सानिमा बैंकको ९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार सानिमा बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । बैंकको ९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २४७.४३ रुपैयाँ कायम भएको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता २६९.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २४७.४३ रुपैयाँलाई आधार मानेर हुने छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न कात्तिक २ गते कुण्डलिनी दरबार ब्यान्केट चण्डोल काठमाडौंमा बिहान ११ बजे १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
असोज २९ गतेदेखि नयाँ नोट सटही, कहाँबाट पाइन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय डिजिटल कारोबार बढेसँगै नयाँ नोटको सख्या पनि बजारमा कम पठाउने तयारी रहेको राष्ट्र बैंकका सहप्रवक्ता डा.डिल्लीराम पोखरेलले बताए । उनका अनुसार नयाँ नोटको संख्या बजारमा कम पठाएपनि प्रतिव्यक्ति भने १८ हजार ५ सय रुपैयाँ नै बाँड्ने तयारी रहेको छ । राष्ट्र बैंकले यसपटक पनि प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध गराउने छ ।
५ दिनमै बन्द भयो सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन भर्ने समय
काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताले आज असोज २२ गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । सर्वसाधारणलाई बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।