सहकारी विभागले सार्वजनिक गर्याे समस्याग्रस्त सहकारीको सूची
काठमाडौं । सहकारी विभागले समस्याग्रस्त सहकारी संस्थाहरुको सूची सार्वजनिक गरेको छ । विभागले २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषणा गरिएको १३ वटा सहकारी नामावली सार्वजनिक गरेको छ । पछिल्लो समय सहकारी क्षेत्रमा चरम समस्या देखिएको भए पनि विभागले भने गत साउनमा एउटा मात्रै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । पछिल्लोपटक भने गत साउन १ गते विभागले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो । विभागले जारी गरेको सुचीमा २०७६ भन्दा अगाडि नै समस्याग्रस्त घोषणा भएका धेरै वटा सहकारी संस्थाको नाम छन् । २०७५ सालमा ९ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो । विभागले २०७४ कात्तिक २० गते ओरेन्टल को–ओपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा पाठक नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त भएका छन् । पाठक अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक पाठकले भदौ १३ गते नै कम्पनीका अध्यक्षबाट पद तथा गापनियताको सपथ ग्रहण गरेका हुन् । यससँगै उनी अर्को व्यवस्था नभएसम्मको लागि सञ्चालक सदस्यमा रहने छन् ।
सिभिल सहकारीले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाले विशेष साधारण सभा बोलाएको छ । सहकारी संस्थाले भदौ ३० गते सोल्टीमोड कालिमाटीमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विशेष साधारण सभा आह्वान गरेको हो । उच्च अदालत पाटनले वि.सं. २०७९ कात्तिक २५ गते साधारण सभा आह्वान गर्न आदेश दिएको थियो । सोही बमोजिम भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय र संस्थाका पिडित बचतकर्ता सदस्यहरूबीच पटक–पटक छलफल भई सभा बोलाउने सहमति भएको थियो । गत बैशाख २१ गते पठाएको पत्र अनुसार विशेष सभा बोलाएको संस्थाले जनाएको छ । सहकारीको सभाले समस्या समाधान गर्ने प्रयोजनका लागि विशेष अधिकार प्राप्त समितिको चयन गर्नेछ । त्यस्तै, विशेष अधिकार प्राप्त समितिलाई संस्थाको एकिन गरी बचत तथा लगानी गरेको ऋण लगायत सम्बन्धित दायित्व एकिन गरी सहकारीका ऋणीहरूबाट लेना रकम असूल उपर गरी समस्या समाधान गर्न आवश्यक अख्तियारी प्रदान गर्नेछ । यस्तै, पिडित बचतकर्ता सदस्यहरूको बचत रकम फिर्ता गर्न आवश्यक कार्यविधि बनाउने भएको छ । पिडित बचतकर्ता सदस्यहरूबाट प्राप्त सुझावहरू उपर छलफल गरी निर्णय गर्नेछ । साथै, विशेष साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने सहकारी संस्थाले जनाएको छ । सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इच्छाराज तामाङ हिरासतमा छन् ।