आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका–१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्तानान्तरण गरेको छ । स्तानान्तरित शाखा कार्यालयबाट आजदेखि कारोबार सुरू गरिएको कम्पनीले जनाएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले शाखा कार्यालय उद्घाटन गरे । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेलगायत अन्य कर्मचारीहरू, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू र स्थानीयको उपस्थिति थियो । नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरीय सेवासुविधा प्राप्त गर्ने विश्वास कम्पनीको छ ।

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई क्रिमसन हस्पिटलमा छुट

काठमाडौं । प्रभु क्यापिटलले क्रिमसन हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकको लागि २ वर्षका लागि विशेष छुट समझौता गरेको छ । उक्त सम्झौतापत्रमा दुबै पक्षबीच मंसिर २९ गते हस्ताक्षर भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्त उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरुले तिलोत्तमा न.पा, मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिदा हस्पिटलले दिदैं आएको सबै प्रकारको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । प्रभु क्यापिटलका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको छ । तिलोत्तमा न.पा, मणिग्राम ५, रुपन्देहीमा अवस्थित यो क्रिमसन हस्पिटल आधुनिक प्रविधियुक्त, विभिन्न सेवासुविधाहरू सहितको उत्कृष्ट मध्येको हस्पिटल हो, जसमा शीर्ष डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन् । हस्पिटलले २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिन जस्ता थप सुविधाहरू पनि उपलब्ध गराएको छ । प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक सम्झौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिदैं आईरहेको छ ।

बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा आमुल परिवर्तन गर्न आवश्यक छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा धेरै परिर्वतन गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार ललतिपुरमा बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । उनले बीमा क्षेत्रमा भएका विकृति र विसंगतिहरु नियन्त्रण गर्न प्राधिकरणले प्रभावकारी भुमिका खेल्न आवश्यक रहेको बताए । प्राधिकरणले बीमा कम्पनी वा कसैको प्रभावमा नपरी निष्पक्ष ढङ्गले काम गरे मात्रै बीमा क्षेत्रमा सुधार हुने अपेक्षा रहेको उल्लेख गरे । प्राधिकरणले वास्तविकतामा नियमनको काम गरे मात्रै बीमा क्षेत्रको गुणस्तरमा वृद्धि हुने दाबी गरे । बीमा कम्पनीहरुले बीमा लिने बेलामा आकर्षण विज्ञापन गर्ने तर दिने बेलामा झन्झटीलो प्रक्रिया गराउने काममा प्राधिकरणले सहज बनाउने गरी काम गर्न आग्रह गरे । बीमा कम्पनीहरुले आकर्षित विज्ञापन गरी बीमा गराएर स्रोत जम्मा गर्ने र दिनेबेलामा अनेकौं मझौला गराउँदा बीमा गराउनेहरु कम हुँदै गएको बताए । ‘बीमा क्षेत्रको नियमक निकाय बीमा प्राधिकरणले गर्ने कामको तौर तरिकामा आमुल परिवर्तन गर्नुपर्छ, बीमा कम्पनीहरुले लिने बेलामा आकर्षित विज्ञापन तारा खसाल्ने गरी गरेको देखिन्छ, बीमा लिनुहुन्छ र स्रोत जम्मा गर्नुहुन्छ, त्यही नियमक निकायको काम प्रभावकारी बनाउनु पर्छ, त्यो भयो भने राम्रो हुन्छ, नियमन निकाय स्वतन्त्र भुमिकामा रहेर कुनै प्रभावमा नपरि वास्तविकतामा रहेर काम गर्नुपर्छ,  बीमा कम्पनीहरुले बीमा गर्ने बेलामा धेरै कुरा गर्ने तर दिने बेलामा अनोकौं बहाना गर्यो भने सदस्यता कम हुँदै जान्छ’, उनले भने । उनले बीमा क्षेत्रको सुधारको लागि नियामक निकाय बीमा प्राधिकरणले निर्मम भएर काम गर्न आग्रह गरे । प्राधिकरणलाई कसैको प्रभावमा नपरी वास्तविकतामा रहेर काम गर्न निर्देशन दिए ।