निरन्तर ब्याजदर घटाउँदै एनआईसी एशिया, माघमा पनि घटायो
काठमाडौं । पछिल्लो समय एनआईसी एशिया बैंकले निरन्तर ब्याजदर घटाउँदै आएको छ । गत कात्तिकदेखि निरन्तर ब्याज घटाउँदै आएको यस माघ महिनाका लागि पनि घटाएको छ । बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.९८९ प्रतिशत तोकेको छ । यसअघि पुसमा ४.४५५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र ब्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । सो ब्याजदर पनि २४ देखि १८० महिनासम्म अवधि निक्षेप राख्यो भने मात्रै दिनेछ । तर, ३ देखि ६ महिनाका लागि भने व्यक्तिले ६.२५ प्रतिशत मात्रै ब्याज पाउने छ । साथै, संस्थागतका लागि भने ६ महिनादेखि ९ महिनासम्म राख्यो भने ४.७५० प्रतिशत मात्रै ब्याज पाउने छ । यसअघि पुसमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.६७ प्रतिशत र ब्यक्तिगततर्फ ८.६७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.७० प्रतिशत रहेको छ ।
आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बाबुराम शर्मा नियुक्त भएका छन् । भेन्चर हायर पर्चेजमा बिजनेस हेडको रुपमा साढे ३ वर्ष अगाडि प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो । डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आइएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए । पछि फाइनान्स बैंकसँग मर्ज भएपछि ४ वर्षआइएमई मोटर्स वीरगन्जको प्रमुख समेत भएर काम गरिसकेका छन् । सरकारी जागिर छोडेर बैंकिङ सेवातिर लागेका उनले बैंकिङ्ग र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलपमेन्ट कलेज (म्यान)बाट ईएमबीए समेत गरेका छन् । आइएमई ग्रुप अन्तर्गतको वित्तीय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा २ अर्बभन्दा बढी लगानी गरेको छ । लगातार ४ वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आईपीओ समेत निष्काशन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
एनएमबि बैंकद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसआईडी) सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउन कार्यक्रम केन्द्रित रहेको थियो । कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।