एनएलजी इन्स्योरेन्सले पायो ‘सेल्स एक्सिलेन्स अवार्ड’
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकेडेमीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इन्स्योरेन्सलाई उक्त अवार्डबाट सम्मान गरेको हो । यो अवार्डले ग्राहकहरूलाई सेवा प्रदान गर्ने उत्कृष्टताप्रति कम्पनीको प्रतिवद्धतालाई जोड दिने कम्पनीले बताएको छ । साथै, यस अवार्डले ग्राहकलाई उच्च स्तरको सेवा प्रदान गर्न जारी राख्न उत्प्रेरित गर्ने समेत इन्स्योरेन्सको भनाई छ । ग्रोथ सेलर्स प्रा.लि. को भगिनी संस्था ‘ग्रोथ लिडरशीप एकेडेमी’ले सन २०१६ देखि ‘सेल्स समिट’ आयोजना गर्दै आइरहेको छ । उक्त समितिको सातौ संस्करण ‘सेल्स समिट २०२३’ अन्तर्गत शुक्रबार सोल्टी होटलमा एक कार्यक्रम गर्दै ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङ्गको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको हो ।
१० बीमा कम्पनीले हकप्रद जारी गर्न पाउने, कसको पुँजी कति पुग्छ ?
काठमाडौं । जीवन र निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीमध्ये १० वटा कम्पनीले हकप्रद सेयर जारी गर्ने भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै जीवन बीमातर्फको ५ र निर्जीवन बीमा तर्फको ५ गरी कूल १० वटा बीमा कम्पनीले हकप्रद सेयर जारी गर्न पाउने भएका हुन् । यसअघि नै दुई वटा कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको प्राधिकरणले हालै मात्र ४ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न दिने निर्णय गरेको हो । उक्त निर्णय भदौ ६ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले गरेको हो । सो निर्णयअनुसार जीवन बीमा तर्फका सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ र एशियन लाइफ छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले भने यसअघि नै ८६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको थियो । यता निर्जीवन बीमा व्यवसाय गर्दै आएका हिमालयन एभरेष्ट, नेको, सानिमा जीआईसी, यूनाइटेड अजोड र एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न प्राधिकरणको स्वीकृति पाएका छन् । यीमध्ये एनएलजीले भने गत असारमै ६६ प्रतिशत हकप्रद जारी गर्न स्वीकृति पाएको थियो । जीवन बीमा कम्पनीले १० देखि ८६ प्रतिशतसम्म जारी गर्न पाउने, कसले कति ? जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ हुनु पर्ने छ । सो अनुसारको पुँजी पुर्याउन अधिकांश कम्पनी मर्जरमा गए । मर्जरमा गएता पनि उनीहरुको पुँजी तोकिएबमोजिमको नभएकोले बीमा प्राधिकरणले केही कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । कम्पनीले मर्जरमा गएका र नगएका गरी ५ वटा कम्पनीलाई १० देखि ८६ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । सूर्यज्योति लाइफलाई १० प्रतिशत हकप्रद बीमा प्राधिकरणको निर्णय अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने छ । साविकको सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योति लाइफले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन सो मात्राको हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । स्वीकृति १० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी बमोजिम हो । प्रभु महालक्ष्मीलाई १७ प्रतिशत प्रभु महालक्ष्मीले १७ प्रतिशत हकप्रद सेयर जारी गर्न प्राधिकरणको स्वीकृति पाएको छ । हालै प्रभु र महालक्ष्मी लाइफ मर्ज भइ बनेको प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ९६ लाख रुपैयाँ बढी छ । १७ प्रतिशत हकप्रदपछि उक्त पुँजी बढेर ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ नाघ्ने छ । सानिमा रिलायन्सलाई २० प्रतिशत साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । स्वीकृत २० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी अर्ब बढी अर्थात ५ अर्ब २ करोड ८ लाख रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । एशियन लाइफले सबैभन्दा बढी जारी गर्ने नेपालका जीवन बीमा कम्पनीमध्ये एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रतिशत हकप्रद जारी गर्न पाउने भएको छ । प्राधिकरणले कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । हाल ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ४२ प्रतिशत हकप्रदपछि ४ अर्ब ४८ करोड ५ लाख रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा कम हो । अपुग पुँजी भने कम्पनीले बोनस सेयर मार्फत पुर्याउने योजना बनाएको छ । एलआईसी नेपाललाई ८६ प्रतिशत भारतको जोइन्ट भेञ्चर कम्पनी एलआईसी नेपालले सबैभन्दा बढी अर्थात ८६ प्रतिशत हकप्रद