गरिमा क्यापिटलले मनायो ‘विश्व लगानीकर्ता सप्ताह २०२३’
काठमाडौं । गरिमा क्यापिटलले विश्व लगानीकर्ता सप्ताह २०२३ अभियान सप्ताहव्यापी पुँजीबजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्क्रिया गरी सम्पन्न गरेको छ । यसअन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहका अवसरमा लगानीकर्ता तथा सर्वसाधारणलाई सुचित गराउने उद्देश्यले विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम गरेको हो । विश्व लगानी कर्ता सप्ताह २०२३ एकहप्ते लामो आईओएस सीओद्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो । यसले लगानीकर्तालाई पुँजीबजारसँग सम्बन्धित जानकारी तथा महत्वका बारेमा चेतना जगाउने विश्वास लिइएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न
झापा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिर्तामोड र इटहरी क्षेत्रमा संयुक्त रूपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जनाभन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्तकार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तीनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रधान गरेको हो । उच्च व्यवस्थापन समितिको तर्फ बाट डेपुटी सिइओ नीराजन कँडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा क्षेत्रीय प्रबन्धक जितेन्द्र छेत्रीलगायत शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कम्पनीका डेपुटी सिइओ नीराजन कँडेलले कम्पनीले अहिले सम्म गरेका प्रगतिको विवरण, भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए । साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया र तालिम प्रधान गरेका थिए ।
रेमिट्यान्सको १९ प्रतिशत रकम ऋण तिर्न र मनोरञ्जनमा खर्च
काठमाडौं । विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो । लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका ३८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनअनुसार विप्रेषणका रुपमा भित्रिएको रकममध्ये दैनिक उपभोगमा मात्र ५८.७८ प्रतिशत खर्च हुने गरेको देखिइएको छ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २२.४८ प्रतिशत, ऋण तिर्न १०.७ प्रतिशत र मनोरञ्जन तथा अन्य क्षेत्रमा ८.६७ प्रतिशत खर्च गर्ने गरेको अध्ययनमा उल्लेख छ । अध्ययनमा समेटिएका परिवारमध्ये ९६.६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको पाइएको छ । त्यस्तै, ९६.०८ प्रतिशत परिवारको चाडपर्व, मनोरञ्जन, सामाजिक खर्च समेत बढेको पाइएको छ । विदेशबाट पठाएको पैसा विभिन्न क्षेत्रमा लगानी भएको स्थिति समीक्षा गर्दा अनुत्पादक क्षेत्रमै बढी लगानी भएको देखिएको छ । व्यापार व्यवसायमा लगानी गर्ने ६८.२१ प्रतिशत, घरघडेरीमा लगानी गर्ने ६५.८० प्रतिशत र गरगहना खरिद गर्ने ६३.१९ प्रतिशत रहेको राष्ट्र बैङ्कको अध्ययनमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएकाहरुको लैङ्गिक हिसाबले विश्लेषण गर्दा पुरुष ९४ प्रतिशत तथा महिला ६ प्रतिशत रहेका छन् । वैवाहिक अवस्थाको आधारमा विवाहित ८५.९० प्रतिशत र अविवाहित १४.१० प्रतिशत छन् । वैदेशिक रोजगार विभागकाअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिनेको सङ्ख्या सात लाख ७१ हजार ३२७ पुगेको छ । लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ३६ हजार ९८४ रहेको छ । यो सङ्ख्या नेपालबाट श्रम स्वीकृति लिने कूल सङ्ख्याको १७.७६ प्रतिशत बराबर हो । अध्ययनअनुसार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरुमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)मा २४.२८ प्रतिशत छ भने सबैभन्दा कम ओमन तथा बहराइनमा १.८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन् । अध्ययनमा समेटिएका परिवारहरुमध्ये वैदेशिक रोजगारीअन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६.८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३.१८ प्रतिशत छन् । आर्थिक अवस्था सुधार्न वैदेशिक रोजगारीमा जानुपर्ने प्रमुख कारण भएको ४१.८० प्रतिशतले बताएका छन् । अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्नमध्ये सीपमूलक तालिम नलिई जाने ७६ प्रतिशत छन् भने तालिम लिएर जाने २४ प्रतिशत छन् । वैदेशिक रोजगारीबाट वार्षिक ५ लाखसम्म आम्दानी गर्ने ४२.३० प्रतिशत, पाँचदेखि १० लाखसम्म ३९.६९ प्रतिशत र १० लाखभन्दा माथि आयआर्जन गर्ने १८.१ प्रतिशत रहेको अध्ययनमा जनाइएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार विगत १० वर्षको विप्रेषण आप्रवाह वार्षिक औसत ११.१३ प्रतिशत छ । आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ विप्रेषण रकम नेपाल भित्रिएको थियो । आर्थिक २०७९/८० सम्म आइपुग्दा १२ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ पुगेको देखिन्छ ।