै, सरल व्यापार कर्जामा धितो मुल्याङ्कीत रकमको ८० प्रतिशत सम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्तावन्दीमा भुक्तानी गर्ने गरि कर्जा उपलव्ध हुने बैंकले जनाएको छ । त्यस्तै, विद्युतिय सवारी साधन खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए । नायव प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरु सम्पूर्ण कागजात पेश गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ । कम व्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकहरुलाई सशक्त बनाउने बैंकको लक्ष्य रहेको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न समेत आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने भएको बैंकले जनाएको छ । कामना सेवा विकास बैंकले हाल १३५ वटा सञ्जालहरु मार्फत ग्राहकलाई यो सेवा प्रदान गर्ने छ ।
१४ प्रतिशतसम्म कमिसन घटाएपछि बीमा कम्पनीको आपत्ति, संशोधन नभए सम्झौता नगर्ने
काठमाडौं । पुनर्बीमा कम्पनीहरुले कमिसन घटाएपछि बीमा कम्पनीहरुले आपत्ति जनाएका छन् । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको लागि पुनर्बीमा कमिसन घटाएपछि निर्जीवन बीमा कम्पनीहरुले आपत्ति जनाएका हुन् । दुवै पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीबाट प्राप्त गरेको प्रत्यक्ष हिस्सा (डिरेक्ट सेसन)को पुनर्बीमा कमिसन १४ प्रतिशतसम्म घटाएर सम्झौता प्रस्ताव पठाएपछि नेपाल बीमक संघले आपत्ति जनाएको हो । साथै, संघले दुवै पुनर्बीमा कम्पनीले एकतर्फी सम्झौता प्रस्ताव पठाएको भन्दै ७ दिनभित्र संशोधन गरी पुनः पठाउन भनेको हो । यदि संशोधन गरी पुनः नपठाएमा बीमा कम्पनीहरु आफैं जोखिम व्यवस्थापन गर्ने र सो व्यापार नलिने चेतावनी संघले दिएको हो । संघका अनुसार नयाँ पुनर्बीमा कमिसन सम्झौताको प्रस्ताव आधाहिन रहेको छ । पुनर्बीमा सम्झौता करार सम्झौता भएकाले एकतर्फ हुन नसक्ने संघको भनाइ छ । पुनर्बीमा कम्पनीले गत आर्थिक बर्ष २०७९/८० मा सम्पति बीमामा ३७.५० प्रतिशतसम्म कमिसन दिएका थिए । तर, चालू आर्थिक वर्ष २०८०/८१ मा १२.५० प्रतिशत कमिसन घटाएर २५ प्रतिशतमा झारेको छ । यस्तै, मोटर बीमाको ३० र २५ प्रतिशत कमिसनलाई चालू वर्षमा १० प्रतिशत घटाएर २० प्रतिशत मात्रै दिने गरी दुवै पुनर्बीमा कम्पनीले प्रस्ताव पठाएका छन् । यस्तै, इञ्जिनियरिङ बीमाको गत वर्ष २५ प्रतिशत कमिसन दिएकोमा यस वर्ष १० प्रतिशत घटाएर १५ प्रतिशतमा झारेको छ । यस्तै, मिसलेनियस बीमाको स्वास्थसहित ३४ प्रतिशत कमिसन प्रदान गरेकोमा यस वर्ष भने १४ प्रतिशत घटाएर २० प्रतिशतमा झारेको हो । यस्तै, मेरिन बीमाको ९ प्रतिशत घटाएर २५ प्रतिशत, माइक्रो बीमाको २ प्रतिशत घटाएर १५ प्रतिशत र मोटोर टीपी बीमाको १२.५ प्रतिशत घटाएर १५ प्रतिशतमा झारेको हुन् । यस्तै, कृषि बीमाको १८ देखि २५ प्रतिशतसम्मको कमिसनलाई ७ प्रतिशत घटाएर १५ देखि २२ प्रतिशतमा झारेपछि बीमा कम्पनीहरु आक्रोसित बनेका हुन् । गत आर्थिक बर्षको कमिसन दर नै लागू गरेर प्रस्ताव नपठाएमा नयाँ सम्झौता नगर्ने चेतावनी बीमा कम्पनीले दिएका हुन् ।
प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्ने नेप्सेको निर्णय गलत
काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्ने नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को निर्णय गलत देखिएको छ । इन्स्योरेन्सले प्रकृयाअनुसार नै हकप्रद सेयर जारी गर्ने निर्णय गर्दा गर्दै पनि नेप्सेले उक्त निर्णय कानुनविपरित रहेको भन्दै कारोबार रोक्ने निर्णय गरेको पाइएको छ। नेप्सेको साउन ४ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले प्रभु इन्स्योरेन्सले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना नेप्सेलाई ढिला जानकारी गराएको भन्दै कम्पनीको कारोबार रोक्ने निर्णय गरेको छ । साथै, नेप्सेले यो विषयमा कम्पनीलाई तीन दिने स्पष्टीकरण समेत सोधेको छ । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले भने प्रकृया अनुसार अर्थात सभाले दिएको अख्तियारी अनुरुप नै हकप्रद सेयर जारी गर्ने निर्णयलाई अघि बढाएको छ । कम्पनीको २०७९ फागुन २३ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्तावलाई अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको थियो । इन्स्योरेन्सले उक्त सभामा कुनै कम्पनीसँग मर्जरमा जान नसकेमा नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउनको आवश्यक मात्रमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । साधारणसभाबाट उक्त प्रस्ताव पारित पनि भएको छ । इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभामा पेश भएको विशेष प्रस्तावको ३ नम्बर बुँदा ‘यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्वन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न चलअचल सम्पत्ति र दायित्व मुल्याङ्गन गर्नको लागि मान्यता प्राप्त मुल्यानकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक निर्धारण गर्न लगायतका मर्जर तथा प्राप्ती सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र यदि कुनै निर्जीवन बीमा कम्पनीसंग गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी कार्य सफल हुन नसकेमा नियमनकारी निकायले निर्धारण गरेको चुक्ता पूँजी कायम गर्न सम्बन्धित निकायबाट स्वीकृती लिई आवश्यक मात्रामा हकप्रद शेयर निष्काशन गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने,’ इन्स्योरेन्सले सभामा पेश गरेको विशेष प्रस्तावको ३ नम्बर बुँदामा भनिएको छ । साधारणसभाको निर्णय पुस्तिकाको ४ नम्बरमा स्पष्ट रुपमा निर्णय पनि भएको छ । साधरणसभाको निर्णय अनुसार नै २०८० असार २७ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको २२६औं बैठकले कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्यो । जुन निर्णय स्वीकृतिको लागि हालै नेपाल बीमा प्राधिकरणमा पेश गरेको हो । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्रचार्य आफू प्रकृयाअनुसार नै अघि बढ्दा पनि नेप्सेले कारोबार रोक्ने निर्णय गर्नु र तीन दिने स्पष्टिकरण सोध्नुले आफू आश्चर्यचकित भएको बताए । ‘हामी प्रकृया अनुसार नै अघि बढेका छौं, सभाले पारित गरेको प्रस्तावलाई पूर्वस्वीकृतिको लागि बीमा प्राधिकरणमा पठाइएको हो,’ उनले विकासन्युजसँग भने- ‘अब प्राधिकरणबाट पूर्व स्वीकृति आएपछि मात्र हकप्रद सेयर जारी गर्ने प्रकृयालाई अघि बढाउँछौं, हामीले कुनै गलत गरेका छैनौं ।’ यता पुँजी बजार सञ्चालक नेप्सेले भने कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने सूचना ढिला जानकारी गराएको भन्दै सेयर कारोबार रोक्ने निर्णय गरेको छ । यसले नेप्से आफै अपडेट नभएको भन्ने बुझिन्छ । हकप्रद सेयर निष्कासन प्रस्ताव गरेपछि कम्पनीको सेयर मूल्य भने विहीबार घटेको छ ।