निष्काशन गर्न बीमा प्राधिकरणको स्वीकृति पाएको छ । सो मात्राको हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । जुन तोकिएको न्यूनतम पुँजीभन्दा कम हो । निर्जीवन बीमा कम्पनीलाई १२ देखि ६६ प्रतिशतसम्म हकप्रद बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । सोअनुसार पुँजी पुर्याउन प्राधिकरणले केही कम्पनीहरुलाई १२ देखि ६६ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । हिमालयन एभरेष्टलाई १२ प्रतिशत नेपालको बीमा क्षेत्रमै पहिलो पटक मर्ज भइ इतिहास राखेको हिमालयन एभरेष्टले १२ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । मर्जरमा जाँदा जाँदै पनि तोकिएको न्यूनतम पुँजी नपुगेको भन्दै कम्पनीले प्राधिकरणलाई सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । यससँगै हाल २ अर्ब ३० करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १२ प्रतिशत हकप्रदपछि २ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । नेकोलाई २५ प्रतिशत हकप्रद मर्जरमा नगएको नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणको स्वीकृति पाएको छ । सो अनुसार कम्पनीले हकप्रद सेयर जारी गरेमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । यससँगै कम्पनीले हकप्रदबाट मात्रै तोकिएको पुँजी पुर्याउने भएको छ । सानिमा जीआईसीलाई पनि २५ प्रतिशत बीमा प्राधिकरणले मर्ज भइ बनेको सानिमा जीआईसी इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति दिएको छ । हाल २ अर्ब रहेको कम्पनीको चुक्ता पुँजी २५ प्रतिशत हकप्रदपछि २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजी हो । यूनाईटेड अजोडले ३२ प्रतिशत निष्काशन गर्न पाउने हालै दुई कम्पनी मर्ज भइ बनेका यूनाईटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । जसको हालको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ छ । स्वीकृति ३२ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । एनएलजीलाई सबैभन्दा बढी मर्जरमा नगएको एनएलजी इन्स्योरेन्सले निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने भएको छ । बीमा प्राधिकरणले कम्पनीलाई गत असारमै ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । उक्त हकप्रदलाई गत साउनमा सम्पन्न कम्पनीको विशेष साधारण सभाले समेत पारित गरिसकेको छ । हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ६६ प्रतिशत हकप्रद पछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको भन्दा कम हो । तीन कम्पनीको पुँजी नपुग्ने बीमा प्राधिकरणले हकप्रद सेयरको लागि स्वीकृति दिँदा पनि तीन कम्पनीको चुक्ता पुँजी नपुग्ने भएको छ । जीवन तर्फका दुई र निर्जीवन तर्फका एक कम्पनी गरी तीन कम्पनीले हकप्रद जारी गर्दा पनि प्राधिकरणले तोकेको न्यूनतम पुँजी नपुग्ने देखिएको हो । हालको पुँजीमा हिसाव गर्दा एशियन लाइफ, एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी तोकिएको भन्दा थोरै कम्पनी हुने भएको हो । उक्त अपुग पुँजी बोनस सेयर मार्फत पुर्याउन सक्ने देखिन्छ ।
बेष्ट फाइनान्सले पराम्परागत बाजा संरक्षण गर्न ५ लाख सहयोग गर्यो
काठमाडौं । बेष्ट फाइनान्सले पराम्परागत बाजा मर्मत गर्नको लागि आर्थिक सहयोग प्रदान गरेको छ । बेष्ट फाइनान्स कम्पनी कमलादी, काठमाण्डौंले शुक्रबार उपत्यकाको कला संस्कृति संरक्षण गने उद्धेश्यले पराम्परागत बाजा (धिमे बाजा) मर्मत गर्नको लागि आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम सम्पन्न गर्याे । काठमाडौं उपत्यकामा संचालन हुने विभिन्न परम्परागत जात्रा पर्वको कारण सांस्कृतिक नगरीको रुपमा चिनीन्छ । यस प्रकारका सांस्कृतिक पर्वहरुमा यहाँका विशेष गरी नेवारी समूदायका गुठी, खल र व्यक्तिहरुले विभिन्न प्रकारका वाजागाजा बजाउने कार्यले यहाँको सस्कृति जगेर्ना गर्न ठुलो योगदान रहेको छ । यसरी परम्परागात जात्राहरुमा बजाउने विभिन्न प्रकारका वाजागाजा बिभिन्न समूदायको गुठी, खल लगायतले संचालन गर्दै आएको र नयाँ पुस्तालाई समेत प्रशिक्षण दिई हस्तानन्तरणका कार्य गर्दै आईरहेकोमा ती बाजाहरु वर्षेनी मर्मत र नयाँ वाजा खरिद गर्न आर्थिक समस्या रहेको कुरालाई मध्यनजर गरेकाे छ । कम्पनीले आफनो सामाजिक उत्तर दायित्व अन्तरगत काठमाडौं उपत्यका भित्रको तपसिल बमोजिमको गुठी, खलहरुलाई वाजाहरु मर्मतरखरिद गर्न आर्थिक सहयोगका कारण देशको सांस्कृतिक पर्वको जर्गेना हुने र जात्रापर्व तथा वाजागाजा लोप हुनबाट जोगाउने विश्वासका साथ प्रत्येक पुच, खल तथा गुठीहरुलाई ५० हजार रुपैयाँका दरले १० वटा खल गुठीलाई जम्मा ५ लाख रुपैयाँ आर्थिक सहयोगको कार्यक्रम सम्पन्न गरेकाे छ ।