प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले ७० रुपैयाँ पाउने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साविक प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक गरेको छ । दुवै कम्पनी मर्ज हुनु अघि बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा साविक प्रभु र महालक्ष्मी लाइफले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् । उक्त बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणले असोज २३ गते स्वीकृत गरेको हो । साविक प्रभु लाइफले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ २० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । त्यस्तै, साविक महालक्ष्मी लाइफले सो आर्थिक वर्षमा विभिन्न बीमा लेखहरुमा प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर तोकेको छ । साविक प्रभु लाइफले सावधिक सम्बृद्ध बीमालेख योजनामा न्यूनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर तोकेको छ । कम्पनीका अनुसार ९ वर्षसम्मको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, सावधिक तथा आजीवन बीमालेख (अमुल्य) योजनमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । ९ वर्षसम्म अवधिको ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको ७० रुपैयाँ बोनसदर प्रदान गर्ने कम्पनीले जनाएको छ । सावधिक सम्बृद्ध (एकल भुक्तानी) योजनामा ९ वर्ष अवधिको ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनसदर तोकेको छ । अग्रिम भुक्तानी सावाधिक–वैभव योजनामा १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनस उपलब्ध गराउने भएको हो । त्यस्तै, कम्पनीले प्रत्येक वर्ष ५ प्रतिशत बीमाङ्क वृद्धि हुने सावधिक (श्रीवृद्धी) योजना र सावधिक बालबालिका (जीबनकिरण) योजनामा न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । त्यस्तै, अग्रिम भुक्तानी बालिबालिका सावधिक (जीवन उन्नती) योजना र एकल अग्रिम भुक्तानी बालबालिका सावधिक (जीवन उन्नती) योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँ बोनस दर तोकिएको छ । साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको भने महालक्ष्मी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यस्तै, कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपंयाँ बोनस दर तोकेको छ । यस्तै, कम्पनीले महालक्ष्मी बाल बचत बीमामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म बोनस दर तोकेको छ । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा ३५ रुपैयाँ, महालक्ष्मी धनधान्य बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ३२ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, सम्पूर्ण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।
मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, १ हजार कित्ता लगानी गर्न पाइने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज असोज २५ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६।५ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा लगानीकर्ताले छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सहकारीमा २५ लाखभन्दा बढी बचत राख्न नपाउने व्यवस्था हट्यो
काठमाडौं । सहकारीमा २५ लाखभन्दा बढी बचत राख्न नपाउने व्यवस्था हटेको छ । बुधबार बसेको संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले विधेयक माथि छलफल गर्दै उक्त व्यवस्था हटाउने निर्णय गरेको हो । यसअघि सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनका लागि केही ऐन संशोधन गर्न बनेको बिधेयकमार्फत सहकारी ऐन २०७४ को दफा ५२ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतको सीमा २५ लाख तोकेको थियो । जुन असोज २४ गते बुधबार बसेको समितिको बैठकले हटाइएको सभापति विमला सुवेदीले बताइन् । उनका अनुसार सीमा नाकाभन्दा तीन किलोमिटर दूरीभित्र बनेका क्यासिनो तीन वर्षभित्रमा पाँच किलोमिटर दूरी बाहिर सारिसक्नुपर्ने तथा नयाँ बन्ने क्यासिनोका लागि सीमावर्ती क्षेत्रभन्दा पाँच किलोमिटर बाहिर मात्र बन्नसक्ने गरी इजाजत दिने व्यवस्था भने विधेयकमा राखिएको छ ।