बागमती प्रदेशले कुनै पनि सहकारी दर्ता नगर्ने

काभ्रे । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । उनले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई मंगलबार बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवादला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको बताए । ‘सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन्’, मन्त्री महर्जनले भने । उनले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनीसेमत दिए । उनले भने, ‘सही बाटोमा हिँडेका सहकारीलाई संरक्षण पनि गर्छौं, गलत गरेको पाइए कडा कारबाही गर्छौं, कसैलाई छुट दिँदैनौँ ।’ मन्त्री महर्जनले सहकारी धराशायी भए नागरिकको बचत पनि धराशायी हुने भएकाले सहकारी र बचतकर्ताबीचको विश्वास पुर्नर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए । ‘स्थानीयस्तरमा आर्थिक अप्ठेरो पर्दा गर्जो टारेको र घरेलु उद्योग गर्नसमेत सहकारीले सहयोग गरेकाले पनि सरकारले सहकारी आन्दोलन बिर्सनुहुँदैन’, उनले भने । उनले प्रदशेस्तरमा सहकारीको अनुगमन गर्ने छुट्टै समिति निर्माण गरिने उल्लेख गर्दै समस्याग्रस्त सहकारी घोषणाको तयारी भइरहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेल, जिल्ला समस्वय समिति काभ्रेपलाञ्चोकको प्रमुख दीपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यलगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा नगरको सहकारीको अनुगमन गरी देखिएका समस्यामा समन्वय गरेकोमा बनेवा नगरपालिकालाई सम्मान गरिएको थियो । डिस्कोफका जिल्लाध्यक्ष दिलीप शर्माले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने, ग्राहकको समस्या तत्काल समाधान हुने

काठमाडौं । नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालन गर्ने भएको छ । उक्त सेवा सञ्चालन गर्न बैंकले मंगलबार सेवा प्रदायकसँग सम्झौता गरेको हो । यस सम्झौताले नेपाल बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्ने कम्पनीले जानकारी गराएका छन् । सो कार्यक्रममा नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौताप्रति खुशी व्यक्त गर्दै यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए । हाल बैंकले २२८ शाखा, २०४ एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई डिजिटल वित्तीय सेवा पुर्याई रहेको छ ।

एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालको सेवामा छुट पाउने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट आइपिडी डाइगंनाेस्टीकमा १० प्रतिशत सम्म र दन्त सेवामा ५ प्रतिशत सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।