ब्रोकर कमिशन पुनरावलोकन गर्दै धितोपत्र बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिशन पुनरावलोकन गर्ने तयारी गरिरहेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ सो बताएका हुन् । ‘ब्रोकर कमिसन पुनरावलोकन गर्ने तयारी भैरहेको छ, कति घट्छ भन्ने अहिले नै एकिन भएको छैन, तर ब्रोकर कम्पनीको दीर्घकालीन हेरेर नि पुनरावलोकन गरिनेछ,’ उनले भने । पुँजी बजारमा सूचीकृत कम्पनी नडुब्दासम्म कम्पनीहरुको व्यवसाय नखस्किने उनको भनाइ थियो । ‘हालसम्म पुँजी बजारमा सूचीकृत कम्पनी कुनै पनि डुबेका छैनन्, त्यसैले कुनै पनि कम्पनीको व्यवसाय घटेको मानिदैन, सूचीकृत कम्पनी कुनै डुबेपछि मात्रै व्यवसाय खस्किएको भन्न मिल्छ,’ उनले भने । कार्यकारी निर्देशक श्रेष्ठले पब्लिक र प्रमोटर सेयरधनी छुट्याउने नीति बैंक तथा बीमा कम्पनीले ल्याएको भएकाले यसमा बोर्डले केही गर्न नसक्ने बताए । ‘अन्य देशमा संस्थापक र सर्वसाधारण सेयर भनेर छुट्याइएको पाइँदैन, नेपालमा मात्रै पब्लिक र प्रमोटर सेयरधनी छुट्याइने गरेको छ, बैंक तथा बीमा कम्पनीको नियामक निकायले ल्याएको नीति हो, यसमा धितोपत्र बोर्डले केही गर्न सक्दैन,’ उनले भने ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा
काठमाडौं । दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उदेश्यले माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआर कोडसेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्तरुपमा शुक्रबार उद्घाटन गरे । उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरुले क्यूआरमार्फत् भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन्। जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफुलाई स्थापित गर्न निरन्तर लागिरहेको बैंकले जनाएको छ ।
सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ को तेश्रो संस्करण सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने ‘सिटिजन हिरोज कनक्लेभ’ कार्यक्रमको तेश्रो संस्करण सफलताका साथ सम्पन्न भएको छ । धुलिखेल स्थीत आगन्तुक रिसोर्टमा भाद्रमा सम्पन्न सो कार्यक्रम ‘सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा’ नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले हरेक आर्थिक वर्ष आफ्ना सिनियर एजेन्सी मेनेजर सहित केहि उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरुलाई सो कार्यक्रमको लागि छनौट गर्ने र उनीहरुलाई थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट उत्कृष्ट बनाउन यस कार्यक्रमको आयोजना गर्ने गरेको छ । यस्तो किसिमको कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्र्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । लिडर्सहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने कम्पनीले जनाएको छ । कम्पनीको यस ‘सिटिजन हिरोज कनक्लेभ’ कार्यक्रममा ६० जना लिडर्सहरुको सहभागिता रहेको थियो भने, कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम साथै प्रमुख व्यवसाय अधिकृत र प्रदेश प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक श्री बिजय कुमार झा ले उपस्थित सम्पूर्ण लिडर्सहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रहेको कम्पनीले जनाएको छ ।