लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारणसभा, बुक क्लोज मिति कहिले ?
काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले ३७औं वार्षिक साधारण सभा मंसिर २४ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिउसो ३ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको कर प्रयोजन सहित १९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर ७ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
पुँजीगतभन्दा चालू खर्च दोब्बर, चार महिनामा २० प्रतिशतमात्रै बजेट खर्च
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड ४० लाख रुपैयाँबराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको वार्षिक बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्मको खर्चको अवस्था हेर्दा चालुतर्फ २३.७५, पुँजीगततर्फ ९.९३ र वित्तीय व्यवस्थातर्फ १७.७२ प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबर विनियोजन गरेको थियो । जसमध्ये हालसम्म २ खर्ब ७१ अर्ब १७ करोड ४७ लाख रुपैयाँबराबर खर्च भएको छ । पुँजीगत शीर्षकमा ३ खर्ब २अर्ब ७ करोड ४४ लाख रूपैयाँ बराबरको बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा २९ अर्ब ९८ करोड ९४ लाख रुपैयाँबराबर मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँबराबरको बजेट विनियोजन भएकामा हालसम्म ५४ अर्ब ४६ करोड ९९ लाख रुपैयाँबराबर खर्च भएको छ । सामान्यतया वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको रकम सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुने गरेको छ । चालु आर्थिक वर्षमा पूँजीगत शीर्षकमा भन्दा वित्तीय व्यवस्था शीर्षकमा बढी बजेट विनियोजन भएको थियो । सुरुवाती चार महिनाको खर्चको अवस्था हेर्दा पूँजीगतभन्दा वित्तीय व्यवस्था शीर्षकमा झन्डै दोब्बर बराबर खर्च भएको देखिएको छ । अर्थात् नेपालले पुँजी निर्माणमा गर्ने खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गरिरहेको खर्चको अंश बढी छ । पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २०.०८ प्रतशित बराबर छ । चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँबराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा २ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँबराबर राजस्व उठाएको छ । जसमा कर राजस्व २ खर्ब ५४ अर्ब ३० करोड २२ लाख र गैरकर राजस्व २२ अर्ब ३३ करोड ७८ लाख रुपैयाँबराबर छ । त्यस्तै, चालु आर्थिक वर्षका लागि ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ५.५२ प्रतिशत अनुदान लिएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
कुमारी बैंकको सीईओ बने रामचन्द्र खनाल
काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । बैंकका सीईओ रमेशराज अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिईएको हो । सीईओ अर्यालले एक साताअघि दिएको राजीनामा शुक्रबार स्वीकृत गर्दै सीईओमा खनाललाई नियुक्त गरेको बैंकका सञ्चालक इमानसिंह लामाले बताए । उनी यसअघि पनि कुमारी बैंकको सीईओ थिए । तर, साविकको एनसीसी बैंकसँग मर्जर भएपछि अर्याल सीईओ र खनाल डीसीईओ बनेका थिए । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया र सिद्धार्थ बैंकमा पनि काम गरेका थिए । नवनियुक्त सीईओ खनालले यसअघि पनि कुमारी बैंकमा तीन महिना कामु सीईओ र ९ महिना सीईओ भएर काम गरिसकेका छन् । ‘मैले यसअघि पनि बैंकको नतृत्व गरिसकेको छु, त्यतिबेला तरलताको समस्या हुँदा पनि बैंकलाई सहज किसिमले अगाडि बढाइयो, अब खराब कर्जा घटाउँदै लग्ने तथ एसेट म्यानेजमेन्ट गर्दै जानु पर्ने चुनौती छ, त्यसका लागि म मेहनत गर्छु,’ उनले विकासन्युजसँग भने,’