आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ। अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने ‘अल्टिमा अनलाईन मेला’ मा ( बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा एटम ५२० वा अल्टिमा एटम ३२० .एयरबड खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ । साथै अन्य अल्टिमाका ग्याजेटहरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुने कम्पनीले जनाएको छ । अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेलेका सीइओ प्रविन रेग्मीले दिएका छन् ।
भद्रकालीमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर
काठमाडौं । हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने सम्पुर्ण ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा ल्याइएको हो । रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपाल पे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत पीओएस् मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् भने भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएस मार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्ने बैंकले जनाएकाे छ । बैकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोह बीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
लाभांश घोषणापछि एनआईसी एशियाको सेयर मूल्य घट्यो, कारोबार भने बढ्यो
काठमाडौं । आइतबारको सेयर बजारमा एनआईसी एशिया बैंकको सेयर मूल्य घटेको छ । लाभांश घोषणापछि भएको पहिलो कारोबारमा बैंकको सेयर मूल्य ५ रुपैयाँले घटेको छ । गत बिहीबार प्रतिकित्ता ८१९ रुपैयाँमा भएको बैंकको सेयर कारोबार आइतबार प्रतिकित्ता ८१४ रुपैयाँमा झरेको छ । बैंकले गत शुक्रबार मात्रै सेयरधनीलाई कूल ३०.५ प्रतिशत लाभांश घोषणा गर्ने प्रस्ताव गरेको थियो । एकैपटक तीन आर्थिक वर्षपछि लाभांश घोषणा गर्दा पनि बैंकले कम लाभांश घोषणा गरेकाले लगानीकर्ताहरु खासै खुशी नभएको आइतबारको कारोबारले देखाउँछ । सेयर मूल्य घटेको कम्पनीको सेयर कारोबार भने सर्वाधिक भएको छ । कारोबारमा आएका २७८ वटा स्क्रीप्समध्ये एनआईसी एशियाको मात्रै २७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा आइतबारको बजारमा कूल २ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा ५३ करोड रुपैयाँले बढी हो । कारोबार बढेको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक भने ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.०९ प्रतिशतले घटी हो । राताम्मे देखिएको बजारमा पनि शुभम् पावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९८५.६० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ८९.६० रुपैयाँले बढी हो । यता मौलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले घटेर प्रतिकित्ता १७१.६० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १७.४० रुपैयाँले घटी हो ।