नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला
काठमाडौं । ‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ । कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्ष देखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन सक्ने जनाइएको छ । नबिल एसएसईको फेसबुक पेजमा रहेको लिङ्कमा गई गुगल फारमबाट आवेदन दिन सकिने बैंकले बताएको छ । यस्तै नबिल बैंकको वेभसाइडमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ । आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ । सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ । आर्थिक सामाजिक रुपान्तरणलाई बढवा दिनका लागि सुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरी सकेका छन् । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवसायको ब्राण्डिङ्ग, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्न अन्तर्क्रिया कार्यक्रम तथा प्रक्रियाहरूद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो ।
नबिल बैंकले थप ४ वटा शाखा विस्तार गर्दै, भाडामा भवन खोज्दै
काठमाडौं । नबिल बैंकले विभिन्न ४ वटा ठाउँमा शाखा कार्यालय संचालन गर्ने भएको छ । बैंकले कास्की, सुनसरी, तेह्रथुम र दैलेखमा शाखा कार्यालय विस्तार गर्ने भएको हो । बैंकले कास्कीको पोखरा महानगरपालिका ९ चिप्लेढुंगा, सुनसरीको धरान उपमहानगरपालिका ८ बरगाछी, तेह्रथुमको म्याङलुङ नगरपालिका १ र दैलेखको दुल्लु नगरपालिका ७ मा शाखा कार्यालय विस्तार गर्ने भएको हो । सो क्षेत्रमा शाखा कार्यालय सञ्चालनका लागि भवन भाडामा आवश्यक रहेको बैंकले जनाएको छ । बैंकका अनुसार प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनका लागि भुईं तल्ला वा पहिलो तल्लाको १ हजारदेखि २ हजार ५ सय वर्गफिट क्षेत्रफल भएको भवन हुनु पर्नेछ । प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित घटीमा ६ मिटर चौडाईको मोटर बाटो हुनुपर्ने, भवन सकड विस्तार योजनामा नपरेको हुनुपर्ने र भुकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । भवनको भई तल्लामा एटीएम तथा जेनेरेटर राख्नका लागि स्थान उपलब्ध, कम्तीमा १५ वर्षको लागि भवन उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गरिने बताइएको छ ।
मल्टीपर्पस फाइनान्सले हकप्रदका लागि बुक क्लोज मिति तोक्यो
काठमाडौं । मल्टीपर्पस फाइनान्सको हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तोकिएको छ । कम्पनीका अनुसार साउन १२ गते एक दिनका लागि बुक क्लोज हुनेछ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन ११ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको १ः०.३५ को हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको गत पुसमा सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।